समाजवादीको गाउँपालिका कमिटी एमालेमा समाहित


वैशाख २१, दैलेख
दैलेखको ठाँटीकाँध गाउँपालिकामा नेकपा (एकीकृत समाजवादी)को गाउँपालिका कमिटी नेकपा एमालेमा समाहित भएको छ ।
बुधवार एमाले ठाँटीकाँध गाउँपालिका कमिटीका अध्यक्ष कुमार विक्रम शाही र नेकपा (एकीकृत समाजवादी) गाउँपालिका कमिटी अध्यक्ष नारायणप्रसाद जैसीले संयुक्त विज्ञप्ति जारी गर्दै नेकपा (एकीकृत समाजवादी) पार्टी ठाँटीकाँध गाउँपालिका कमिटी एमालेमा समाहित भएको उल्लेख गरेका छन् । विज्ञप्तिमा ठाँटीकाँध गाउँपालिकाको समृद्धि, उन्नति, प्रगति र नमुना गाउँपालिका निर्माणका लागि तथा भावी पुस्ताको सुन्दर भविष्यको लागि पार्टी एकताको विकल्प नभएको ठहर गर्दै समाजवादी पार्टीको गाउँपालिका कमिटी एमालेमा समाहित भएको उल्लेख गरिएको छ ।
‘स्थानीय तह सदस्य निर्वाचन २०७९ अन्तर्गत नेकपा (एकीकृत समाजवादी) पार्टीबाट उम्मेदवारी दिएका उम्मेदवारहरूको उम्मेदवारी निस्कृय रहने र नेकपा एमालेका तर्फबाट उम्मेदवारी दिएका उम्मेदवारहरूलाई विजयी गराउने र परिणाममुखी भूमिका निर्वाह गर्ने जानकारी गराउँदै नेकपा (एकीकृत समाजवादी) नेकपा एमाले ठाटीकाँध गाउँपालिका कमिटीमा पार्टी एकतासहित समाहित भएको छ,’ विज्ञप्तिमा भनिएको छ ।


यस्तै, आठविस नगरपालिकामा (एकीकृत समाजवादी) पार्टी परित्याग गर्दै पाँच जना एमालेमा प्रवेश गरेका छन् । समाजवादीका तीन जना वडाका उम्मेदवार सहित पाँच जना एमालेमा प्रवेश गरेका हुन् ।
एमाले प्रवेश गर्नेहरूमा समाजवादी पार्टीको तर्फबाट महिला सदस्य उम्मेदवार पाना माझी, दलित महिला सदस्य उम्मेदवार सुर्जा विक र खुल्ला सदस्यका उम्मेदवार श्याम बहादुर माझी रहेका छन् । श्याम बहादुर नेकपा (एकीकृत समाजवादी) पार्टीको ४ नम्बर अध्यक्ष समेत हुन् ।
समाजवादीका युवा नेता वीरेन्द्र माझी र समाजवादी पार्टी निकट अनेरास्वीयूका केन्द्रीय सदस्य नीराजन माझी सहित पाँच जनाले एमाले प्रवेश गरेका आठविस एमाले ४ का अध्यक्ष जनक माझीले बताए ।
त्यस्तै, नेपाली काँग्रेस दैलेखका प्रदेश सचिव बमबहादुर शाही नेकपा एमालेमा प्रवेश गरेका छन् । बुधवार आठविस नगरपालिकाको तिलेपाटामा आयोजना गरिएको चुनावी सभामा निर्वाचन क्षेत्र नम्बर दुई ‘ख’ का सचिव शाही एमाले प्रवेश गरेका हुन ।
चुनावको मिति नजिकीदै गर्दा पार्टी प्रवेश गर्ने र छोड्ने अभियानले तिव्रता पाएको छ । विशषे गरि निर्वाचनमा गठबन्धन भए पछि काँग्रेस नेता तथा कार्यक्रर्ताहरुले पार्टी छोड्दै आएका छन् । केही दिन अघि मात्र काँग्रेस नौमूलेका सभापति पार्टी परित्याग गरि समाजवादीमा प्रवेश गरेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार