आगलागीबाट एक जनाको मृत्यु मृतकलाई २ लाख घाइतेलाई ३० हजार दिइने

दैलेख : दैलेखको आठबीस नगरपालिका वडा नं. ६ मा पर्ने माल्या जंगलमा भएको आगलागीमा परि घाइते भएका ९ जना मध्ये एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा वडा नं. ६ का ३७ बर्षिया, भिमबहादुर बि.क. रहेका छन् । उनलाई बुधवार उपचारका लागि नेपालगन्ज लगिएको थियो । भेरी अस्पताल नेपालगन्जमा उपचारकै क्रममा उनको मृत्यु भएको उपचारमा गएका सहयोगी खगेन्द्र शाहीले जानकारी दिएका छन् ।

शाहीले भने, उहाँको उपचारकै क्रममा मृत्यु भएको छ । पोस्टमार्टम गरेर शव दैलेखतर्फ ल्याउने तयारी भएको छ । आगोले उनको शरिर ५५ प्रतिशत जलेको थियो । आठबीस नगरपालिका दैलेखकी उपप्रमुख कल्पना थापा आफै बिरामीको उपचारका लागि नेपालगन्ज पुगेकी थिइन् , नेपालगन्जमा उपचार सम्भव नभएका अन्य गम्भीर ४ जनालाई नेपालगन्जका प्रमुख जिल्ला अधिकारीको सहयोगमा थप उपचारका लागि काठमाडौँ लगिएको छ । काठमाडौँ बर्न अस्पतालमा उनीहरूको उपचारका लागि दिउँसो १ बजे काठमाडौँ पु¥याईएको उपप्रमुख कल्पना थापाले जानकारी दिएकी छन् ।

थप उपचारका लागि ३० वर्षीय नवीन बिक, ३१ वर्षीय बसन्धुरा बिक, १९ वर्षीय जौकला बिक र २३ वर्षीय नैना बिकलाई काठमाण्डौंको कीर्तिपुरस्थित बर्न अस्पताल लगिएको छ । नेपाली सेनाको स्काई भ्यानबाट बिहीबार काठमाडौँ लगिएको कल्पना थापाले जानकारी दिएकी छन् । बाँकी ३ जनालाई नेपालगन्जमै उपचार गरिएको छ । उनीहरूको स्वास्थ्य अवस्थामा केही सुधार आएको आफन्तले जानकारी दिएका छन् ।

प्रधानमन्त्री रोजगार कार्यक्रमको कामका लागि वडा नं. ६ को गोरेटो बाटो निर्माणका लागि गएका १० जना मध्ये आगोमा परेर ८ जना गम्भीर घाइते भएका थिए । २ जनाको सामान्य उपचार पछि घर फर्केका छन् । सडक निर्माणमा लागेका उनीहरू तलबाट आगो दन्किँदै आएपछि केहीवेर निभाउने प्रयास गरेको र निभाउन नसकेर आगो नै शरीरमा आएपछि घाइते भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ ।

मृतकलाई २ लाख
घाइतेलाई ३० हजार रकम दिइने

विपद् व्यवस्थापन समिति दैलेखले आगलागी घटनामा परेर मृत्यु भएका एक जनालाई २ लाख रुपैयाँ राहत स्वरूप प्रदान गर्ने निर्णय गरेको छ । आगलागीबाट घाइते पीडितहरूलाई जनही ३० हजारका दरले सहयोग गर्ने निर्णय गरिएको दैलेखका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालले जानकारी दिएका छन् ।

आगलागी लगायतका विभिन्न खाले विपद् हुन नदिन अपनाउनुपर्ने उपायहरू, विपद् पछिको सुरक्षा लगायतका विषयहरू स्थानीय तह जिल्लाका सरकारी निकायहरू सुरक्षा संयन्त्र र स्वयं स्थानीय बासिन्दाहरूले सचेतना पूर्वक काम गरेको खण्डमा प्रभावकारी हुने हमालको भनाई छ ।

दैलेखका ११ वटै पालिकाका प्रमुख उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, गैर सरकारी संस्था लगायतको उपस्थितिमा जिल्लामा हुन सक्ने अन्य सम्भावित घटनाहरूबाट कसरी धन जनको क्षति जोगाउने भन्ने बारेमा बृहत् छलफल भएको    छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार