पुष १, काठमाडौं
नेपाली काँग्रेसको महामन्त्री पदमा देउवा प्यानलका दुवै उम्मेदवार पराजित निर्वाचित गगन थापाले झण्डै ६५ प्रतिशत मत प्राप्त गरेका छन् । केन्द्रीय निर्वाचन समितिका अनुसार थापाले कूल खसेको ४ हजार ६ सय ८२ मतमध्ये ३ हजार २३ मत प्राप्त गरे । थापा सभापतिमा पराजित डा.शेखर कोइराला प्यानलका उम्मेदवार हुन् ।
दोस्रो स्थानमा रहँदै विश्वप्रकाश शर्मा महामन्त्री निर्वाचित भए । उनले एक हजार ९ सय ८४ मत ल्याए । उनी सभापतिमा पराजित प्रकाशमान सिंह प्यानलबाट उम्मेदवार बनेका हुन् । सभापति शेरबहादुर देउवा निकट भए पनि उनको प्यानलमा उम्मेदवार हुन नपाएपछि शर्मा सिंहको प्यानलमा गएका हुन् ।
सभापति देउवा प्यानलका दुवै उम्मेदवार पराजित भए । डा. प्रकाशशरण महत १ हजार ५ सय ५६ मतसहित तेस्रो स्थानमा रहे भने चौथो स्थानमा रहेका प्रदीप पौडेलले १ हजार ३ सय ९३ मत ल्याए । कोइराला प्यानलका डा. मिनेन्द्र रिजालले ८ सय ९ मत प्राप्त गरे ।
अर्का उम्मेदवार डा.राजाराम कार्कीले जम्मा १ सय ६ मत मात्रै प्राप्त गरे । निर्वाचन समिति संयोजक गोपालकृष्ण घिमिरेले ४३ मत बदर भएको जानकारी दिए ।
अब मलाई थाक्ने,
चुक्ने समय छैन
काँग्रेसका नवनिर्वाचित महामन्त्री गगन थापाले धेरै मत पाएपछि आफ्नो जिम्मेवारी बढेको बताएका छन् । महामन्त्री पदमा झण्डै दुई तिहाई मतसहित विजयी भएपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै थापाले भने, धेरै मत पाउनु भनेको विश्वास बढ्नु हो । त्यसैले अब मलाई चुक्ने थाक्ने समय छैन ।’
अब काँग्रेसलाई जनताप्रति विश्वास गर्ने पार्टी बनाउने उनको भनाइ छ । महामन्त्रीको जिम्मेवारीप्रति इमान्दारपूर्वक काम गर्ने बताउँदै एउटा समूहबाट महामन्त्री भएपनि अब पार्टीको महामन्त्री बनिसकेपछि पार्टीलाई थप बलियो बनाउन लाग्ने बताए ।
महामन्त्री थापाले भने, ‘पार्टीलाई मिलाएर लैजाने काम सभापतिको हो । उहाँलाई सहयोग गर्ने महामन्त्रीको जिम्मेवारी हो । यदि सभापतिले गल्ती गरे प्रश्न गर्ने काम पनि महामन्त्रीका रुपमा त्यसमा म पछि हट्दिनँ ।’ काँग्रेसका लाखौं क्रियाशील कार्यकर्ता उच्चतम उपयोग गरेर देशको समृद्धिमा लाग्नुपर्ने बताए ।
‘मेरो मुख्य जिम्मेवारी पार्टीलाई राजनीतिक कार्यदिशामा कुनै अलमलमा नरहेको राजनीतिक लाइन बनाउने हो । पार्टीलाई व्यवस्थापन गर्ने महामन्त्रीको जिम्मेवारी हो’ उनले भने, ‘स्थानीय तहको निर्वाचनको नजिक छौँ । हामी महाधिवेशनमै आम निर्वाचन जस्तो उत्साहजनक अवस्थामा छौँ ।
काँग्रेस रूपान्तरणको
यात्रामा गइसक्यो
काँग्रेसका नवनिर्वाचित महामन्त्री विश्वप्रकाश शर्माले आफ्नो जितले सिंगो काँग्रेसको रुपान्तरित यात्रा सुरु भएको बताएका छन् । महामन्त्रीमा निर्वाचित भएपछि शर्माले सञ्चारकर्मीहरूसँग भने, ‘यो कुनै व्यक्ति वा गुटको विजय होइन । अब सिंगो काँग्रेसलाई रूपान्तरित गर्ने अभियान सुरु भइसकेको छ ।’ सुदृढ काँग्रेस बनाउने उद्घोष गर्दै अब पार्टी काँग्रेस रुपान्तरित र आधुनिक भएर जाने दाबी गरे ।
‘यो जितपछि म धेरै उत्साही भएका छौँ । म शहीदहरूलाई सम्झेर सपथ लिन्छु । तपाईहरूले महामन्त्री पदमा गगन थापा र मलाई निर्वाचित गरेर पार्टीको देशले एउटा हल र जोडी बाँधेर समस्या समाधान गरून् भनेर दिएको जिम्मेवारी दिनुभएको छ । पूरा गर्छाैँ’ उनले भने ।
दुई युवा महामन्त्रीसहित नयाँ टिमले काँग्रेसलाई परिवर्तन गर्ने उनको विश्वास छ । महाधिवेशनको नतिजापछि प्रतिस्पर्धा सकिएको भन्दै फरक–फरक विचार समूहमा रहेकाहरुलाई समेटेर पार्टीलाई एकजुट बनाउने उनको भनाइ छ ।
महामन्त्रीमा विजयी प्राप्त गरेपछि सुन्दरीजलमा पुगेर बिपी संग्रहालयमा बिपीले रोपेको कपुरको बोटलाई ढोग्ने बताए । उनले भने, ‘बदलिएको काँग्रेस र बलियो काँग्रेस बनाउँछौँ । हामी फरक–फरक विचार समूहमा रहेकाहरुले दिएको मतको जगलाई काँग्रेसलाई बलियो बनाउन लाग्छौँ । अब गम्भिरतापूर्वक संयमित भएर रुपान्तरित काँग्रेस बनाउँछौँ । आगामी निर्वाचनमा काँग्रेसलाई विजयी बनाउन लाग्छौँ ।’ महाधिवेशनमा काँग्रेसभित्र उत्पन्न भएको उर्जालाई लिएर अगाडि बढ्ने बताए ।










