जति वेला कर्णालीमा यातायातको पर्याप्तता थिएन,उति वेला पनि कर्णाली र चीन जोड्ने सिल्की मार्गको चर्चा धेरै थियो । त्यति वेला कर्णालीको उत्पादन चीन जान्थ्यो भने चीनका विभिन्न उत्पादनसँगै सुनको आयात निर्यात पनि यही बाटो भएर हुने गर्दथ्यो । सिल्की मार्ग अहिले हराएको छ । छोटो मार्गको रूपमा रहेको यो मार्गमार्फत कालीकोट, जुम्ला, हुम्ला, मुगु हुँदै डोल्पा सम्म खच्चड र भेडा मार्फत सामानहरू ओसार पसार हुने गर्दथ्यो ।
तत्कालीन सिञ्जा साम्राज्यका वेलामा समेत निकै चर्चा कमाएको कर्णाली,प्रजातन्त्र पछिका विभिन्न परिवर्तन र सङ्घीयताको प्राप्तिपछि कहीँ न कहीँ राज्यको माथिल्लो निकायबाट हेपिएको हो कि भन्ने अवस्थामापुगेको छ । यस भित्र विभिन्न कारणहरू होलान् । तरमुख्य कारण कर्णाली प्रदेश हवाई लगायतका यातायातको विस्तारसँगै पुरानो र चर्चित सिल्कीमार्ग ओझेलमा प¥यो, सडक विस्तार भएपछि अझै धेरै समस्याहरू समाधानभए । सडक यात्रा सहज भए पछि भेडा, च्याङ्ग्रा र खच्चडबाट आयात निर्यात गर्नुपर्ने बाध्यता हट्यो ।निकै मंहगो पर्ने भाडा दर घट्यो । मंहगोमा सामानहरू खरिद गर्नुपर्ने बाध्यता हट्यो । सडक त बन्यो तर जसरी सडकको प्रभावकारिता हुनुपर्ने थियो त्यस अनुसार सडकको पुनर्निर्माणका कामहरू व्यवस्थित हुन सकेनन् । राज्यले प्रदान गर्नुपर्ने जति बजेट केन्द्रबाट दिननसक्नु अर्कोतर्फ कामको जिम्मेवारी लिएका निर्माण कम्पनीहरूले १५ वर्षसम्म पक्की पुलहरु निर्माण नगर्नु यस्ता धेरै समस्याहरूले कर्णाली प्रदेशका विभिन्न जिल्लाहरूमा अहिले पनि सडक समस्या कायमै रहेको छ ।
यति हुँदा हुँदै पनि कर्णालीले उत्पादन गरेका विभिन्न खाद्यान्न तथा फलफूल र पशुपालनको क्षेत्रमा प्रगति बढाउँदै लगेको अवस्था छ । पहाडी भू–भाग र भिरालो जमिनभएका कारण अधिकांश जमिनहरू खाली भएको अवस्थामा पनि समग्र कर्णाली प्रदेशबाट वार्षिक रूपमा भएको निर्यातको तथ्यांक सन्तोषजनक मात्र देखिएको छ । यसलाई केही मात्रामा व्यवस्थित बनाउन सक्ने हो भने कर्णाली प्रदेश भित्र रहेका अथाह सम्भावनाहरूले सहजै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारसम्म उत्पादनको सहज पहुँच विस्तार हुनेछ ।
सरकारले यहाँ रहेका जडीबुटीहरू, फलफूल, अन्नबालीहरू र पशुपालनको क्षेत्रको दायरा फराकिलो बनाउँदै हरेक युवाहरूले चाहना गरेअनुसारको अनुदान र सरकारले प्रदानगर्ने सुविधालाई प्रभावकारी बनाउने हो भने कर्णालीका युवाहरू आफ्नै माटोमा पौरख गर्न सक्ने र राम्रो आम्दानी गर्न सक्ने अवस्थामा पुग्ने देखिन्छ ।
कृषि क्षेत्रको लगानी करिब पाँच वर्षसम्म निकै मेहनत गर्नुपर्ने र पाँचवर्षपछि मात्र त्यसको प्रतिफल प्राप्त हुन सुरु हुने भएकाले पनि सरकारले उत्पादन अभियानमा जोडिएका र जोडिन चाहने सबै युवा र किसानहरूलाई उच्च प्राथमिकतामा राखेर प्रभावकारी नीतिनिर्माण गर्दै त्यसको उच्चतम व्यवस्थापन गर्न सकेको खण्डमा कर्णालीका उत्पादनहरूमा अझै वृद्धि हुने र आर्थिक स्रोतमा समेत सहज हुने देखिन्छ ।
कर्णाली प्रदेशले ल्याएका महत्वाकांक्षी आयोजनाहरूमा कृषिका विभिन्न क्षेत्रमा पनि लगानी गरेको देखिन्छ तर ती लगानीहरूको प्रभावकारिताको खोजी गर्ने कामभएको छैन । अघिल्लो सरकारले गरेको खर्चको मितव्ययिता कस्तो भयो?प्रगति के भयो ? त्यो खोजीगर्दा सरकार ढाल्ने चेतावनी दिनुपर्ने बाध्यताकिनआयो ? गल्ती ज–जसले गरेका छन्, गल्ती गर्नेलाई कारबाहीगर्ने र राम्रो काम गर्नेलाई थपप्रोत्साहन प्रदान गर्नुपर्ने अहिलेको आवश्यकता हो ।





