सुर्खेत : स्थानीय तहमा नियम विपरीत बजेट खर्च गर्ने परिपाटिका कारण बेरुजु रकम बर्सेनि बढ्दै गएको पाइएको छ । स्थानीय सरकार सञ्चालन यता कालिकोटका नौ वटा स्थानीय तहमा मात्र दुई अर्ब बढि बेरुजू रहेको उल्लेख छ । स्थानीय सरकार सञ्चालनमा पुगेका जनप्रतिनिधि र अन्य पदाधिकारीले नियमको बर्खिलाप गई रकम खर्चिने गरेकाले गाउँका सरकारमा बेरुजु रकम बर्सेनि थपिँदै गएको हो ।
नौ वटा स्थानीय तह रहेको कालिकोटको महाबै गाउँपालिकामा एक वर्षको अवधिमा ३ करोड ८७ लाख ९४ हजार बेरुजु थपिएको छ । ६८ करोड १० लाख १४ हजारको लेखापरीक्षण गर्दा महाबैमा असुल गर्नुपर्ने ६९ लाख ८१ हजार, प्रमाण कागजात पेस गर्नुपर्ने २ करोड ४३ लाख ६५ हजार, नियमित गर्नुपर्ने ४५ लाख ५४ हजार र पेस्की बाँकी २८ लाख ९४ हजार बेरुजु थपिएको हो ।
महाबै गाउँपालिकामा आर्थिक वर्ष २०७९÷०८० सम्म १९ करोड ६१ लाख २१ हजार बेरुजू रहेको थियो । स्थानीय सरकार सञ्चालन पछि आर्थिक वर्ष २०८०÷०८१ सम्म महाबै गाउँपालिकामा २३ करोड ४९ लाख १५ हजार अद्यावधिक बेरुजु रहेको महालेखाको प्रतिवेदनमा उल्लेख गरिएको छ । निर्माण गरिएका ऐन, नियमको पालना गर्दै सम्बन्धित निकायले आर्थिक कारोबार गर्न महालेखाले सचेत गराएको छ ।
कालिकोटको शुभ कालीका गाउँपालिकामा समेत बेरुजूको अवस्था भयावह देखिन्छ । उक्त गाउँपालिकामा एक वर्षको अवधिमा पाँच करोड बढी बेरुजू थपिएको छ । ९८ करोड ८० लाख ७५ हजारको लेखापरीक्षण गर्दा शुभ कालिकामा एक वर्षको अवधिमा पाँच करोड ४३ लाख २५ हजार बेरुजू थपिएको महालेखाको प्रतिवेदनमा उल्ले छ । शुभ कालिकामा प्रतिक्रियाबाट २ करोड १० लाख २८ हजार फस्र्योट गरिएको थियो ।
शुभ कालिकामा बाँकी रहेको ३ करोड ३२ लाख ९७ हजारमध्ये असुल गर्नुपर्ने १३ लाख ३६ हजार, प्रमाण कागजात पेस गर्नुपर्ने १ करोड १३ लाख ९७ हजार, नियमित गर्नुपर्ने १ करोड ९३ लाख १४ हजार र पेस्की बाँकी १२ लाख ५० हजार रहेको छ । आर्थिक वर्ष २०७९÷०८० सम्म १७ करोड ७९ लाख ८९ हजार बेरुजू बाँकी रहेको शुभ कालिकामा आर्थिक वर्ष २०८०÷०८१ सम्म अद्यावधिक बेरुजू २१ करोड १२ लाख ७१ हजार पुगेको हो ।
नरहरिनाथ गाउँपालिकामा एक वर्षको थपिएको बेरुजूमध्ये असुल गर्नुपर्ने १३ लाख ३८ हजार, प्रमाण कागजात पेस गर्नुपर्ने ५६ लाख ५९ हजार, नियमित गर्नुपर्ने ९७ लाख ५३ हजार र पेस्की बाँकी १० लाख ३६ हजार रहेको छ । आर्थिक वर्ष २०७९÷०८० सम्म नरहरिनाथमा १७ करोड ६० लाख ६ हजार बेरुजू रहेको थियो । उक्त गाउँपालिकामा आर्थिक वर्ष २०८०÷०८१ सम्म अद्यावधिक बेरुजू १९ करोड ३७ लाख ९२ हजार पुगेको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।
सान्नी त्रिवेणी गाउँपालिकामा ९३ करोड ६७ लाख ३६ हजारको लेखापरीक्षण गरिएकोमा दुई करोड ६८ लाख २४ हजार बेरुजू देखिएको महालेखाको प्रतिवेदनमा उल्लेख छ । उक्त गाउँपालिकामा प्रतिक्रियाबाट फस्र्योट नभई बाँकी बेरुजुमध्ये असुल गर्नुपर्ने २५ लाख ९३ हजार, प्रमाण कागजात पेस गर्नुपर्ने ९५ लाख ७० हजार, नियमित गर्नुपर्ने १ करोड ३१ लाख ४२ हजार र पेस्की बाँकी १५ लाख १९ हजार रहेको छ ।
आर्थिक वर्ष २०७९÷०८० सम्म २८ करोड ९९ लाख ६८ हजार बेरुजू बाँकी रहेकोमा आर्थिक वर्ष २०८०÷०८१ सम्म तीस लाख ८७ हजार फस्र्योट र १७ लाख ४६ हजार सम्परीक्षणबाट थप भई अद्यावधिक बेरुजू ३१ करोड ५४ लाख ५१ हजार पुगेको हो । महालेखाको प्रतिवेदन हेर्दा स्थानीय सरकारले मनलाग्दी तवरले बजेट खर्च गर्ने प्रचलन बढ्दो देखिन्छ ।
कालिकोटको पचालझरना गाउँपालिकामा ८४ करोड १३ लाख २४ हजारको लेखापरीक्षण गर्दा १ करोड १५ लाख ७० हजार बेरुजू देखिएको थियो । प्रतिक्रियाबाट फस्र्योट नभई बाँकी बेरुजुमध्ये असुल गर्नुपर्ने ७ लाख ९५ हजार, प्रमाण कागजात पेस गर्नुपर्ने ७० लाख ५१ हजार र नियमित गर्नुपर्ने ३७ लाख २४ हजार रहेको छ । आर्थिक वर्ष २०७९÷०८० सम्म २० करोड १५ लाख ८८ हजार बेरुजू रहेको उक्त गाउँपालिकामा २०८०÷०८१ सम्म अद्यावधिक बेरुजू २१ करोड ३१ लाख ५८ हजार रहेको हो ।
तिलागुफा नगरपालिकामा १ अर्ब १० करोड ४८ लाख ८६ हजारको लेखापरीक्षण गरिएकोमा १ करोड ६३ लाख ४५ हजार बेरुजू देखिएको महालेखाको प्रतिवेदनमा उल्लेख गरिएको छ । प्रतिक्रियाबाट ४ लाख ७९ हजार फस्र्योट भई बाँकी बेरुजू १ करोड ५८ लाख ६६ हजार मध्ये असुल गर्नुपर्ने ११ लाख ६९ हजार, प्रमाण कागजात पेस गर्नुपर्ने ४३ लाख २२ हजार, नियमित गर्नुपर्ने ८३ लाख ६५ हजार र पेस्की बाँकी २० लाख १० हजार रहेको छ । तिलागुफामा आर्थिक वर्ष २०७९÷०८० सम्म ११ करोड ८३ लाख ६३ हजार बेरुजू रहेको थियो । आर्थिक वर्ष २०८०÷०८१ सम्म उक्त नगरपालिकामा अद्यावधिक बेरुजू १३ करोड २७ लाख ८ हजार पुगेको छ ।
रास्कोट नगरपालिकामा १ अर्ब १५ करोड ७४ लाख ७८ हजारको लेखापरीक्षण गरिएकोमा २ करोड ६ लाख ८० हजार बेरुजू देखिएको छ । प्रतिक्रिया प्राप्त नभई बाँकी बेरुजुमध्ये असुल गर्नुपर्ने २३ लाख ४५ हजार, प्रमाण कागजात पेस गर्नुपर्ने १ करोड ५१ लाख ७२ हजार, नियमित गर्नुपर्ने १४ लाख १३ हजार र पेस्की बाँकी १७ लाख ५१ हजार रहेको छ । उक्त नगरपालिकामा आर्थिक वर्ष २०७९÷०८० सम्म १९ करोड ३८ लाख ३६ हजार बेरुजू रहेकोमा आर्थिक वर्ष २०८०÷०८१ सम्म अद्यावधिक बेरुजू २१ करोड ४५ लाख १७ हजार रहेको पुगेको छ ।
खाँडाचक्र नगरपालिकामा १ अर्ब १८ करोड ५५ लाख ४ हजारको लेखापरीक्षण गर्दा पाँच करोड ३३ लाख ७१ हजार बेरुजू देखिएको छ । प्रतिक्रियाबाट बेरुजू फस्र्योट नभई बाँकी बेरुजु मध्ये असुल गर्नुपर्ने ७५ लाख ४२ हजार, प्रमाण कागजात पेस गर्नुपर्ने २ करोड ४६ लाख ३५ हजार, नियमित गर्नुपर्ने १ करोड १२ लाख १३ हजार र पेस्की बाँकी ९९ लाख ८१ हजार रहेको छ । आर्थिक वर्ष २०७९÷०८० सम्म २१ करोड ८१ लाख ९३ हजार बेरुजू बाँकी रहेकोमा आर्थिक वर्ष २०८०÷०८१ सम्म उक्त नगरपालिकामा अद्यावधिक २७ करोड १२ लाख ५८ हजार रहेको छ ।
पलाँता गाउँपालिकामा १ अर्ब २ करोड ३९ लाख ८९ हजारको लेखापरीक्षण गरिएकोमा एक करोड १२ लाख ३७ हजार बेरुजू देखिएको छ । प्रतिक्रिया प्राप्त नभई बाँकी बेरुजुमध्ये असुल गर्नुपर्ने ३६ लाख ४५ हजार, प्रमाण कागजात पेस गर्नुपर्ने ५३ लाख ३४ हजार, नियमित गर्नुपर्ने २० लाख २८ हजार र पेस्की बाँकी २ लाख ३० हजार रहेको छ । आर्थिक वर्ष २०७९÷०८० सम्म ३० करोड १३ लाख १९ हजार बेरुजू रहेकोमा आर्थिक वर्ष २०८०÷०८१ सम्म पलाँतामा अद्यावधिक बेरुजू ३१ करोड २४ लाख ७५ हजार पुगेको हो ।










