लामो रस्साकस्सीपछि मुलुकको प्रभावशाली र अग्रणी नागरिक संस्था नेपाल पत्रकार महासंघले नयाँ नेतृत्व पाएको छ । २७औं महाधिवेशन उद्घाटन भएको झण्डै ६ महिनापछि केन्द्र, प्रदेश, जिल्ला तथा प्रतिष्ठान र एशोसिएटको निर्वाचन सम्पन्न भएको हो ।
पत्रकार महासंघको पछिल्लो कार्यकाल सदस्यता शुद्धीकरणको विषयले चर्को विवाद उत्पन्न भयो । महासंघमा प्रभुत्व जमाउने सबै संगठनको प्रतिष्पर्धाका कारण शुद्धीकरण अभियान विवादरहित हुन सकेन । त्यही विवादका कारण निर्वाचन प्रक्रिया नै ६ महिनासम्म अवरुद्ध भयो । लामो समयको विवाद र रस्साकस्सी महासंघको केन्द्र, प्रदेश, जिल्ला तथा प्रतिष्ठान र एशोसिएट शाखामा नयाँ नेतृत्व आएको छ ।
सात दशक लामो इतिहास बोकेको यस संस्थामा पहिलोपटक महिला अध्यक्ष निर्वाचित हुनुले इतिहासको पानामा एक स्वर्णिम तथ्य स्थापित भएको छ । यस पटक महासंघको केन्द्रीय समितिमा नेपाल प्रेस युनियन र प्रेस चौतारी नेपालबाट साझा उम्मेदवारको रुपमा निर्मला शर्मालाई उम्मेदवार बनाएका थिए । निर्वाचन समितिले सार्वजनिक गरेको मतपरिणामअनुसार अध्यक्षमा निर्वाचित निर्मला शर्माले चार हजार दुई सय ८२ मत प्राप्त गरी विजयी भएकी छन् । शर्मा नेपाल पत्रकार महासंघमा पहिलो महिला अध्यक्ष हुन् ।
समावेशीकरणको सिद्धान्तलाई महासंघले धेरै अघिदेखि नै आत्मसात गर्दै अएको छ । पछिल्लो समयमा विभिन्न चरणमा भएका विधान संशोधनमार्फत महासंघले केन्द्रदेखि शाखासम्मका सबै संरचनाहरुमा सबै समुदाय, लिङ्ग र शारीरिक अवस्था भएका पत्रकारहरुको प्रतिनिधित्व सुनिश्चित गर्न निश्चित संख्यामा सिटहरुको व्यवस्था गरेको छ ।
यसपाली अध्यक्षमा महिला निर्वाचित हुँदा विधानमै समावेशी रहेको महासंघमा सुनमा सुगन्ध थपिएको छ । यो नेपाली पत्रकारिताको इतिहास र नेपाली पत्रकारहरुका लागि गौरवपूर्ण विषय हो । निर्वाचनबाट कार्यकारी भूमिका भएका प्रमुख तीन पद अध्यक्ष, महासचिव र कोषाध्यक्षमा तीनवटा प्रमुख संगठन प्रेस चौतारी, प्रेस यूनियन र प्रेस सेन्टरको प्रतिनिधित्व भएको छ । यसले महासंघमा राजनीतिक सन्तुलन कायम पनि भएको देखिन्छ ।
नेपाल पत्रकार महासंघ सम्पूर्ण नेपाली पत्रकारहरुको साझा छाता संगठन हो । देश विदेशमा रहेका नेपाली पत्रकारहरुलाई संगठित गर्दै व्यावसायिक नेतृत्व प्रदान गर्ने र श्रमजीवी पत्रकारहरुको हकहित रक्षा गर्दै सम्पूर्ण सञ्चार क्षेत्रको विकासका लागि काम गर्नु महासंघको मूल ध्येय, लक्ष्य र दायित्व हो । तर, महासंघमा दलीय प्रभावका कारण श्रमजीवी पत्रकारको मुद्दाहरु ओझेलमा पर्दै आएको यथार्थलाई नकार्न सकिदैन ।
नेपालमा जसरी सञ्चार माध्यमको विकास र विस्तार भएको छ । त्यसैगरी, त्यो सञ्चार माध्यममा काम गर्ने पत्रकारको सेवा, सुरक्षा र श्रमजीवी पत्रकार ऐन अनुसारको सेवा सुरक्षा र श्रमजीवी पत्रकार ऐन अनुसारको तलव सुविधाको प्रश्न यतिवेला ज्वलन्त भएर देखा परेको छ ।
विभिन्न समयमा विभिन्न सुझाव तथा प्रतिवेदनहरू बुझाएको भए तापनि अहिलेसम्म श्रमजीवी पत्रकारको बारेमा कार्यान्वयन पक्ष भने सधंै फितलो भई दिँदा यसको प्रत्यक्ष मार पत्रकारमा परेको देखिन्छ । नेपालका अधिकांश सञ्चार माध्यममा काम गर्ने पत्रकारको अवस्था दयनीय रहेको विभिन्न प्रतिवेदनले देखाउँदै आएको छ । यस्तो अवस्थामा महासंघको नयाँ नेतृत्वले महासंघको गरिमा बचाउँदै श्रमजीवी पत्रकारको हितमा काम गर्नु प्रमुख दायित्व हुनेछ ।
देशभर संगठन फैलिएको महासंघको नेतृत्व श्रमजीवी पत्रकारहरुको हकहित रक्षा र श्रमजीवी पत्रकारहरुको मुद्दामा कुनै पनि बाहानामा पन्छिनु हुँदैन । त्यसका साथै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा र प्रवद्र्धनसँगै नेपाली समाज र आम नागरिकको हितमा स्वच्छ पत्रकारिताको प्रवद्र्धनमा महासंघले नेतृत्वदायी भूमिका खेल्नुपर्छ ।





