दैलेख : जिल्लाका दुईवटा स्थानीय तहमा युवामैत्री कर्नर स्थापनाको तयारी गरिएको छ । डुङ्गेश्वर गाउँपालिका र भगवतीमाई गाउँपालिकामा जनप्रतिनिधि, नागरिक समाजका प्रतिनिधि र सरोकारवालाबीच भएको बैठकबाट निर्णय गरी युवामैत्री कर्नर स्थापनाको तयारी गरिएको हो ।
सो बैठकबाट भगवतीमाई गाउँपालिकाको कट्टी स्वास्थ्य चौकीमा र डुङ्गेश्वर गाउँपालिकाको लाकुरी र वेलपाटा स्वास्थ्य चौकीमा युवा तथा किशोर किशोरीमैत्री कर्नर स्थापना गर्ने निर्णय गरिएको जनाइएको छ ।
अक्सफाम, युवालय र वाम संस्थाको सहकार्यमा यहाँका दुईवटा स्थानीय तहका ३ स्थानमा शुरु गर्न लागिएको युवा तथा किशोर किशोरीमैत्री कर्नरबाट अपाङ्गता भएका युवा, एकल युवा महिला र अल्पसंख्यक युवा तथा महिलाहरुले सहज रुपमा सेवा प्राप्त सक्ने वाम संस्थाका जेसी अधिकृत लिला खत्रीले जानकारी दिइन् ।
उनले कर्नरबाट सहज सेवासँगै स्थानीय सरकारसँग साझेदारी गरेर किशोर किशोरी र युवायुवतीलाई कुलतबाट जोगाउन सचेतना कार्यक्रम संचालन गर्ने साथै स्थानीय सरकारलाई लैंगिक समानता र सामाजिक समावेशीकरण नीति निर्माणमा सहयोग गर्ने पनि बताइन् ।










