एमाले प्रवेश गर्नेहरुले पछुताउनुपर्ने अवस्था आउँदैनः ओली

चैत्र ८, काठमाडौं
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले किन प्रवेश गरिएछ भनेर पछुताउनुपर्ने अवस्था हुन नदिने प्रतिबद्धता जनाएका छन् । मंगलवार पूर्वमन्त्री प्रेमबहादुर सिंह र अभिनेत्री करिश्मा मानन्धर लगायतलाई पार्टी प्रवेश गराउँदै उनले यस्तो प्रतिबद्धता जनाएका हुन् ।
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेमा सिंगो देशको हित गर्ने एमालेमा प्रवेश गरेकाले उनीहरूको हित नहुने भन्ने हुनै नसक्ने अध्यक्ष ओलीको तर्क थियो । उनले भने, ‘म सबै साथीहरूलाई ढुक्क हुन आग्रह गर्दछु । आफ्नो राजनीतिक भविष्य के हुन्छ भन्ने होइन ।
देशकै राजनीतिक भविष्य सुदृढ हुन्छ भने, देशको सीमा सुरक्षा हुन्छ भने, देशको सार्वभौमसत्ता सुरक्षा हुन्छ भने, स्वाधीनता र स्वतन्त्रता सुरक्षित हुन्छ भने, राष्ट्रिय हितको सुरक्षा हुन्छ भने नेपालको लोकतन्त्रको सुरक्षा हुन्छ भने यस्तो स्थितिमा हाम्रा हित सुरक्षित नहुने भन्ने हुँदैन । सिङ्गै देश सुरक्षित हुन्छ । कसैले पनि किन एमालेमा प्रवेश गरिएछ भन्ने हुँदैन ।’
समाजवादी जनता पार्टी नै एमालेमा समाहित गरेका पूर्वमन्त्री प्रेमबहादुर सिंहले केपी ओलीजस्तो दुरदृष्टि नेताको नेतृत्वमा देश निर्माणमा समाहित हुन एमाले प्रवेश गर्नुपरेको बताए । त्यस अवसरमा उनले आफ्नो पार्टी र आफ्नो प्रवेशले एमालेलाई झनै सुदृढ बनाउन सहयोग पुग्ने विश्वाससमेत व्यक्त गरे ।
यस्तै अभिनेत्री करिश्मा मानन्धरले केपी ओलीको देश र जनताप्रतिको प्रतिबद्धता र त्यसका लागि आवश्यक क्षमता र कौशलताका कारण आफू एमाले प्रवेश गरेको बताइन् । उनले कुनै पद भन्दा पनि एमालेमा रहेर देशको हितमा काम गर्ने चाहना आफूमा रहेको पनि बताइन् । अभिनेत्री मानन्धरले एमालेको गुणगान गाउनेहरू देशभर रहेकाले पनि आफूलाई यस पार्टीमा प्रवेश गर्न प्रेरित गरेको धारणा राखिन् । यस्तै, एमालेमा पार्टी समाहीत गरेका पूर्वमन्त्री प्रेमबहादुर सिंहले शक्ति लिएर घर फर्किएको बताए । मंगलबार आयोजित पार्टी प्रवेश कार्यक्रममा सिंहले आफ्नो पार्टी नै एमालेमा समाहित भएको घोषणा उनले यस्तो बताएका हुन् । ‘अहिले मलाई आफ्नो घरमा फर्किएको सुखानुभूति भएको छ’, उनले भने, ‘म नेकपा एमालेबाट एक्लै गएको थिएँ, अहिले सानै भए पनि एउटा शक्ति लिएर फर्केको छु ।’ उनले आफू २०६२ सालमा एमाले छाडेर समाजवादी जनता पार्टी गठन गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार