कर्णालीको कृषि तथा पशुजन्य उपज : चार अर्ब बढीको निर्यात

सुर्खेत : कर्णाली प्रदेशबाट एक वर्षमा चार अर्ब बढीको खाद्यान्न, फलफूलसँगै पशु र दुग्धजन्य पदार्थ निकासी हुने गरेको छ । भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय कर्णाली प्रदेशका अनुसार गत आर्थिक वर्ष २०८०÷८१ मा चार अर्ब बढीको खाद्यान्न, फलफूल, खसी, बोका र दुग्धजन्य पदार्थ निकासी भएको हो । आर्थिक वर्ष २०७९÷८० मा पनि कर्णाली प्रदेशका दश जिल्लाबाट चार अर्ब सात करोड १८ लाख ६६ हजारको खाद्यान्न, फलफूल तथा खसी, बोका निकासी भएको थियो । विशेषगरी कर्णालीबाट खाद्यान्नमा मकै, कोदो, कागुनो चिनो, फापरलगायतका रैथाने बाली निकासी हुने गरेको छ, भने तरकारी, तरकारीको बीऊ, सुन्तला, स्याउ, अदुवा, बेसार, आलुलगायतका वस्तु निकासी हुने गरेका छन् ।

यी वस्तु बाँकेको नेपालगञ्ज, बुटवल, चितवन, काठमाडौँ, पोखरा तथा कैलाली, कञ्चनपुरमा निकासी हुने गरेको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता धनबहादुर कठायतले जानकारी दिए । उनका अनुसार कृषि उपज निकासीबाट कर्णालीमा वर्सेनी करिब दुई अर्ब रकम भित्रिने गरेको छ । आर्थिक वर्ष २०७९÷८० मा कर्णाली प्रदेशले कृषि वस्तु निकासीबाट एक अर्ब ७९ करोड रकम भित्रयाएको थियो । यसैगरी आर्थिक वर्षमा करिब दुई अर्बको आम्दानी कृषि वस्तुबाट गरिएको कठायतले बताए ।

यसैगरी, पशुपंक्षीजन्य उपज निर्यात गरी कर्णाली प्रदेशले दुई अर्ब ३० करोड रकम वार्षिक आम्दानी गर्ने गरेको छ । पशुपंक्षीअन्तर्गत खसी, बोका निकासीबाट मात्रै वार्षिक एक अर्ब ९६ करोडको आम्दानी हुने गरेको पशुपंक्षी निर्देशनालयले जनाएको छ । वार्षिक एक लाख २३ हजार मेट्रिक टन खसी, बोका निकासी हुने गरेको निर्देशनालयको तथ्यांक छ । यस्तै दूध बिक्रीबाट ३० करोड ३३ लाख आम्दानी हुने गरेको छ । कर्णालीबाट, राडीपाखी, खरायोको टोपी, कोटको कपडालगायतका पशुजन्य उपज निकासी हुने गरेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार