७५३ वटै पालिकामा स्थानीय युवा परिषद् गठन गर्न आह्वान

काठमाडौं :  नेपाल सरकार अन्तर्गत राष्ट्रिय युवा परिषद् र युवालयको आयोजनामा हालसम्म गठन भएका देशभरका स्थानीय युवा परिषद्का उपाध्यक्षहरूको प्रथम सम्मेलनले सात बुँदे ध्यानाकर्षण पत्र जारी गरेको छ । सम्मेलनले नीति निर्माणदेखि कार्यान्वयन तहसम्म युवाको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्न सर्वपक्षीय पहलका लागि आव्हान गरेको छ ।

तीनदिनसम्म चलेको सम्मेलनमा हालसम्म औपचारिक रुपमा गठन भएका देशभरका तीसवटा स्थानीय युवा परिषद्का कार्यकारी उपाध्यक्षहरूको सहभागिता थियो । राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले युवा सशक्तीकरणको लागि संघ, प्रदेश र स्थानीय तहमा समन्वय र सहकार्य वढाउन सम्मेलन आयोजना गरिएको बताए । ‘युवाहरुलाई आफ्नै देशभित्र सकारात्मक आशा र ऊर्जा बढाउन ७५३ वटै पालिकामा स्थानीय युवा परिषद्को गठन गर्नुपर्दछ,’ उनले भने ।

बस्नेतले युवा सशक्तीकरण र अर्थपूर्ण सहभागिताका लागि जहाँजहाँ कार्यकारी सरकार छ त्यहाँत्यहाँ युवाका संरचना आवश्यक रहेको वताए । युवा तथा खेलकुद मन्त्रालयका सचिव डा. हरिप्रसाद लम्सालले विद्यमान जनसांख्यिक लाभांशको सदुपयोग गर्न युवा मैत्री शासन र सशक्तीकरणमा मन्त्रालय तदरुकताका साथ लागिरहेको बताए । लम्सालले चाँडै राष्ट्रिय युवा नीति २०८१ जारी गर्न लागिएको समेत जानकारी दिए ।

सम्मेलनमा काभ्रेपलाञ्चोक जिल्ला समन्वय समितिका प्रमुख दीपक गौतमले नेपाली युवाका मुद्दा अन्तर्राष्ट्रियकरण गर्न अन्तर्राष्ट्रिय युवा महोत्सव आयोजना गर्न लागिएको वताए । गौतमले युवाका संरचना बने पनि स्रोत व्यवस्थापन हुन नसकेको जिकिर गरे । सहआयोजक युवालयका अध्यक्ष धर्मराज रिमालले युवालाई नीति निर्माण र कार्यान्वयनको केन्द्रमा राख्न आवश्यक रहेको बताए । युवा नीति र कार्यक्रमहरूमा युवाको आवाजलाई प्राथमिकता दिन सम्मेलनले सर्वपक्षीय आव्हान गरेको रिमालले बताए ।

‘युवाहरू देशको वर्तमान र भविष्य हुन् । तिनको सशक्तीकरण र अर्थपूर्ण सहभागिता नै देशको समृद्धिको आधार हो,’ उनले भने । तिनदिने सम्मेलन पश्चात् जारी गरिएको ध्यानाकर्षणपत्रमा ७५३ वटै पालिकामा स्थानीय युवा परिषद गठन गर्न आह्वान् गरिएको छ । यस्तै सम्पूर्ण राजनैतिक दलको कमिटीगत संरचनाहरूमा अनिवार्य ४० प्रतिशत युवाहरूको सहभागितालाई सुनिश्चित गर्न माग गरिएको छ ।

सम्मेलनले स्थानीय युवा परिषद् गठन भएका स्थानीय तहहरूमा युवाहरूलाई अर्थपूर्ण सहभागिता प्रवद्र्धनका लागि युवा लक्षित बजेट तथा कार्यक्रम व्यवस्था गर्न ध्यानाकर्षण गराइएको छ । राष्ट्रिय युवा नीति २०७२ ले १६ देखि ४० वर्ष उमेर समूहकालाई युवाका रुपमा परिभाषित गरेको छ । देशमा युवाको जनसंख्या १ करोड २४ लाख १२ हजार १७३ (जनसंख्याको ४२.५६ ) प्रतिशत रहेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार