दैलेख : नेपाल शिक्षक संघ दैलेखको अध्यक्षमा रेशम बहादुर नेपाली निर्वाचित भएका छन् । संघको नवौं जिल्ला अधिवेशन अन्तर्गत शनिबार सम्पन्न निर्वाचनमा नेपालीले ४ सय ७२ मत प्राप्त गर्दै अध्यक्षमा निर्वाचित भएका हुन् । उनका प्रतिद्धन्द्धी देवीराम आचार्यले ४ सय ५७ मत प्राप्त गर्दै पराजित भएका छन् ।
संघको उपाध्यक्षमा गणेश खनाल विजयी भएका छन् । उनले आफ्ना प्रतिद्धन्द्धी चक्र बहादुर शाहीलाई १ सय १७ मतले पछि पार्दै उपाध्यक्षमा निर्वाचित भएका छन् । निर्वाचित खनालले ५ सय १७ मत प्राप्त गरेका छन् भने पराजित शाहीले ४ सय मत प्राप्त गरेका निर्वाचन मण्डलका अध्यक्ष एंवम निर्वाचन आयुक्त कृष्ण बहादुर श्रेष्ठले बताए ।
शिक्षक संघ दैलेखको सचिवमा पूर्ण प्रकाश भट्टराई निर्वाचित भएका छन् । भट्टराईले ४ सय ९२ मत प्राप्त गरेका छन भने उनसँग पराजित भएका प्रकाश ओलीले ४ सय मत प्राप्त गरेका छन् । सह–सचिव खुल्लामा ध्रुवनाथ योगी निर्वाचित भएका छन् । निर्वाचित योगीले ४ सय ५५ मत प्राप्त गरेका छन् भने उनीसँग पराजित भएका विष्णु बहादुर शाहीले ४ सय ४२ मत पाएका छन् । उनीहरूको मतान्तर १३ मात्र देखिन्छ ।
संघको सह–सचिव समावेशीमा दुई जना निर्वाचित भएका छन् । तीन जनाको उम्मेदवारी परेको सह–सचिव समावेशीमा निर्वाचित खगेन्द्र बहादुर शाहीले ५ सय ५६ र अर्का चक्र बहादुर गुरुङले ५ सय ३४ मत पाउँदै निर्वाचित भएका छन् भने जख बहादुर विकले ३ सय ९३ मत प्राप्त गर्दै पराजित भएका छन् ।
खुल्ला सदस्यमा ८ जनाको उम्मेदवारी परेका मध्ये ४ जना निर्वाचित भएका छन् । निर्वाचित हुने सदस्यहरूमा उत्तम रिजाल, कलम बहादुर रावत, दीपक बहादुर शाही र पंख बहादुर खठायत रहेका छन् । सदस्यमा पराजित हुनेमा प्रकाश जैसी, प्रेम बहादुर शाही, विनोद कुमार चन्द र भीम प्रसाद शर्मा रहेका निर्वाचन मण्डलले जनाएको छ ।











