दैलेख : दैलेखका ११ वटा पालिकाको बेरुजु रकम डेढ अर्ब बढी देखिएको छ । महालेखा परीक्षकको कार्यालयले बुझाएको प्रतिवेदनमा उक्त रकम उल्लेख गरिएको छ ।
संघीयतासँग अधिकार प्राप्त बनेका स्थानीय सरकारहरु यो वा त्यो बाहनामा नियम मिचेर काम गरिरहेको उदाहरण मलेप प्रतिवेदनले देखएको छ ।
दैलेखका ११ वटै पालिका मध्ये २०७९ मा सवैभन्दा कम बेरुजु आउने पालिकामा नारायण नगरपालिका परेको छ जसको बेरुजु रकम २.१९ प्रतिशत देखिएको छ । प्रतिवेदन अनुसार कुल बेरुजु ३ करोड ३२ लाख ४८ हजार देखिएको छ ।
सबैभन्दा धेरै बेरुजु भएको पालिकामा गुराँस गाउँपालिका परेको छ जसको बेरुजु रकम १४.७२ प्रतिशत देखिएको छ । गुराँस गाउँपालिकाको बेरुजु रकम १८ करोड बढी देखिएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
भैरवी गाउँपालिकाको ९ करोड, दुल्लू नगरपालिकाको १३ करोड, डुङ्गेश्वर गाउँपालिकाको ६ करोड, भगवतीमाई गाउँपालिकाको ४ करोड, चामुण्डाबिन्द्रासैनी नगरपालिकाको १० करोड, नौमूले गाउँपालिकाको ७ करोड, महावु गाउँपालिकाको ३ करोड, ठाँटीकाँध गाउँपालिकाको ७ करोड, आठबीस नगरपालिकाको १४ करोड रकम देखिएको छ ।
बेरुजु देखिएको रकम मध्ये कतिपय बिल भरपाई नगरेका कारण नीतिगत बेरुजु देखिएको छ भने कतिपय बेरुजु रकम असुल उपर गर्नुपर्ने भनेर प्रतिवेदनमा उल्लेख गरिएको छ ।
बेरुजुको बिवरण हेर्दा स्थानीय सरकारहरु यो वा त्यो बाहनामा बेरुजु सँगै अनियमितताको चंगुलमा फस्दै गएको अवस्था देखिन्छ । असुल उपर गर्नुपर्ने बेरुजुका बारेमा निर्वाचित जनप्रतिनिधिहरु र स्थानीय सरकारमा रहेका प्रमुख प्रशासकीय अधिकृतको मुख्य हात हुने बताईएको छ ।











