कार्यकक्षभित्रै कर्मचारीलाई ५ घण्टा बन्धक बनाएर ज्यान मार्ने धम्की

  • –प्रहरीमाथि ढुङ्गामुडा ६ जना पक्राउ

  • माघ १३, दैलेख
    दैलेखको दुल्लू नगरपालिका वडा नं. ९ को वडा कार्यालयमा कार्यरत २ जना महिला कर्मचारीहरूलाई स्थानीयले ५ घण्टा बन्धक बनाएका छन् । कार्यकक्षभित्र काम गरिरहेका कर्मचारीहरूलाई बन्धक बनाएर गाली गलौच, अपशब्द प्रयोग गर्दै ज्यान मार्ने धम्की समेत दिएको पीडित कर्मचारीले जानकारी दिएका छन् । वडा सचिव रत्ना गिरी र सामाजिक परिचालक भगवती न्यौपानेलाई स्थानीय प्रेमबहादुर भण्डारी सहितको टोली कार्यालयमै पुगेर बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म बन्धक बनाइएको र नारा जुलुस भएको खबर पाउने बित्तिकै सुरक्षाकर्मीको टोली वडा कार्यालयमा पुगेर बन्धक बनाइएका कर्मचारीको उद्धार गरेको जिल्ला प्रशासन कार्यालय दैलेखले जानकारी दिएको छ । कर्मचारीको गल्ती भए सम्बन्धित निकायहरूमा उजुरी गरेर कर्मचारीलाई पनि कारबाही प्रक्रिया सुरु गर्न सकिन्छ तर कानुन हातमा लिएर कर्मचारीलाई बन्धक बनाउनेहरूलाई कानुनअनुसार हदैसम्मको कारबाही गरिने प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले जानकारी दिएका छन् ।
    बृद्धभत्ताको कार्ड नामसारी गर्ने विषयमा विवाद भएको र कानुन भन्दा विपरीतको काम गर्न नमिल्ने कर्मचारीले जवाफ दिएपछि उनीहरूलाई बन्धक बनाइएको प्रारम्भिक अनुसन्धानले देखाएको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ ।
    प्रहरीले कर्मचारीलाई उद्धार गर्न जाँदा केही स्थानीयले प्रहरीमाथि नै ढुंगामुडा प्रहार गरेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख भुवनेश्वर प्रसाद शाहले जानकारी दिएका छन् । घटनामा संलग्न मध्ये मुख्य योजनाकार प्रेमबहादुर भण्डारी फरार रहेको र अन्य ६ जनालाई पक्राउ गरी आवश्यक कारबाही प्रक्रिया सुरु गरेको शाहले बताए । कर्मचारीमाथि अभद्र व्यवहार गर्ने प्रेमबहादुर भण्डारीले गत महिना विद्यालयका कर्मचारी र शिक्षकहरूलाई अभद्र व्यवहार गरेका कारण अभद्र व्यवहार मुद्दामा १ साता सम्म जिल्ला प्रहरी कार्यालयमा थुनामा रहेका थिए भने केही दिन अघि मात्रै धरौटीमा रिहा भएका हुन् । प्रहरीले उनको खोजी कार्य तीव्र पारेको छ ।
    कर्मचारी संघ संगठनद्वारा बिरोध
    जनताको सेवामा खटिएका कर्मचारीहरूलाई कार्यकक्षमै बन्धक बनाउँदै अमानवीय व्यवहार गरेको प्रति निजामती कर्मचारी संगठन र कर्मचारी युनियनले छुट्टा छुट्टै विज्ञप्ति जारी गरेर घटनामा संलग्न सबैलाई कडा भन्दा कडा कारबाही गर्नुपर्ने माग गरेका छन् ।
    कानुनलाई हातमा लिएर कर्मचारी माथि गरिएको अभद्र व्यवहारको आपत्ति गर्दै कर्मचारीको सुरक्षाको माग गरेका छन् ।

    प्रतिक्रिया दिनुहस

    सम्बन्धित समाचार