दैलेखको भैरवी गाउँपालिकाको प्रशासनिक भवन निर्माणको जिम्मेवारी लिएका निर्माण कम्पनीका बखतबहादुर शाहीले निर्माण गरेको प्रशासनिक भवनको भुक्तानी विवाद अहिले चुलिएको छ । आर्थिक वर्ष २०७५÷७६ मा सम्पन्न गर्ने गरी प्रिफेप मोडलको भवन निर्माणको प्रक्रिया थालनी भयो । कोटेशन आह्वान भयो, १ करोडको ठेक्का घटेर ८८ लाखमा काम गर्ने सम्झौता भयो । ५४ दिनभित्र काम सम्पन्न गर्ने भनेर गरिएको सम्झौताको अवधिमा काम हुन सकेन पुनः म्याद थप भयो दोस्रो पटकको म्याद थपमा पनि काम सम्पन्न भएन तेस्रो पटक म्याद थप भयो । निर्माण कम्पनीले भने पहिलो किस्ता वापतको रकम १५ लाख मात्र बुझेको छ ।
२०७७ असार २१ गते काम सकियो भनेर कार्यालयमा विवरण आएको थियो तर प्रक्रियागत रूपमा काम भएको देखिएन । विवाद बढ्यो असार सकिएसँगै एकाएक फाइल हरायो । भवनको भित्री भागको केही सजावट बाहेकका कामहरू भएका छन्, भवन बनेको छ तर प्रयोग गर्नका लागि भुक्तानी प्रक्रिया अघि नबढाए प्रयोग गर्न पाइने अवस्था छैन ।
तत्कालीन समयका इन्जिनियर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सबै परिवर्तन भए विवादको टुङ्गो लाग्न सकेन ।
भवन निर्माणको लागि लागत स्टिमेटमै त्रुटी देखिएपछि रकम भुक्तानीको लागि पहल गर्न तत्कालीन समयका प्रमुख प्रशासकीय अधिकृत र इन्जिनियरले पनि आँट गरेनन्, कन्सल्टेन्सी बनाएको स्टिमेटनै त्रुटिपूर्ण भएको तत्थ्य अहिले बाहिर आएको छ । निर्माण कम्पनीले समेत स्टिमेट भन्दा बाहिर गएर काम गरेको कुरा भेटिएपछि भुक्तानी प्रक्रियामा विवाद रहँदै आएको थियो ।
नयाँ निर्वाचन सम्पन्न पश्चात् अहिले उक्त गाउँपालिकामा तत्कालीन भवन निर्माणको जिम्मा लिएका कम्पनीका मालिक बखत शाहीकी धर्मपत्नी रीता कुमारी शाही पालिका अध्यक्ष विजयी भइन् । नयाँ कार्यालय प्रमुख पूर्णबहादुर विश्वकर्मा आएपछि भवन ठडिएको तर कार्यालयको प्रशासनिक काम भवनबाट नभई विभिन्न व्यक्तिको घरमा भाडामा लिएर चलाउनुपर्ने अवस्थालाई जनताको सेवा प्रभाव चुस्त र छिटो बनाउने भन्दै भवन निर्माणको फाइल खोजी गरे, अध्ययन गरे, तर सुरुवात देखि त्रुटि नै त्रुटि भेटिएपछि उनले भुक्तानी दिन सक्ने अवस्था नरहेको भन्दै निर्वाचित गाउँपालिका अध्यक्ष रीता कुमारी शाहीलाई जानकारी गराए ।
लामो समयदेखि निर्माण कम्पनीले गरेको कामको भुक्तानी नहुने तत्कालीन समयदेखि काम गरेका कामदारहरू समस्यामा छन्, निर्माण कम्पनीले ल्याएको सामानको पैसा तिरिएको छैन, अफ्ठेरो काम गर्न नसक्ने सजिलो काम जहाँ पाइन्छ त्यही जानुस् भनेर भैरवीका प्रमुख प्रशासकीय अधिकृत पूर्णबहादुर विश्वकर्मा र लेखा अधिकृतलाई धम्की दिएपछि सोमबारदेखि गाउँपालिकाका भुक्तानीका कामहरू रोकिएका छन् ।
कर्मचारीहरूलाई धेरै दबाब सृजना भएपछि कर्मचारीहरूले सोमबारदेखि काम नगर्ने भन्दै बसेका छन् । असारमा भुक्तानी गर्नुपर्ने कामहरू सबै रोकिएपछि जनताहरू आक्रोशित बनेका छन् ।
भवनको ठेक्का
प्रक्रिया देखिनै त्रुटि
प्रिफेप मोडलको भवन निर्माण गरेर जनतालाई सेवा प्रभावमा सजिलो होस् भनेर सुरु गरिएको कामको ठेक्का प्रक्रिया देखिनै त्रुटि देखिएको छ । स्टिमेटमा एउटा कुरा छ, काम अर्को भएको छ । तीन–तीन पटक म्याद थप गर्न नमिल्ने भए पनि म्याद थप गरिएको छ । खरिद ऐन अन्तर्गत उक्त कामको अहिले भुक्तानी नै दिन नमिल्ने अवस्था छ । कार्यालयका कर्मचारी भन्छन् आफ्नो जागिर धरापमा राखेर भुक्तानी प्रक्रिया अघि बढाउन मिल्दैन, बरु सुरुवा हुन्छौँ ।
जतनलाई छिटो छरितो सेवा प्रवाह गर्न सजिलो होस भनेर आफू हाजिर हुनेवित्तिकै कागजात खोजी गरेको थिएँ, मैले सम्बन्धित स्थानहरूमा पनि बुझे तर प्रक्रियागत रूपमा धेरै कमजोरीहरू भएकोले भवनको भुक्तानी अहिले दिँदा आफू समस्या पर्ने जानकारी मैले अध्यक्ष ज्यूलाई गराएको छु ।
निर्माण कम्पनीले बरु अदालती प्रक्रिया अवलम्बन गरेको खण्डमा निकास निस्कन सक्ने सुझाव आफूले दिएको भैरवीका प्रमुख प्रशासकीय अधिकृत पूर्ण बहादुर विश्वकर्माले बताए ।
गाउँपालिकाका इन्जिनियर भन्छन् काम भएको छ, भवन निर्माण पनि भएको छ तर सुरुवाती देखिनै प्रक्रियामा त्रुटि छ हामीले अहिले भुक्तानी दिन सक्ने अवस्था छैन ।
आम नागरिकको हिसाबले हेर्नुपर्ने जिकिर गर्दै गाउँपालिकाका अध्यक्ष रिता साहीले भनिन्, भवन निर्माण भएको छ । सबै कार्यालयहरू एकै स्थानमा राखेर जनतालाई सेवा दिनुपर्छ भनेर मैले निकासको कुरा गरेको हो । निर्माण कम्पनी मेरो श्रीमान् वा जो सुकै किन नहोस् काम गरेको रकमको भुक्तानी पाउनुपर्ने विषय मैले उठाउनु मेरो दायित्व हो । कार्यालय प्रमुखलाई अफ्ठेरो काम गर्न नसक्ने भए सजिला काम पनि नगर्नुस् घर जानुस् भनेकी हुँ शाहीले भनिन् ।










