सित लहरे खानेपानी आयोजनामा अनियमितता,कमिसनका नाममा वडाका कार्यालय सहयोगीले बुझे ७१ हजारको चेक


साउन ११, दैलेख
दैलेखको महावु गाउँपालिका वडा नं. ५ को सित लहरे खानेपानी योजना निर्माणमा लाखौँ रकम अनियमितता भएको छ । कामको गुणस्तरीयता कायम गरिएको छैन, गाडेको पाइप जमिनमाथि नै देखिन्छ भने विभिन्न व्यक्तिलाई कमिसन दिनुपर्ने भन्दै वडाका कार्यालय सहयोगीको नाममा ७१ हजार र उपभोक्ता समितिका सचिवको नाममा ८२ हजारको चेक काटिएको छ । कामदारले पाउनुपर्ने रकम भुक्तानी पाएका छैनन् ।

योजना राम्रो बनाउने भनेर बारम्बार खबरदारी गर्दा समेत प्रभावकारी काम नभएको र रकम समेत बाँडफाँड गरेर कामदारको ज्याला नदिएको आरोप स्थानीय बासिन्दाहरूले लगाएका छन् । आफूहरूले काम गरे अनुसारको ज्याला नपाएको झलकबहादुर शाहीले गुनासो गरेका छन् ।

संघीय सरकार अन्तर्गत प्राप्त भएको १७ लाख रकमको सिंचाइ कार्यालय दैलेखको मातहतमा उक्त रकम उपभोक्ता समितिलाई हस्तान्तरण गरिएको हो । उपभोक्ता समितिमा बस्नेहरुले नै लापरबाही गरेको गुनासो स्थानीयको छ ।
प्राविधिकलाई कमिसन भन्दै रकम लगियो कामदारले ज्याला पाएनन् उपभोक्ता समितिका अध्यक्ष तर्कबहादुर शाहीले गुनासो गरेका छन् । योजनाका सचिव र वडा कार्यालय सहयोगीका नाममा चेक गएको विषय स्वीकार गर्दै कसलाई दिन लगेका हुन् त्यसको खोजी गर्ने र कामदारको ज्याला र सामान खरिदको बाँकी पैसा तिर्ने तयारीमा रहेको शाहीको भनाई छ । मैले छलफलका लागि बोलाएको छु, छलफल गरेर अरू कुरा गरौँला चेक लिएका छन् कसलाई दिए खोजी गर्छु । शाहीले भने । मैले एक रुपैयाँ पनि बदमास गरेको छैन, बदमास गर्नेलाई कारबाही गर्नुपर्छ ।

उपभोक्ता समितिले खरिद गरेको सामानको बिलमा समेत दररेट भन्दा धेरै रकम उल्लेख गरिएको एक उपभोक्ताले बताएका छन् । प्राविधिकलाई रकम दिनुपर्छ भन्दै रकम लिएको उपभोक्ताको आरोप छ । २ लाख दिने सम्झौता भएको भन्ने कुरा थाहा पाएका छौँ, कमिसन दिएपछि काम प्रभावकारी भएको छैन, हामीले बारम्बार खबरदारी गर्दा पनि काम राम्रो नभएपछि सञ्चार माध्यमसँग गुनासो गर्न आएको स्थानीयको भनाई छ ।

आयोजनाको डिजाइन र स्टिमेटबिनानै काम गरिएको र सिँचाइ कार्यालयको समेत मिलेमतो रहेको स्थानीयको गुनासो छ । आयोजना निर्माणका लागि लगिएको सिमेन्टको दश बोरा अहिले सेट हुने अवस्थामा छ । सचिवले २ प्याक सिमेन्ट र केही पाइप समेत लगेको उपभोक्ताको गुनासो छ । समितिका सचिव एकेन्द्र शाहीले असारको बेलामा लगातार पानी परेकोले काममा केही असहजता भएको स्वीकार गरेका छन्, आफूले रकम लिएको बारेमा पत्रकारले कुरा गर्दा फोन काटेर पुनः फोन उठाएनन् ।

माथिल्लो बतासे खानेपानी मर्मतमा पनि ३ लाख हिनामिना

गाउँपालिकाको ३ लाख रकममा माथिल्लो बतासे खानेपानी योजना मर्मत गर्ने कामको रकम समेत हिनामिना भएको छ । सित लहरेका लागि ल्याएको पाइप लगेर माथिल्लो बतासेको मर्मत भयो सिमेन्ट पनि प्रयोग भयो तर फर्जी बिल बनाएर ३ लाख रकम भुक्तानी भएको स्थानीयको आरोप छ । त्यहाँ पनि अनियमितता भएको छ । स्थानीयले नाम नबताउने सर्तमा जानकारी दिएका छन् ।
वडाले समेत मर्मतका लागि भनेर आएको रकमको प्रभावकारी अनुगमन नगरेको स्थानीयको आरोप छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार