योजनावद्ध विकास गरे गरिबी न्यूनीकरण हुन्छ

अल्पविकसित राष्ट्रहरूको मुख्य समस्याको रूपमा गरिबी रहेको छ । सम्पन्न मुलुकहरूमा पनि गरिबी नभएको होइन तर विकसित देशहरूले देशको अर्थतन्त्र अनुसार जनतालाई प्रवाहगर्ने सेवा सुविधाहरूको प्रभावकारिता बढाएका कारण काम गर्छु भनेर आँट गर्नेहरूकालागि सरकारले सबै खालका सहयोगहरू गर्ने गरेको हुन्छ ।

अल्पविकसित मुलुकहरूमा भने चर्को बेरोजगारी समस्या उत्पादनमा आधारित विषयहरूका बारेमा भने थुप्रै चुनौतीहरू थपिएको अवस्था छ । सरकारले चाहेर पनि गरिबी र विपन्न नागरिकहरूका अति आवश्यक विषयहरूलाई पूरा गर्न नसकेको अवस्था अल्पविकसित मुलुकहरूको चुनौती हो । नेपाल लगायतका कतिपय अल्पविकसित मुलुकहरू विस्तारै प्रगतिको पथमा लम्किरहेको अवस्था देखिए पनि ठुला विकासका पूर्वाधारहरू निर्माणमा समस्या देखिएका कारण बेरोजगारी समस्या समाधान हुन सकेको छैन ।

स्थानीयस्तरमै उत्पादनका स्रोतहरूको अधिकतम प्रयोग गरेर युवाहरूलाई गाउँमै रोक्ने अभियानको सुरुवात गर्ने कतिपय कामहरू नभएका होइनन् तर जसरी जुनतरिकाले हुनुपर्ने थियो त्यस्तो हुन सकेको देखिदैंन । अहिले पहाडी बस्तीमा जमिनहरू बाँझो रहेको अवस्था छ त्यस्ताबाँझो जमिनहरूको सदुपयोग गर्नका लागितीनै तहका सरकारहरूले केही निश्चित समयको लागिजमिनलिजमालिने र त्यस्ता स्थानहरूमा हावापानी सुहाउँदो उत्पादनको विषयलाई प्रभावकारी बनाउन सकेमा बेरोजगारी समस्या समाधानसँगै राज्यको अर्थतन्त्रमा समेत प्रभावकारी सुधार हुनसक्ने देखिएको छ ।

नेपाल जलस्रोतमा धनी देश हो भनेर जसरी भनिएको छ यसको वास्तविक प्रयोग हुन सकेको अवस्था छैन । कतिपय निर्माण सुरु गरिएका जलविद्युत आयोजनाहरू विभिन्न कारणहरूले निर्माण सम्पन्न हुन नसक्नु भनेको देशको अर्थतन्त्रमा देखिएको अवरोध हो । अर्कोतर्फ नेपालमा रहेका विभिन्नखानीहरूको खोज अध्ययन, अनुसन्धान र उत्खनन हुन नसक्नु अर्को विडम्बना हो । हामीले चाहेको जस्तो परिवर्तन हुन नसक्नु विभिन्न खाले आर्थिक चुनौतीहरूले नै हो ।

पहाडी भू–भागहरूका अथाह जडीबुटीहरूलाई प्रशोधन गरेर प्रभावकारी उत्पादन अभियानको सुरुवात गर्न पाएको भए नेपालको आर्थिक अवस्था सुधार हुनसक्ने देखिन्छ । यस्ता विषयहरूमा नेपाल जस्तो अल्पविकसित मुलुकले क्रमागत रूपमा योजनावद्ध विकासका कामहरूलाई प्रभावकारी रूपमा अगाडि बढाउँदै लैजाने हो भने नेपालको आर्थिक अवस्था सुधार हुने देखिन्छ । फलस्वरुप युवाहरूले गाउँमै रोजगारी पाउनेछन् ।

अबको विकास भनेको हरेक पालिका सरकारले एक वर्षमा न्यूनतम ४ देखि ५ वटा प्रभावकारी कामको सुरुवात गर्नुपर्दछ । शिक्षा, स्वास्थ्य, पूर्वाधार, कृषि र पर्यटनमा एक वर्षमा एउटा मात्रकाम सुरु गर्ने र उक्त कामबाट प्राप्त प्रतिफल जनताको पक्षमाहुने गरी गर्न सके गरिबी न्यूनीकरणको दिशातर्फ अघि बढ्ने देखिन्छ । यसका लागि उत्पादन अभियानलाई सामूहिक रूपमाविस्तार गरेर काम गर्नुपर्ने तीनै तहका सरकारको अहिलेको आवश्यकता हो ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार