काठमाण्डौ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुच्चे नक्सा (लिपुलेक, लिम्पियाधुरा र कालापानीसहितको) जारी गरेकै कारण आफू प्रधानमन्त्रीबाट हट्नुपरेको दाबी गरेका छन् । अध्यक्ष ओलीले त्यो भू–भाग नेपालको हो भन्ने कुरामा विवाद नभएकाले आफूले त्यसलाई नेपालको नक्सामा राखेकै कारण आफू प्रधानमन्त्री पदबाट हट्नुपरेको बताए ।
सोमवार काठमाण्डौमा आयोजित डा. द्वारिकानाथ ढुंगेलद्वारा लिखित पुस्तक ‘चक्रव्यूहमा नेपालको जलस्रोत’ को लोकार्पण समारोहमा उहाँले नेपालको भूगोल समेटिएको नक्सा जारी गरेपछि उपद्रो हुन्छ भन्ने आफूलाई लागेको र त्यसैअनुसार प्रधानमन्त्री पद गुमाउनु पुगेको बताए ।
उनले भने, ‘लिम्पियाधुरा, लिपुलेक, कालापानी नेपालको भू–भाग हो । हामी अर्घेल्याइँ गर्न चाहँदैनौँ । मैले भनेँ– राष्ट्रिय हित गर्दा राष्ट्रको पक्षमा अन्यायपूर्ण दाबी गर्न सकिँदैन, गर्नु हुँदैन । न्यायोचित मात्रै दाबी गर्नु पर्दछ । लिम्पियाधुरा, लिपुलेक, कालापानी जो १८१६ जनवरीमा सम्झौता भएर मार्चमा त्यो कार्यान्वयन भइसकेको सुघौली सन्धिले महाकालीको उद्गमस्थलको पूर्वपट्टिको भू–भाग नेपालको हो भनेर भनिसकेपछि यसमा विवादको विषय नै हुन सक्दैन । तर कहिलेबाट छोडियो ? नेपालको नक्साबाट त्यो भू–भाग हटाइयो । त्यसलाई नक्सामा सामेल गरेपछि त्यति बेला नै यहाँ ठूलो उपद्रो मच्चिनेवाला छ भन्ने थाहा थियो । मैले प्रधानमन्त्रीबाट हट्नुपर्छ भन्ने कुरा थाहा थियो र नभन्दै हट्नुप¥यो ।’
ओलीले नाकाबन्दी सधैँका लागि अन्त्य गरेबापत आफूले यसअघि पनि प्रधानमन्त्री पद गुमाउनु परेको उल्लेख गरे । उनले प्रधानमन्त्री पद गुमाउनपर्दा आफूलाई कति पनि पिर नलागेको तर सत्तामुखी भएर अहिले भइरहेका गतिविधिले भने आफू चिन्तित भएको प्रतिक्रिया दिए । उनले सत्तामुखी भएर राष्ट्रिय हितलाई तिलाञ्जली दिने काम नगर्न पनि सत्तारूढ दलहरूलाई पटक–पटक सचेत गराए ।
कार्यक्रममा उनले २०२६ सालमा मातृकाप्रसाद कोइराला प्रधानमन्त्री हुँदा दक्षिण छिमेकीको १७ वटा सैन्य पोस्ट उत्तरी सिमानामा राख्ने गरी भएको सम्झौता हटाउने काम गरेबापत तत्कालीन प्रधानमन्त्री कीर्तिनिधि विष्टले पनि आफूले जस्तै प्रधानमन्त्री पद गुमाउनु परेको स्मरण गराए ।










