जनप्रतिनिधिहरुलाई बाल विकास योजनाबारे जानकारी

दैलेख:  दैलेखको नारायण नगरपालिका भित्र निर्वाचित जनप्रतिनिधिहरुलाई नगरपालिका भित्र रहेका विद्यालयमा बाल विकास योजनाबारे जानकारी गराईएको छ । नगरभित्रका विद्यालयहरुमा सञ्चालन भएका विद्यालयहरुमा एकीकृत प्रारम्भिक बाल विकासका लागि योजना तर्जुमा कार्यशाला गरिएको हो ।
नगर प्रमुख, निर्वाचित वडा अध्यक्ष, वडा सचिव, बालबालिकाको क्षेत्रमा काम गरिरहेका निकायहरुलाई राखेर बाल विकास योजनाको प्रभावकारीता, स्थानीय सरकारको भूमिका, विद्यालय व्यवस्थापन समितिको भूमिका, शिक्षकको भूमिका र अभिभावकहरुको भूमिकाका बारेमा छलफल गरिएको छ ।
नारायण नगरपालिकाले नगरपालिका भित्रको शैक्षिक अवस्था सुधार गर्ने बारेमा शैक्षिक रणनीति निर्माण गर्ने तयारी गरेको र सोही अनुसार विद्यालय शिक्षक र बालबालिकाहरुको शैक्षीक स्तर सँगै पोषण सुधारका कामहरु गर्ने तयारी गरेको नगर प्रमुख लोमन शर्माले जानकारी दिएका छन् ।
नारायण नगरपालिका र सेतो गुराँस बाल विकास सेवा दैलेखको संयुक्त साझेदारीमा यो अभियान थालनी गरिएको हो । अभियान अन्तर्गत तीन चरणमा तालिमको काम सम्पन्न गरिएको छ । बालबालिकालाई गर्भअवस्था देखि जन्मेको ८ वर्ष सम्म आवश्यक पर्ने सवैखाले विकासमा कसरी काम गर्न सकिन्छ भन्ने बारेमा जनप्रतिनिधिहरुलाई अभिमूखिकरण गरिएको र योजना निर्माणको तयारी भएको सेतो गुराँस वालविकास सेवा दैलेखका निर्देशक राधा मल्लले बताईन् ।
सेतो गुराँस राष्ट्रिय बाल विकास सेवा ललितपुरका तालिम संयोजक शशि बि.सी.ले नारायण नगरपालिका भित्रका ३८ वटा विद्यालयमा शैक्षिक सुधार अभियान सुरु गरिने र सोही अनुसार बालबालिकाहरुलाई पोषणयुक्त आहार, विद्यालयको भौतिक संरचनामा प्रभावकारीता, कक्षा कोठाको व्यवस्थापन, शिक्षा सँगै स्वास्थ्य बृद्धि अभियान थालिने बताएकी छन् ।
तालिम सम्पन्न
नारायण नगरपालिका र सेतो गुराँस बाल विकास सेवा दैलेखको साझेदारी सुरु गरिएको शैक्षिक सुधार अभियान अन्तर्गत कक्षा १ का कक्षा शिक्षकहरुलाई प्रदान गरिएको आवासिय तालिम सम्पन्न भएको छ ।
शिक्षकहरुलाई व्यवहारिक शिक्षा, विद्यार्थीको भावना अनुसारको शैक्षिक वातावरण, प्रारम्भिक सिकाइ तथा विकास मापदण्ड सम्बन्धी तालिम प्रदान गरिएको थियो । जन्मपश्चात ‘बालवालिकाको दोस्रो पाठशाला बालविकास केन्द्र हुने भएकोले वालविकास केन्द्रमा रहेका शिक्षकहरुलाई कसरी वालमैत्री शैक्षीक अभियानको थालनी गर्ने भन्ने बिषयहरु तालिममा जानकारी गराईएको सेतो गुराँस वालविकास सेवा दैलेखका निर्देशक राधा मल्लले बताईन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार