पुस २३ , दैलेख: जनताको घरको सरकारका रूपमा स्थानीय सरकारलाई लिइएको छ । घर नजिक सरकार आएपछि सबै खाले सुविधामा सहज होला भन्ने स्थानीय बासिन्दाहरूको आशा निराशामा परिणत भएको छ । दैलेखको भगवतीमाई गाउँपालिका र भैरवी गाउँपालिकामा एउटै व्यक्ति विगत पाँच महिनादेखि कार्यालय प्रमुखको जिम्मेवारीमा रहेपछि भैरवीका सेवाग्राही मर्कामा परेका छन् । पालिकाको समग्र विकास निर्माण, अन्य विभिन्न कामहरूका लागि कार्यालय प्रमुख नियमित रूपमा पालिकामा उपस्थिति हुनुपर्दछ । दैलेखमा निर्वाचित जनप्रतिनिधिहरूको दबदबाका कारण एउटा व्यक्ति दुई पालिकाको हाकिमको जिम्मेवारी सम्हाल्न बाध्य छन् । भैरवीगाउँपालिकामा न त कामको प्रभावकारी देखिएको छ, न त कामनै राम्रो सँग भएको छ ।
आर्थिक वर्षको ६ महिना पुगिसक्दा समेत योजनाको डिजाइन स्टिमेट हुन सकेको छैन, उपभोक्ता समिति मार्फत सञ्चालन गर्नुपर्ने कामको सम्झौता पनि हुन सकेको छैन ।
दैलेखको भैरवी गाउँपालिका कालिकोटको सिमानामा पर्दछ भने भगवतीमाई गाउँपालिका जाजरकोटको सिमानामा पर्दछ । कामको जिम्मेवारी पाएका प्रमुख प्रशासकीय अधिकृत बखत बहादुर खड्का धेरै समय भगवतीमाई गाउँपालिकामा बस्ने गर्दछन् । भैरवीका जनताहरू भने पाँच घण्टा लगाएर पालिकाको कामको लागि भगवतीमाई पुग्नुपर्ने अवस्था कायमै रहेको छ ।
स्थानीय बासिन्दाहरूले साना देखि ठुला सबै काम गर्नका लागि हाकिम कहिले कार्यालय आउँछन् भनेर कुर्नुपर्ने बाध्यता कायमै रहेको छ । विगत तीन सातादेखि कार्यालय प्रमुखको जिम्मेवारी पाएका बखत बहादुर खड्का भैरवी आएका छैनन् । भैरवीका जनप्रतिनिधिहरूले कार्यकालको सुरुमै गाउँपालिकामा सेवाप्रभावलाई प्रभावकारी बनाउने, अनियमितता र भ्रष्टाचारका विषयमा कसैसँग सम्झौता नगर्ने प्रतिबद्ध गरे तर कुनै पनि विषयहरू कार्यान्वयन हुन सकेनन्, स्थानीयको गुनासो छ ।
काम गरेको चेकको भुक्तानी लिन चेकमा हाकिमको साइन हुनुपर्दछ भैरवीबाट चार घण्टा यातायातको साधन प्रयोग गरेर भगवतीमाई पुगेर हाकिमको दस्तखत गर्नुपर्ने अवस्था आएको स्थानीयको विकास थापाको गुनासो छ ।
भैरवी गाउँपालिकामा कुनै पनि विकासे कामको सम्झौता भएको छैन, असार महिना र त्यसपछि साउन भदौमा आएको अविरल बर्षातले सडकहरूमा पुराएको क्षति सँगै यातायात सुचारु गर्नका लागि भैरवी गाउँपालिकाका अध्यक्ष रिता साहीको आदेशमा सडक सञ्चालनका लागि स्थानीय बासिन्दाहरूले धमाधम काम गरे करिब ५० लाख बढी रकम भुक्तानी लिन बाँकी छ तर अहिलेसम्म भुक्तानी भएको छैन, सिंहदरबार को अधिकार गाउँमा भन्ने विषय नारामा मात्रै सीमित भएको भैरवीका विकास थापाको गुनासो छ ।
आफ्नो पक्षको हाकिम नभएको भन्दै विवाद
दैलेखको भैरवी गाउँपालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृत आफ्नो अनुकूलको नभएको भन्दै पाँच महिना अघि भैरवीका निर्वाचित जनप्रतिनिधिहरूले नयाँ हाकिमको खोजी गरे, काम गरिरहेका हाकिमको सुरुवाको विषय उठ्यो, पुराना हाकिम सुरुवा भएर महावु गाउँपालिका गए, महावुमा पनि राजनीति रङ्ग नमिलेको भन्दै अर्को हाकिम झिकाइयो, सामान्य प्रशासन मन्त्रालयले दैलेखको भगवतीमाई गाउँपालिकाका हाकिम बखत भण्डारीलाई भैरवीमा सुरुवा गर्र्यो र भैरवीमा तत्कालीन समयमा काम गरेका हाकिम भोलाराम पंगालीलाई भगवतीमाई सरुवा गर्र्यो, भगवतीमाई गाउँपालिकाका उपाध्यक्ष लगायतले पुरानै हाकिम चाहिन्छ भन्दै बिज्ञप्ति जारी गरे, बखत खड्काले मन्त्रालयको पावर लगाएर पुनःभगवतीमाईमै थमौती कायम गरे, भोलाराम पंगालीअहिले कालिकोटको स्थानीय तहमा छन् । भैरवी गाउँपालिकामा आएका नयाँ प्रमुख प्रशासकीय अधिकृतले समेत निर्माणाधीन गाउँपालिका कार्यालयको भवनको रकम दिन नमानेपछि उनलाई दबाब आयो दबाब सहन नसकेर उनी आफै अन्यत्र पालिकामा गए, गत दसैँमा कर्मचारीलाई तलब खुवाउन समस्या भएपछि भगवतीमाई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बखत खड्कालाई सामान्य प्रशासन मन्त्रालयले भैरवीको जिम्मेवारी दियो, उनी पाँच महिनादेखि दुई वटा पालिकाको प्रमुखको रूपमा रहेका छन् ।
भैरवी अध्यक्षको आफ्नै अडान
भैरवी गाउँपालिकाका अध्यक्ष रिताशाहीका श्रीमानले चार वर्ष अघि ठेक्का मार्फत निर्माण गरेको गाउँपालिकाको भवनको भुक्तानी जुन हाकिमले दिन्छ त्यसैलाई हाकिम स्वीकार गर्ने तयारी थालेपछि भैरवीका बासिन्दाहरूले प्रभावकारी सेवा पाउन सकेका छैनन् । उनका श्रीमानले निर्माण गरेको पालिकाको प्रिफेप भवन निर्माणमा स्टिमेट भन्दा फरक काम भएको भन्दै प्रशासकीयअधिकृतले भुक्तानी दिन मान्दैनन्, व्यक्तिगत स्वार्थमा पालिका प्रमुख फसेपछि जनताले दुःख पाएको स्थानीयको गुनासो छ । प्राविधिक मूल्याँकन भन्दा फरक तरिकाले काम भएकोले उक्त भवनको भुक्तानी दिन कोही पनि कार्यालय प्रमुख मान्न तयार छैनन् । अहिले लेखाअधिकृत समेत भैरवी गाउँपालिकामा छैनन् ।
भवन निर्माण सम्पन्न भएको छ, काम पनि सकिएको छ भुक्तानी पाउनुपर्ने दावी अध्यक्षको ठिक हो तर तत्कालिन समयका कर्मचारी र जनप्रतिनिधिहरुले समेत कमजोरी गरेका कारण भुत्तानी दिन समस्या छ एक कर्मचारीले बताए ।
समस्या छ ः नयाँ कार्यालय प्रमुख आउँछन्ः खड्का
भैरवी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालेका बखत खड्काले नयाँ सरकार गठन सँगै तत्कालै नयाँ हाकिम आउने बताएका छन् । भैरवीमा पहिले देखिनै विवाद देखिएको छ । कार्यालय प्रमुख नयाँ आउने बित्तिकै विवाद बुझे भने पालिकामा बस्न मान्दैनन्, यस अघिका जनप्रतिनिधिहरूले समेत पालिका भवनको विषय विवाद हुँदै आएको हो । भवन निर्माणको काम गरेको रकम पाउनुपर्ने माग जायज छ तर प्रक्रियागत रूपमा केही समस्याहरू छन् । यसलाई गाउँपालिकाका पूर्व जनप्रतिनिधि र वर्तमान निर्वाचित जनप्रतिनिधिहरू बसेर समस्या समाधान गर्नुपर्ने छ । कार्यालय सहयोगीलाई खरदार बनाइएको छ, भवनको विवाद कायमै छ, करार कर्मचारीलाई वडा सचिव बनाइएको छ । यस्ता धेरै विषयहरू विवाद भएकोले गाउँपालिकामा आउने जो कोही हाकिमले काम गर्न धेरै इच्छा नराख्ने र जनताले अनावश्यक दुःख पाएको बखत खड्काको भनाई छ ।
नेता र नेतृत्वको लडाँईमा पालिकाका जनताहरु सेवा प्रभाहबाट बञ्चित हुनु राम्रो होईन स्थानीयको गुनासो छ ।











