
जेठ २१, दैलेख
आठविस नगरपालिकाका उपप्रमुख कल्पना थापा (चन्द)ले समृद्ध आठविस बनाउन लाग्ने बताएकी छन् । उनले समृद्ध नगरपालिका बनाउन सबै तहका नागरिकको आर्थिक स्थिति माथि उठाउन नगरपालिकाले विभिन्न कार्यक्रम ल्याइने बताइन् ।
‘हाम्रोमा तत्कालका लागि प्रमुख समस्या शिक्षामा देखिएको छ, स्वास्थ्यमा पनि केहि समस्या छन्, भौगोलिक हिसाबले पछि परेका सम्पूर्ण क्षेत्रमा ध्यान दिएर स्थानीय सरकारले नागरिकको हितमा काम गर्छ’, थापाले भनिन् ।
थापाले चुनावताका जनता सामु गरिएको बाचाहरू पूरा गर्ने बताइन् । आठविसमा अहिले पनि बिजुलीको समस्या छ, उज्यालो आठविस बनाउने लगाएतका कुराहरू चुनावताका जनता माझ गरेका छौँ, पाँच वर्षको अवधिमा क्रमश जनताको हितमा काम गर्ने उनको भनाई छ ।
पहिलेको सरकारले यहाँको विकासका लागि तयार गरेको बाटोलाई समात्दै काम गर्ने उपप्रमुख थापाको भनाई छ । उनले स्थानीय तहको विकासका लागि आम नागरिकदेखि सबै तहका व्यक्तिको सहयोग अनिवार्य रहेको बताइन् ।
आठविसमा अहिले पनि छाउपडीको समस्या रहेको यसको अन्त्यका लागि शिक्षाको विकासमा ध्यान दिइने थापाको भनाई छ । ‘पहिलेको भन्दा छाउपडी बार्ने प्रचलनमा कमी हुँदै गएको छ, छाउपडी बार्ने कुरा शिक्षासँग सम्बन्धित भएकाले पनि हामी नागरिकलाई जनचेतना जगाउन ध्यान दिन्छौँ’, उनले भनिन् ।
सामाजिक रूपमा मानिँदै आएका कुप्रथाको निराकरणका लागि पहिलेका पुस्तालाई शिक्षाको अभाव देखिएको उपप्रमुख थापाको भनाई छ । ‘हामीले विशेष गरी पुराना पुस्ताका आमाहरूलाई शिक्षा दिनु पर्ने देखेका छौँ, आमाले छोरीलाई शिक्षा, पछिका दिनमा तिनै छोरी यो समाजको आमा, बुहारी बन्ने भएकाले महिला लक्षित कार्यक्रम ल्याउँदा प्रभावकारी हुने देखेका छौँ’, स्थानीय तहमा विकासे कामहरूको अनुगमनको पाटो उपप्रमुखका जिम्मा हुने भएकाले आफूले अनुगमन समितिमा महिलाहरू मात्र राखेको उपप्रमुख थापाले बताइनन् । पुराना दिनमा अनुगमनको पाटोलाई प्रभावकारी नबनाउँदा विकासे काम प्रभावकारी नहुने देखिएकाले अबका दिनका आठविस नगरपालिकामा हुने कामहरूलाई प्रभावकारी बनाउन लाग्ने थापाको भनाई छ ।










