दैलेखः दैलेख जिल्ला अदालत दैलेखले बालिका बलात्कार कसुरमा एक जनालाई १३ वर्षको कैद फैसला सुनाएको छ । १४ वर्षीया बालिकालाई बलात्कार गरेको कसूरमा चामुण्डाबिन्द्रासैनी नगरपालिका–३ का २८ वर्षीय भूपेन्द्र शाहीलाई अदालतले बिहिबार १३ वर्ष कैदको फैसला गरेको हो ।
जिल्ला न्यायाधीश बलराम लम्सालको इजलासबाट शाहीलाई बलात्कार कसूरमा १३ वर्ष कैद र पीडितलाई ५० हजार क्षतिपूर्तिसँगै पीडित राहतकोषमा २२ सय रुपैंयाँ तिर्नुपर्ने फैसला भएको दैलेख जिल्ला अदालतका सूचना अधिकारी टिकाराम न्यौपानेले जानकारी दिए ।
२०७७ चैत १९ गते लक्ष्मी प्रावि देउरालीको भान्सा कोठामा लिई बालिकालाई बलात्कार गरेको भन्दै पीडित पक्षले चैत २७ गते जिल्ला प्रहरी कार्यालय दैलेखमा दिएको उजुरीको आधारमा प्रहरीले भूपेन्द्रलाई गिरफ्तार गरेको थियो ।
प्रहरी अनुसन्धानका आधारमा जिल्ला सरकारी वकील कार्यालय दैलेखले ०७८ वैशाख २१ गते दैलेख जिल्ला अदालतमा जबरजस्ती करणी मुद्दाको अभियोग दर्ता गराएको थियो ।











