कुसंस्कारको जालो तोड्दै किशोर–किशोरी

सुर्खेत : महिनावारी नियमित प्रक्रिया हो । तर कर्णालीमा यसलाई विभेद गरिन्छ । अर्थात महिनावारी भएको बेलामा महिला र किशोरीले घरभित्र पस्न पाउँदैनन् । धार्मिक तथा सार्वजनिक काममा पनि रोक लगाइन्छ । महिनावारी हुँदा किशोरीहरुको स्कुल नै छुट्छ । बालविवाहका कारण किशोरीहरु विद्यालय पढ्ने उमेरै आमा बन्दा उनीहरुमा शारीरिक तथा मानसिक समस्या देखिएका छन् । कतिपय धार्मिक अन्धविश्वासले समुदायमा जरा नै गाडेको छ । बालश्रमका कारण अहिले पनि धेरै बालबालिका विद्यालयमा नियमित जाँदैनन् ।

सुर्खेतको पश्चिम क्षेत्रमा रहेका स्थानीय तहमा अहिले पनि महिनावारी बार्ने चलन छ । अर्थात् यस क्षेत्रका चौकुने र बराहताल गाउँपालका तथा पञ्चपुरी नगरपालिकामा महिनावारीको बेलामा महिला र किशोरीले गोठमा बस्नुपर्ने बाध्यता कायमै छ । घरदेखि टाढा रहेको छाउगोठमा बस्नुपर्ने बाध्यता यस क्षेत्रमा छ । तर हिजोआज भने यस क्षेत्रमा केही परिवर्तनका संकेतहरु देखिन थालेका छन् । स्थानीय किशोरीहरु नै गाउँमा रहेको सामाजिक कुरीति र अन्धविश्वासको जालो तोड्न सक्रिय बन्न थालेका छन् । समुदायका किशोरीहरु नै कुसंस्कारको जालो तोड्ने अभियानमा जुटेपछि अहिले अभिभावकहरु पनि सचेत हुन थालेका हुन् ।

गाउँमा सामाजिक कुरीतिका रुपमा रहेका बालबिवाह, छाउपडी कुप्रथा, अन्धविश्वास र बालश्रम अन्त्यका लागि किशोरीहरुले सचेतना फैलाउन थालेका हुन् । किशोरीहरुले सचेतना जगाउन थालेपछि स्थानीय अभिभावकले पनि व्यवहार परिवर्तन गर्न थालेको किशोरीहरु बताउँछन् । किशोरीले बारम्बार सम्झाउने र अभियान नै चलाएपछि अहिले स्थानीय अभिभावकले उमेर नपुग्दै आफ्ना सन्तानको विवाह नगर्ने, छाउ नबार्ने, महिनावारीको समयमा महिला र किशोरीको स्वास्थ्यमा चासो दिने, छोरा र छोरीबिच विभेद नगर्ने र कुनै पनि बालबालिकालाई बालश्रममा नलगाउने प्रतिबद्धता जनाउन थालेका हुन् ।

अभियानमा सक्रिय चौकुनेस्थित घाटगाउँकी किशोरी कल्पना मगरले आफूहरुको सक्रियतापछि गाउँमा सकारात्मक परिवर्तन देखिएको बताइन् । उनले भनिन्, ‘गाउँमा छाउ बार्ने चलन थियो, बालविवाह गर्ने लहर नै चलेको थियो । तर हामीले सम्झाउन थालेपछि अभिभावकहरु सचेत हुनुभएको छ, अचेल गाउँमा छाउ बार्ने र बालविवाह गर्ने क्रम पहिलाको भन्दा धेरै घटेको ।’ महिनावारी बार्ने र गोठमै सुताउने चलनविरुद्ध आफूहरुले अभिभावकलाई सचेत गराएको उनको भनाइ छ । छाउगोठमा बस्दा आफूहरुले पीडा भोगेपछि गाउँका किशोरीहरु एकजुट भएर यसविरुद्ध सचेतना फैलाउन थालेको उनले बताइन् । उनका अनुसार गाउँमा महिनावारी विभेदका कारण महिला र किशोरीहरु शारीरिक तथा मानसिक रुपमा पीडित छन् ।

सचेत हुँदै अभिभावक
‘गाउँमा महिनावारी हुँदा बार्ने चलन छ’ कल्पना मगरले भनिन्, ‘पहिला त महिला र किशोरीले महिनावारी हुँदा घरभित्र पस्नै पाउँन्नथे, तर हामीले सबै अभिभावकलाई यसबारे सचेत गरायौँ । अहिले महिनावारी बार्नेक्रम घटेको छ, छाउगोठबाट घरको आँगन र कोठासम्म बसाल्ने वातावरण बनेको छ ।’ किशोरीहरुले अचेल गाउँमा बालबालिकालाई पोषिलो खाना खुवाउनुपर्ने, नियमित विद्यालय पठाउनुपर्ने, काममा लगाउन नहुने, घरमा पनि बालमैत्री व्यवहार गर्नुपर्ने र सामाजिक विकृती अन्त्य गर्नुपर्ने विषयमा अभिभावकलाई सचेतना जगाउँदै आएका छन् ।

घाटगाउँ निवासी अविभावक मनसरा नेपालीले गाउँमा रहेका युवा तथा किशोरीहरुले आफुहरुको सोच नै परिवर्तन गराएको बताइन् । ‘हामी महिनावारी हुँदा घरभित्र पस्थेनौं, घरदेखि टाढा गोठमा नै सुत्नुपथ्र्यो’ उनले भनिन्, ‘तर अचेल पढेलेखेका किशोरकिशोरीले हाम्रो आँखा नै खोलिदिए, उनीहरुले यो गलत चलन हो भनेपछि अहिले हामीले पनि छाउ बार्न छोडेका छौं ।’ उनले हिजोआज आफ्ना बालबालिकालाई नियमित स्कुल पठाउन थालेको बताइन् । पञ्चपुरी निवासी महेन्द्र वयकले गाउँका बालबालिकाहरु शिक्षित हुँदा आफुहरुमा समेत परिवर्तन आएको बताए । उनले भने, ‘उमेर नपुग्दै विहे गर्ने समस्या छ, यसले गर्दा कतिपय परिवार नै विखण्डन भएका छन् । तर अब बालबिवाह हुन नदिन हामी पनि सचेत भएका छांै, गाउँमा नयाँ पुस्ता सचेत हुँदा सामाजिक कुरीतिहरु पनि अन्त्य गर्न सजिलो हुँदै गएको छ ।’ उनले समाजमा रहेका यस्ता सामाजिक कुसंस्कार र कुरीतिहरुको जालो तोड्न शिक्षित युवायुवतीहरुलाई परिचालन गर्न सकेमा सकारात्मक परिवर्तन आउने बताए ।

बाल विवाहविरुद्ध सचेतना
‘उमेर नपुग्दै विहे भयो, कलिलैमा आमा बनेँ’ बराहताल गाउँपालिका वडा नं ६ निवासी मञ्जु बिसीले भनिन्, ‘हतारमा विहे गर्दा स्कुलको पढाइ पनि रोकियो, पारिवारिक समस्यामा जेलिँदा पढाइ अधुरै रह्यो ।’ उनको २० वर्ष नपुग्दै बिहे भयो । स्कुलको पढाइ पूरा हुन नपाउँदै आमा बनिन् । आमा बनेपछि उनको विद्यालय यात्रा रोकियो । अहिले उनीसँगैका साथीहरु उच्च शिक्षा पढ्दै छन् । कतिपयले त जागिर पनि खाएका छन् । तर बुहारी बनेपछि मञ्जुमा पारिवारिक जिम्मेवारी थपियो ।

‘उमेर नपुग्दै विहे गरेर गल्ती भयो’ उनले भनिन्, ‘मैले त गल्ती गरिहालेँ, हतारमा विहे गरेकोमा अहिले केवल पछुतो मात्र छ । तर अब कसैले पनि कलिलैमा विहे नगरुन्, हतारमा बच्चा पनि नजन्माउन् ।’ आफूले उमेर नपुग्दै विहे गरेपनि उनले हिजोआज गाउँमा अरुलाई उमेर पुगेपछि मात्र विहे गर्न सल्लाह दिने गरेकी छन् । ग्रामीण क्षेत्रका धेरै किशोरीको पीडा मञ्जुको जस्तै छ । ग्रामीण क्षेत्रमा अहिले पनि कलिलैमा विहे गर्ने र हतारमा आमा बन्नेक्रम रोकिएको छैन । यसले धेरै किशोरीहरु शारीरिक तथा मानसिक समस्या भोग्न बाध्य छन् । आफूले हतारमा विहे गर्दा पछुतो मान्दै आएका स्थानीय किशोरीहरु हिजोआज भने गाउँमा अन्य किशोर तथा किशोरीहरुलाई कलिलैमा विहे नगर्न र हतारमा बच्चा नजन्माउन भन्दै सचेतना फैलाउन थालेको मञ्जुको भनाइ छ ।

२० वर्ष नपुग्दै विहे गर्दा पढाइ छुट्ने, कलिलैमा आमा बन्दा किशोरीहरुको स्वास्थ्यमा समस्या आउने, आर्थिक अभावका कारण सबन्धमा फाटो आउने र सम्बन्धविच्छेदका घटना बढ्न थालेपछि हिजोआज आफूहरु बालविवाहविरुद्ध सचेतना फैलाइरहेको उनले बताइन् । हिजोआज आफ्नो प्रजनन् स्वास्थ्यको मात्र होइन, स्थानीय किशोरीले गाउँमा रहेका महिलाको प्रजनन् अधिकारबारे पनि जानकारी दिन थालेका हुन् । सानैमा विहे गर्ने र प्रजनन् स्वास्थ्यमा ध्यान नदिदा समस्याहरु देखिन थालेपछि किशोरीहरुले अभियान नै संचालन गरेका हुन् । अभियानमा सामेल भएर किशोरीहरुले गाउँमा रहेका किशोरी र महिलाहरुलाई प्रजनन् अधिकार र स्वास्थ्यबारे सचेत गराइरहेका छन् ।

किशोरावस्थामा प्रजनन् स्वास्थ्यको महत्व, महिनावारी, गर्भावस्थामा खतराका संकेतहरु, बच्चा जन्माउनका लागि गर्नुपर्ने तयारी र यौन तथा प्रजनन् अधिकारका विषयमा शिक्षित युवायुवतीले जानकारी दिन थालेपछि गाउँमा परिवर्तन आउन थालेको स्थानीय खगेन्द्र रिजालले बताए । उनले भने, ‘हामीले पढ्न पाएनौं, अशिक्षाका कारण समाजमा धेरै अन्धविश्वास छन् । तर समय बदलिएको छ, शिक्षा पाएपछि हिजोआजका किशोरकिशोरीले समाजमा रहेका गलत संस्कार र मान्यतालाई तोड्ने प्रयास गरिरहेका छन् ।’ पछिल्लो समय छाउपडीबारे परिवार र समुदायको धारणामा पनि परिवर्तन आउन थालेको भन्दै उनले सचेतना अभियानहरुलाई निरन्तरता दिइनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार