
दैलेख : देश भरका ७ सय ५३ स्थानीय सरकारले असार दश गते आर्थिक वर्ष २०७९÷०८० बजेट प्रस्तुत गर्नुपर्ने कानुनी बाध्यता छ । विगतका वर्षहरुमा केही स्थानीय तहले कानुनले तोकेको समय भन्दा ढिलो गरी बजेट ल्याउँने गरेकाले स्थानीय तहमा हुने विकासे कामसहित अन्य काम प्रभावित हुने गरेका थिए ।
११ वटा स्थानीय तह रहेको दैलेखमा कानुनी प्रावधान अनुसार यहाँका सबै स्थानीय तहले असार १० गते अर्थात (शुक्रबार) आर्थिक वर्ष २०७९÷०८० का लागि नीति तथा कार्यक्रमसँगै बजेट प्रस्तुत गरेका छन् । बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनबाट नयाँ चुनिएका प्रतिनिधिहरुले जनमुखी कार्यक्रमहरु ल्याएको देखिन्छ ।
नौमूले गाउँपालिका, यहाँका ११ वटा स्थानीय तह मध्ये सबै भन्दा पहिले बजेट सहित नीति तथा कार्यक्रम प्रस्तुत गरेको नौमूले गाउँपालिकाले आफ्नो गाउँ आफै बनाउ अभियानलाई अगाडि सार्दै आर्थिक वर्ष २०७९÷८० का लागि असार ८ गते ५० करोड बजेट प्रस्तुत ग¥यो ।
बजेट प्रस्तुत पछि पत्रकारसँग छोटो प्रतिक्रिया दिदै गाउँपालिका अध्यक्ष छवी सुवेदीले बजेटमा रोजगारी, स्थानीय स्तरमा उत्पादन, स्थानीय सरकारले नागरिकलाई दिने सेवामा सहजता र श्रम बैँकको स्थापना गरि आफ्नो गाउँ आफै बनाउने अभियानलाई प्राथमिकतामा राखिएको बताएका थिए ।
चामुण्डाबिन्द्रासैनी नगरपालिकाले, शुक्रबार आर्थिक वर्ष २०७९÷८० का लागि नगर सभाबाट नीति तथा कार्यक्रम पारित गर्दै ६० देखि ६७ वर्ष उमेर समूहका नागरिकहरुका लागि ‘नगर प्रमुख नागरिक सुरक्षा कार्यक्रम’ ल्याएको छ ।
आर्थिक वर्ष २०७९÷८० का लागि ४८ करोड ६९ लाख ९१ हजार अनुमानित बजेट ल्यायको नगरपालिकाले जेष्ठ नागरिकका साथै दलित, महिला, बालबालिका, अपाङ्गता भएका व्यक्ति, अल्पसंख्यक र पीछडिएको वर्गका लागि समावेशी कार्यदल गठन गर्ने जनाएको छ । ‘उल्लेखित समुदाय र वर्गलाई राहत र समतामूलक अवसरका कार्यक्रमहरु सञ्चालन गर्न कार्यदल गठन गर्ने निर्णय गरेका हौं,’ नगर प्रमुख शाहीले भने ।
नगरपालिकाले सहाराविहीन बालबालिकाको शिक्षा र पालनपोषणका लागि ‘बेसहारासँग नगर प्रमुख’ कार्यक्रम सञ्चालन गर्ने भएको छ । नगरपालिकामा स्थायी रुपमा बसोबास भएका र आमा–बाबु गुमाएका, आमा–बाबु मध्ये कुनै एक नभएका र अरुको सहारामा बाँचिरहेका सहाराबिहिन बालबालिकाहरुका लागि बेसहारासँग नगर प्रमुख कार्यक्रम सञ्चालन गरिने भएको हो ।
नारायण नगरपालिकाले, आर्थिक वर्ष २०७९÷८० का लागि ६५ करोड बजेट ल्यायको नारायण नगरपालिकाले जनमुखी कार्यक्रमलाई प्राथमिकता दिएको देखिन्छ । नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर प्रमुख लोमन शर्माले नगरपालिका भित्र हुने भौतिक पूर्वाधारको गुणस्तर कायम गर्न परीक्षण प्रयोगशाला स्थापना गर्ने जनाए ।
नगरपालिकाले खरका छाना मुक्त अभियानलाई निरन्तरता दिदै आगामी दुई वर्ष भित्र नगर भित्रका सबै खरका छना भएका घरहरुमा जस्तापाता लगाइने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । यस्तै, विजुली वत्तिको पहुँच नभएका वडाहरुमा एक वर्ष भित्र बत्ति पु¥याइने नगर प्रमुख शर्माले बताए ।
नगरपालिकाले नीति तथा कार्यक्रममा कृषि क्षेत्रलाई प्राथमिकतामा राखेको जनाएको छ । कृषि क्षेत्रलाई व्यवसायिक बनाई आयआर्जनसँग जोड्न प्रत्येक वडामा ११ जना कृषि र भेटेनरी प्राविधिकको व्यवस्थापन गर्ने, स्थानीय उत्पादनको व्यवस्थित बजारीकरणका लागि नगरभित्र तरकारी संकलन केन्द्र निर्माण गरिने जस्ता जनमुखी कार्यक्रमहरु समेटिएका छन् ।
यस्तै, नगरपालिकाले प्राविधिक शिक्षाको विकासका लागि नारायण नगरपालिका भित्र रहेका गरिव, निमुखा र जेहेन्दार विद्यार्थीहरुलाई कर्णाली प्रदेश सरकार र नगरपालिकाको साझेदारीमा निःशुल्क अध्यापनको व्यवस्था गरिने, नगरपालिका भित्रका सम्पूर्ण स्वास्थ्य चौकीबाट २४ घण्टा सेवा सञ्चालन गरिने, प्रत्येक स्वास्थ्य सस्थामा ल्याव सेवा सञ्चालन गरिने नीति तथा कार्यक्रममा समेटिएको छ ।
नगरपालिकाले नगर भित्रका विपन्न, अपाङ्ग, असहाय र दीर्घरोगिहरुलाई निःशुल्क स्वास्थ्य विमाको व्यवस्था गर्ने जनाएको छ । गरिव तथा दलित परिवारका लागि खाने पानीका धारा जडान गर्न लाग्ने महशुल छुट तथा जडानमा लाग्ने सामग्रीहरु नगरपालिकाले निःशुल्क गरिने नगर प्रमुख शर्माले बताए ।










