कर्णालीको जडिबुटी संरक्षणसँगै विस्तार गर

कर्णाली प्रदेशको विकास र समृद्धिका लागि प्रदेशको आफ्नै सामथ्र्य र सम्भावना छ । प्रदेशमा जति चुनौती छन् त्यो भन्दा बढी सम्भावनाका खानी पनि छन् । कर्णाली प्राकृतिक स्रोत साधनले धनी छ । कर्णाली प्रदेशको समृद्धिका मुख्य आधार पर्यटन, जडीबुटी, जल, जमिन र जंगल हुन् । अनेकौ औषधि बन्ने महँगा–महँगा जडिबुटी यही छन् । तुलनात्मक रूपमा धेरै नै मूल्यमा बिक्री हुने तथा धेरै नै सम्भावना भएका जडिबुटीहरूको व्यवसायीकरण कर्णाली प्रदेशको आर्थिक विकासको महत्वपूर्ण आधारको रूपमा रहेको देखिन्छ । कर्णालीमा बहुमुल्य जडिबुटी पाईन्छ । यहाँको हिमाली तथा पहाडी क्षेत्र जडिबुटी खानी हो । जडीबुटीको प्रचुर सम्भावनाले भरिपूर्ण क्षेत्र मानिन्छ मुलुककै विकट मध्येको भूगोल कर्णालीका औषधीय गुणले भरिएका यहाँका जडीबुटीबारे अझै पनि पर्याप्त अध्ययन हुन सकेका छैनन् ।

प्रदेशको सबै जिल्ला प्राकृतिक स्रोत, साधन तथा जडिबुटीमा धनी रहेका छन् । जडिबुटीको संकलन तथा बिक्रीबाट राम्रो आम्दानी हुने भएपछि पछिल्लो समयमा धेरैभन्दा धेरै नागरिकहरू यस पेसातर्फ आकर्षित भएको पनि देखिन्छ । कर्णालीमा यार्सागुम्बा, पाँचऔंले, बाघेजडी, निनइजडी, पखानवेद, कमलवेद, विख्मा, गुछी च्याउ, कटुको, सेतो चिनी, चिराइतो, पदमचाल, भुतकेस, जटामसीलगायतका जडिबुटीहरू पाइन्छन् । कर्णालीमा जडिबुटी खेती बिस्तार, खेती क्षेत्र निर्धारण, पकट क्षेत्र निर्धारण लगायतका कार्यहरु भइरहेका छन् । तर, ती कार्यहरु प्रर्याप्त छैनन् ।

समग्रमा जलस्रोत, पर्यटन, जडीबुटी र अर्गानिक कृृषिमा ध्यान दिन सके प्रदेश समृद्ध बन्न समय लाग्दैन । त्यसमध्यमा पनि बहुमुल्य जडिबुटी कर्णाली प्रदेशको विकास र समृद्धि तथा यहाँका नागरिकको जीवनस्तर सुधारको प्रमुख आधार हुनसक्छ । त्यसका लागि राजनीतिक इच्छाशक्ति र दूरदर्शिताको खाँचो छ । यहाँको समृद्धिका लागि जडीबुटीको उचित प्रयोग गर्नुपर्ने देखिन्छ । कर्णाली जडिबुटी खेतीका लागि उपयुक्त जमिन, पराम्परागत ज्ञान, संलग्न जनशक्तिको अवस्था हेर्दा जडिबुटीको राम्रो सम्भावना छ ।

पछिल्ला दिनमा अत्यधिक दोहन तथा चोरी निकासीका कारण कर्णालीका विभिन्न जिल्लाको वन क्षेत्रमा पाइने बहुमूल्य जडिबुटी लोप हुँदै गएका छन् । जलवायु परिवर्तन, आगलागी, लोपोन्मुख जडिबुटीको खेती प्रविधिको अभाव, अत्यधिक दोहन तथा चोरी निकासीका कारण बहुमुल्य जडिबुटी दिन प्रतिदिन लोप हुँदै गएको देखिन्छ । यसतर्फ सरकारको ध्यान केन्द्रित हुन जरुरी छ ।

जडीबुटीको सबैभन्दा ठूलो सम्भावना रहेको कर्णाली प्रदेशमा जडीबुटी संरक्षण, क्षेत्र निर्धारण, चोरी निकासी नियन्त्रणका लागि सरकारले विशेष पहल गर्नुपर्ने देखिन्छ । जडीबुटीको संरक्षण, उत्पादन, विकास र व्यवस्थापनको लागि खास क्षेत्र तोकी उत्पादन÷उत्पादकत्व वृद्धि, दिगो संकलन र स्थानीय जनताको आय आर्जन वृद्धिसम्बन्धी एकीकृत कार्य अगाडि बढाउनुपर्ने अहिलेको आवश्यकता हो । त्यतिमात्र होइन्, बजारको मागको स्थिति पहिल्याएर जडीबुटीको निरन्तर आपूर्तिका लागि खेती वा वन जंलबाट तथा दुवैबाट आपूर्तिको व्यवस्था गर्न तर्फ पनि सरकारको ध्यान केन्द्रित हुन जरुरी छ ।

कतिपय अवस्थामा विद्यमान कानुन र नयाँ बन्ने कानुनमा पनि भएका केही व्यवस्था र अस्पष्टताले जडिबुटीको व्यावसायिकता र निर्यातमा कठिनाइ भोग्नुपरेको निजी क्षेत्रको गुनासो रहँदै आएको छ । जडिबुटीको व्यावसायिकता र विस्तारका लागि झण्झटिलो कानुनी प्रक्रिया र कर्मचारीको मानसिकतामा सुधार ल्याउनुपर्ने अर्को आवश्यकता हो ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार