जुम्ला : जुम्लाका दुई सय ३० जना भेडापालक किसानलाई गोठालो भत्ता वितरण गरिएको छ । त्यहाँका आठवटै स्थानीय तहका ५० भन्दा बढी भेडा पाल्नेकिसानलाई प्रोत्साहन बापत गोठालो भत्ता प्रदान गरिएको पशु अस्पताल तथा पशु सेवा कार्यालयका प्रमुख ज्ञानेन्द्र बुढ्थापाले जानकारी दिए ।
जिल्लाका भेडापालक किसानलाई कर्णाली प्रदेश सरकारको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयबाट चालु आर्थिक वर्षका लागि ४५ लाख प्रोत्साहन भत्ता कार्यक्रमका लागि बजेट विनियोजन गरेको थियो । मन्त्रालयको कार्यविधि अनुसार फर्म दर्ताको प्रमाणपत्रसहित करचुक्तासम्बन्धी वडाको सिफारिस, कार्यालयबाट भएको अनुगमनको आधारमा यहाँका दुई सय ३० जना भेडापालक किसानलाई१८ हजारका दरले प्रोत्साहन स्वरुप भत्ता वितरण गरिएको कार्यालय प्रमुख बुढ्थापाले बताए ।
जिल्लामा भेडा मात्र पाल्ने किसान करिब एक हजार सात सयभन्दा बढी छन् । त्यहाँका आठवटै स्थानीय तहमा ८८ हजार तीन सयभन्दा धेरै भेडा पालिएका छन् । प्रोत्साहन भत्ता बापत १८ हजार पाएपछि थप भेडापालनमा टेवा पुगेको छ ।आर्थिक अभावले व्यवसायलाई असर परेको थियो ।
सरकारले भेडापालक किसानका लागि भनेर आर्थिक सहयोग दिन थालेपछि थप व्यवसाय गर्न सहज भएको किसान सिँजा गाउँपालिका–६ का भेडापालकसुवा रावतको भनाइ छ । सबैभन्दा बढी तातोपानी गाउँपालिकाका किसानले भेडा पालेको पशु अस्पताल तथा पशु सेवा कार्यालय जुम्लाले जनाएको छ ।










