उपत्यकाको सुरक्षा हाँक्दै कर्णालीका प्रशासक

काठमाण्डौँ : निजामतीमा प्रमुख जिल्ला अधिकारी अर्थात् सिडिओको आफ्नै आकर्षण छ । त्यसमा पनि काठमाडौँको सिडिओ भनेपछि त्यसको छुट्टै शान छ । एकाध जिल्लाको प्रजिअ भइसकेपछि उपत्यका पस्ने र काठमाडौँमा बसेर निस्किने चाहना सबैमा रहेकै हुन्छ । यद्यपि कतिपयको हकमा यो पूरा हुन्छ त कतिपयमा अधुरै ।

राजनीति र प्रशासनिक दृष्टिले मात्रै होइन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्पर्क–सम्बन्धका हिसावलेसमेत बढाएको आकर्षण छोप्न जो कोही कर्मचारीले चाहनु स्वाभाविकै हो तर संयोग नै भन्नुपर्छ इतिहासमै पहिलो पटक काठमाडौँसहित सिंगो उपत्यका प्रशासन हाँक्न पुगेको छ कर्णाली ।

रोग, भोक र शोकको पर्यायका रूपमा चित्रित सुदूर भूगोल कर्णालीबाट उदाएका प्रशासकत्रय घनश्याम उपाध्याय काठमाडौँ जिल्लाको प्रमुख जिल्ला अधिकारी छन् भने ललितपुरमा जयनारायण आचार्य र भक्तपुरमा छन् खगेन्द्रप्रसाद रिजाल । दैलेखका उपाध्याय र रिजाल तथा जुम्लाका आचार्यले भूगोलप्रतिको हेराइलाई मात्रै बदलिदिएका छैनन्, विषम परिस्थितिलाई यसरी अवसरमा बदल्न सकिन्छ भनेर उदाहरणसमेत बनिदिएका छन् सिंगो सुदूर तथा कर्णाली समुदायका लागि । काठमाडौँ प्रजिअ उपाध्यायले २०७९ भदौ २२ गतेदेखि काठमाडौँ जिल्ला प्रशासनको कमान्ड सम्हालेका थिए । उनी ललितपुरको प्रजिअबाट काठमाडौँ आएका हुन् । २०७८ असोज १ गतेदेखि २०७९ भदौसम्म एक वर्ष ललितपुर बसेका थिए ।

ललितपुरअघि ७ महिना गृह मन्त्रालय बसेका उपाध्याय एक वर्ष प्रदेश अर्थ सचिवको रूपमा कर्णाली बसेर आइसकेका हुन् । उनी २०७६ वैशाखदेखि चैतसम्म प्रदेश बसेका थिए । पहिलो पटक सिडिओका रूपमा ललितपुर पुगेका उपाध्याय काठमाडौँ प्रजिअ हुने कर्णालीका दोस्रो व्यक्ति हुन् । कर्णालीबाट काठमाडौँको पहिलो सिडिओ बन्ने अवसर भने गोविन्द रिजालले प्राप्त गरेका थिए ।

नारायण नगरपालिका दैलेख घर भएका उपाध्याय २०५४ सालमा नायव सुब्बा(नासु)बाट निजामतीमा प्रवेश गरेका हुन् । जिल्ला सिँचाइ कार्यालय बर्दियामा पाँच वर्ष सेवा गरेका उपाध्याय २०५९ सालमा शाखा अधिकृत भए र ८ वर्ष अर्थ मन्त्रालय अन्तर्गत काम गरे ।

२०६८ मा उपसचिव भएसँगै राष्ट्रिय योजना आयोगको कार्यक्रम निर्देशक बसेका उनी २०६९ चैत ६ गते खुल्ला प्रतिस्पर्धाबाट सहसचिव भए । तीन वर्ष प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, चार वर्ष संस्कृति, पर्यटन तथा नागरिक उययन मन्त्रालय बसेका उनी त्यसपछि प्रदेश, गृह, ललितपुर हुँदै यति बेला जिल्ला प्रशासन काठमाडौँको कमान्ड सम्हालिरहेका छन् ।

ललितपुरको सिडिओ रहँदा सेवा प्रवाह र विकास सहजीकरणमा सक्रिय भूमिका निर्वाह गरेका उपाध्यायले काठमाडौँ आइसकेपछि भौतिक पूर्वाधार सुधार, अभिलेख पद्धतिको व्यवस्थापनसँगै सेवा प्रवाहमा टायम कार्ड लागू गर्दै गुनासो सुन्ने परिपार्टिको विकास गरेका छन् ।

शालीन स्वभावका सरल प्रशासकका रूपमा आफ्नो छवि बनाएका उपाध्याय अबको केही महिनामा सचिव हुने लाइनमा छन् । उनी दैलेखबाट नेपाल सरकारको विशिष्ट श्रेणी (सचिव) हुने पहिलो व्यक्ति हुनेछन् ।

यस्तै ललितपुर जिल्लाको प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य २०५९ फागुन ६ गते निजामती सेवामा प्रवेश गरेका हुन् । काठमाडौँका प्रजिअ उपाध्याय र उनी सँगै शाखा अधिकृत भएका हुन् । सहायक प्रमुख जिल्ला अधिकारीका रूपमा जिल्ला प्रशासन कार्यालय रामेछापमा पहिलो पोस्टिङ भएका आचार्य डेढ वर्षको रामेछाप बसाई पछि अछाम, विनायक हुँदै २०६६ सालमा सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आए ।

२०६८ सालमा खुल्ला प्रतिस्पर्धाबाट उपसचिव भएका आचार्यको उपसचिवपछिको पहिलो पोस्टिङ पनि प्रधानमन्त्री कार्यालयमा नै भयो । त्यही छँदा पढाइका लागि कोरिया गएका उनी सउल नेशनल युनिभर्सिटीको गोल्ड मेडलिष्टसमेत हुन् ।

उनले २०७१ सालमा खुल्लाबाट एक नम्बरमा सहसचिव पास गरे । पहिलो पोस्टिङका रूपमा राष्ट्रिय योजना आयोग बसेका आचार्य ९ महिना जति पर्यटन विभागको महानिर्देशक बसे । त्यसपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय हुँदै उनी ०७४ तिर एक वर्ष जति प्रदेश प्रमुखको कार्यालय सुर्खेत बसे ।

कनकासुन्दरी–६, सिञ्जा जुम्लामा जन्मेका आचार्य २०७६ सालमा गृह मन्त्रालय प्रवेश गरे । दाङ जिल्लाको प्रमुख जिल्ला अधिकारीबाट सिडिओको यात्रा शुरु गरेका उनी सप्तरी, कास्की हुँदै अहिले ललितपुर जिल्लाको प्रशासन कमान्डरका रूपमा कार्यरत छन् ।

२०७९ भदौ २७ गतेदेखि ललितपुर प्रशासन प्रमुखको जिम्मेवारी सम्हाल्दै आएका आचार्य कर्णालीप्रतिको हेराई परिवर्तन गर्न सकेकोमा गौरव गर्छन् । ‘कर्णाली तथा सुदूर पश्चिमजस्ता पछाडि परेका क्षेत्रहरूमा अशिक्षा, भोकमरी मात्रै छ भन्ने जुन भ्रम अर्थात् बुझाई छ त्यो यथार्थ होइन’ प्रजिअ आचार्यले भने ‘त्यहाँ पनि क्षमतावान् मान्छे छन् र अवसर पायो भने गर्न सक्छन् भन्ने हो’

त्यस्तै दैलेखको दुल्लु–५, दैलेखका खगेन्द्रप्रसाद रिजालले सम्हाल्दै आएका छन् । उपत्यकाको सुन्दर नगरी भक्तपुरको प्रशासनिक कमान्ड । २०५५ सालमा नेपाल न्याय सेवाको नायव सुब्बा(नासु) पदबाट निजामती सेवामा प्रवेश गरेका रिजालले ७ वर्षपछि नेपाल प्रशासन सेवातर्फ शाखा अधिकृत पास गरे ।

शाखा अधिकृत भएपछि बर्दिया र बाँके जिल्लास्थित घरेलु तथा साना उद्योग कार्यालयको कार्यालय प्रमुख भएका रिजाल काठमाडौँ जिल्ला प्रशासन कार्यालय हुँदै राष्ट्रिय योजना आयोगमा पनि बसे । योजना आयोगमै कार्यरत रहेका बेला २०६९ मा उपसचिवमा पास गरे । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उपसचिवको पहिलो पोस्टिङ खाएका रिजाल ४ वर्ष लगानी बोर्डमा बसे ।

जापान सरकारले दिने छात्रवृत्तिमा दुई वर्ष जापानमा अध्ययन गरेर फर्किसकेपछि उनी करिब सात महिना सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा बसे । विभागपछि जाजरकोटको छेडागाड नगरपालिका पुगेको रिजाल त्यहाँ गएको केही समयमै सहसचिवको परीक्षामा उत्तीर्ण भए । २०७७ मा सहसचिव भएसँगै पहिलो पोस्टिङका रूपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुदूर पश्चिम कार्यालय, महेन्द्रनगर पुगेका रिजाल त्यसपछि छिमेकी जिल्ला कैलालीको प्रमुख जिल्ला अधिकारी बने ।

करिब सात महिना अख्तियार बसाई पछि सातै महिना जति कैलालीको सिडिओ बसेका उनी केही समय संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय हुँदै सुर्खेतको सिडिओ बनेर गए । एक वर्ष सुर्खेत बसाई पछि उनी दुई महिना अघिदेखि भक्तपुर जिल्ला प्रशासन कार्यालयमा कार्यरत छन् । २०७७ फागुन २३ गते कैलाली प्रशासन पुगेका उनी कार्तिक १ गते गृहमा आएर २०७८ पुस २६ मा सुर्खेत हुँदै २०७९ माघ ११ देखि भक्तपुरमा छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार