
दैलेखः दैलेख आठविस नगरपालिका ८ का वडाध्यक्ष मुक्ति प्रसाद उपाध्यायसहित ३ जना विरुद्ध गलत लिखित सम्बन्धी मुद्दा दर्ता भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वडा अध्यक्षसमेत रहेका गणेश आधारभूत विद्यालय विशालाका विद्यालय व्यवस्थापन समितिका सदस्य उपाध्याय, समितिका अध्यक्ष सन्तक बहादुर कामी र विद्यालयका प्रधानाध्यापक अनिल कुमार शाही विरुद्ध सोमवार विशेष अदालत काठमाडौंमा आरोप–पत्र दायर गरेको हो ।
आर्थिक वर्ष २०७६÷७७ मा आइसीटी व्यवस्थापनका लागि सामान खरिदका लागि विद्यालयको रकम हिनामिना गर्ने उद्देश्यले मिलेमतोमा आर्थिक अनियमितताका लागि नक्कली बिल भरपाई तथा दाखिला प्रतिवेदन तयार गरी नगरपालिकामा रकम माग गरेको उजुरी परेको थियो ।
अनुसन्धानका क्रममा तीन जनाको मिलेमतोमा आइसीटी व्यवस्थापनको लागि विद्यालयमा बजेट विनियोजन नै नभएको अवस्थामा विभिन्न मितिमा आइसीटी व्यवस्थापन गर्न, सोलार खरिद गर्न कोटेशन आह्वान गर्ने, छनौट गर्ने र सामग्री नै खरिद नगरी खरिद गरिसकेको निर्णय विद्यालय ब्यवस्थापन समितिले गरेको पुष्टि भएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए ।
उनका अनुसार सोही निर्णयको आधारमा झूटा बिल कागजात तयार गरी आठविस नगरपालिका ८ को कार्यालयबाट नभएको कामलाई कार्य सम्पन्नको सिफारिससमेत गरी रकम भुक्तानीको लागि नगरपालिका कार्यालयमा ४ लाख ९८ हजार रकम भुक्तानी लिने तयारी गरेका थिए ।
उनीहरुलाई भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ९ बमोजिम अधिकतम सजाय हुन मागदाबी लिएको आयोगले जनाएको छ ।










