ताजा जनादेशले मात्रै मुलुकलाई निकास दिन्छः सञ्चारमन्त्री

काठमाडौंः सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले ताजा जनादेशले मात्रै मुलुकलाई निकास दिने बताए । प्रेस चौतारी नेपाल वाग्मती प्रदेश भेलालाई सम्बोधन गर्दै उनले अहिले राजनीतिक गठजोडले मुलुकलाई निकास दिन नसक्ने भन्दै ताजा जनादेश नै उपयुक्त हुने बताए ।
उनले दुई वा दुईभन्दा बढी राजनीतिक दलसँग मिलेर बनेको सरकारले स्थायित्व दिन नसक्ने भएकाले ताजा जनादेश नै एक मात्र विकल्प भएकामा जोड दिए । ‘गठजोडबाट सरकार टिकाउनु मात्र ठूलो होइन, उनले भने ‘मुलुकलाई राजनीतिक स्थायित्वसहितको समृद्ध नेपाल र सुखी नेपाली बनाउनु ठूलो कुरा हो ।’
उनले ताजा जनादेशले पार्टीको संगठनलाई पनि मजबुद बनाउने धारणा राखे । मन्त्री गुरुङले श्रमजीवी पत्रकारका हकका मुद्दा कार्यान्वयन गर्न सञ्चारगृहलाई आग्रह गरे । उनले पार्टीभित्र देखिएको विवाद समाधान गर्न नै आगामी चैत ७ गते केन्द्रीय कमिटीको बैठक बोलाइएको बताए ।
‘सरकार, पार्टी नेतृत्व र कम्युनिष्ट आन्दोलनलाई नै समाप्त पार्न खोजिएकाले बैठक बोलाइएको हो,’ उनले भने,‘बैठकले पार्टीलाई एक ढिक्का बनाउने छ ।’ उनले पार्टीमा कसैलाई पनि कारवाही नगरिएको समेत स्पष्ट पारे । उनले पार्टीभित्रबाटै सरकारलाई असफल बनाउन लागेको समेत बताए ।
चौतारीका केन्द्रीय अध्यक्ष गणेश बस्नेतले श्रमजीवी पत्रकार पक्षमा चौतारीले सबैसँग हातेमालो गर्ने बताए ।
सामुदायिक रेडियो प्रसारक संघका नवनिर्वाचित अध्यक्ष अर्जुन गिरीले सामुदायिक रेडियोलाई दिगो बनाउन सरकारले पहल गर्नुपर्ने धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार