दैलेखको नारायण नगरपालिका–६ मा रहेको भूतेश्वर महादेव शिवालय मन्दिरमा शिव मूर्ति स्थापनाका लागि शिव महिमा धर्म जागरण महाआरती सञ्चालन गरिएको छ । मन्दिरमा शिवको मूर्ति स्थापनाका लागि मङ्गलवारदेखि साउन सात गतेसम्म साताव्यापी महाआरती सञ्चालनमा ल्याइएको हो ।
मन्दिरको थप व्यवस्थापनका साथै विशाल शिव मूर्ति स्थापनाका लागि मङ्गलवारदेखि महाआरती सञ्चालनमा आएको वडाध्यक्ष जनकप्रसाद न्यौपानेले बताए । उनले भने, ‘महाआरती सञ्चालनको मुख्य उद्देश्य शिव मूर्ति स्थापना गर्नु हो । महाआरती साउन सात गतेसम्म सञ्चालन हुन्छ ।’
सात दिनसम्म सञ्चालन हुने महाआरतीमा पण्डित नरेश नेपालले कथा बाचन गर्नेछन् । धर्म जागरण, संस्कार र संस्कृतिको रक्षाका साथै मन्दिरको विकासका लागि साता व्यापी महाआरती सञ्चालनमा ल्याइएको आयोजक मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।
महाआरती मेलाको उद्घाटन गर्दै प्रतिनिधि सभा पूर्व सदस्य रवीन्द्रराज शर्माले पुराना धर्म संस्कृतिलाई जोगाउन सबै एक भएर लाग्नुपर्ने बताए । उनले धार्मिक क्षेत्रको विकारसँगै पर्यटन प्रवर्धनका लागि तीन तहका सरकार योजना बनाएर अघि बढ्नुपर्ने धारणा राखेका थिए ।









