सरकारको प्रमुख प्राथमिकतामा परेको जमुनाहा–नेपालगन्ज–सुर्खेत–दैलेख सदरमुकाम–महावु– जुम्ला– मुगु–हुम्लाहुँदै चीनको नाम्चेनाग्ला जोड्ने सडक अन्तर्गत महावु खण्ड निर्माण कम्पनी र संघीय सरकार दुवैको लापरबाहीले हालसम्म अस्तव्यस्त छ । सरकारले निकै महत्वका साथ अगाडी सारेको त्रिदेशीय सडक अन्तर्गत दैलेखदेखि महावुसम्मको ४० किलोमिटर सडक क्षेत्रमा निर्माणको जिम्मेवारी लिएकानिर्माण कम्पनीहरूले चरम लापरबाही गरेका छन् ।
२०७७मा ठेक्का सम्झौता गरेका केहीकम्पनीहरूको अहिले ठेक्कातोडिएको छ ।केहीले कछुवाकै गतिमा भए पनि काम गरेका छन् । गतवर्ष सडक स्तरोन्नतिका लागि जिम्मा लिएका कम्पनीहरू मध्ये सिरुपाते निर्माण कम्पनीले जिम्मा लिएको भवानी गेटदेखि घोडामर्चेसम्मको तीन वटा प्याकेजको १६ किलोमिटर सडक खण्डको काम सम्पन्न भएर एक वर्षको अवधि सकिएको छ । यी खण्डमा संघीय सरकारले कालोपत्रेका लागि रकम विनियोजन गरिदिनुपर्ने थियो तर यो वर्षको बजेटमा महावु खण्डमा रकम विनियोजन हुन सकेको छैन ।
कहिले निर्माण कम्पनीको चरम लापरबाही त कहिले सरकारले वेवास्ता गर्दै आएको यो खण्डमा रकम विनियोजन नभएकै कारण दैलेखका सांसद अमरबहादुर थापाले सांसदमै रातो किताब समेत च्यातेका छन् । दैलेखी जनताको भविष्य निर्माण गर्ने महत्वपूर्ण सडकमध्ये त्रिदेशीय सडकको महावु खण्ड मात्रै सञ्चालनमा आउन सके हालको कर्णाली राजमार्गको वैकल्पिकमार्गका रूपमा यो सडक विस्तार हुने सांसद थापा बताउँछन् । ‘मैले मेरो निर्वाचन क्षेत्रका जनतासँग यो सडक जसरी पनि निर्माणको काम र केन्द्र सरकारसँग बजेटको माग गर्छु भनेको थिएँ । केन्द्र सरकारले यसपालि बजेट दिएन, मन्त्रीहरूले आफ्ना क्षेत्रमा मात्रै बजेट खन्याए पछि मैले सांसदमै रातो किताब च्यात्न बाध्य भएँ, म महावु सडकको विषयमा बारम्बार लडिरहेको छु,’ उनले भने ।
तीन करोड असुल सहित काश्यप निर्माणको ठेक्का तोडियो
२०७७ देखि महावु सडक निर्माणको जिम्मेवारी लिएका विभिन्न ७ वटा निर्माण कम्पनीका ७ वटा खण्ड मध्ये तीन वटा कम्पनीले काम सम्पन्न गरेका छन् । अन्यकम्पनीले काम समयमै सम्पन्न नगरेका कारण सडक अस्तव्यस्त छ । सडक अस्तव्यस्त भएकै कारण निकै महत्वपूर्ण धार्मिक स्थलमहावु धाम समेत ओझेलमा परेको छ । दैलेख सदरमुकामको सुरुवात बिन्दु पहिलो खण्ड काँडाचौरदेखि भैसेखोरसम्मको सडक विस्तारका लागि प्रतिनीधिसभाका पूर्व सांसद रबिन्द्रराज शर्माले आफ्नो निर्वाचन क्षेत्र विकासको ६ करोड रकम सडक निर्माणमा लगाए ।नारायण नगरपालिकाले ठेक्काखोल्यो तर निर्माण कम्पनीले काम गरेनन् ।
दोस्रो खण्ड खुर्सानीबारीदेखि माथि १ किमी र भैसिखोर अगाडीको १ किलोमिटर खण्डमा कालोपत्रे भइसकेको छ । भैसोखोरदेखि भवानी गेटसम्म ५ किलोमिटर क्षेत्र कालोपत्रेका लागि कामको जिम्मा लिएको कश्यप निर्माण एण्ड सप्लायर्सले काम सम्पन्ननगरेपछि निर्माण कम्पनीलाई ३ करोड जरिवाना सहित ठेक्का तोडिएको सुर्खेत सडक डिभिजनका इन्जिनियर रुपेस केसीले जानकारी दिएका छन् ।
२०७९ चैत्रसम्म कालोपत्रे सक्नुपर्ने गरी ५ करोड ५८ लाखमा उक्त ठेक्का सम्झौता भएको भए पनि काम सम्पन्नन भएको र बारम्बार निर्माण कम्पनीलाई ताकेतागर्दा पनि सुनुवाइ नभएपछि जमानतमा राखिएको करिब १ करोड ५० लाख धरौटी रकम जफत गरेर ठेक्का तोडिएको र कालोसूचीका लागि अगाडी बढाइएको केसीले जानकारी दिएका छन् ।
भवानी गेटदेखि ओखर बाससम्मका विभिन्न ३ खण्डमा तिरुपाते लालसुभम मेनरो जेभिले लिएको काम सकिएको छ । संघीय सरकारले बजेट विनियोजन गरिदिएको भए यो स्थानमा कालोपत्रेको काम सुरु हुने थियो तर सरकारले यो वर्ष विनियोजन गरेको ३ करोड २५ लाख रकमले पुरानै ठेक्काको कामको भुक्तानी दिन नपुग्ने अवस्था छ ।
पहुँचका भरमा खरिद ऐन संशोधन
कामचोर ठेकेदारलाई मालामाल
विभिन्नखाले निर्माणको जिम्मा लिएका निर्माण कम्पनीहरूको साँठगाँठमा हरेक आर्थिक वर्षमाखरिद ऐन संशोधन हुने गर्दछ । पहुँचका भरमाहुने खरिद ऐन संशोधनले कामचोर ठेकेदारहरूलाई मालामाल हुने गरेको छ भने जनताका समस्या ज्युँकात्युँ छन् । महावु सडक खण्डको ओखरबासदेखि उनपाटासम्म सडकको जिम्मालिएको काष्ठमण्डप एन एस बिल्डर्स जेबीले तोकिएको समयमा काम सकेको छैन् । संघीय सरकारले हरेक वर्ष गर्ने खरिद ऐन संशोधनले कामचोर ठेकेदारलाई भने मालामाल हुँदै आएको छ ।
यस खण्डमा पनिकामको प्रगति नभएपछि ठेक्का तोड्ने अवस्थामा सडक डिभिजन कार्यालय पुगेको थियो । तर,खरिद ऐन १४ औँ संशोधनले पुनःनिर्माण कम्पनीको म्यादथपभएको छ । आर्थिक वर्ष २०७७÷०७८ देखि दुई वटा खण्डको कामलिएका निर्माण कम्पनीहरूले एक वर्षमा काम सक्ने सम्झौता थियो । तर,अहिलेसम्म काम सकेको अवस्था छैन । उनिपाटा देखि महावुसम्म कामको जिम्मा लिएको आजीवन जिटीएनएस जे.भि.सुर्खेतले लिएको काम अहिले पनि सन्तोषजनक छैन । खरिद ऐन संशोधनले पुनःउनीहरूको म्याद थपको बाटो खुलेको छ ।
यो वर्षको महावु धामयात्रा पनि असहज
महावु क्षेत्र यसैपनि रमणीय पाटन क्षेत्र हो । यस क्षेत्रमा बाह्रै महिना पर्यटकहरूको आवागमन हुन सक्ने सम्भावना छ । यो सँगै हरेक वर्षको जनै पूर्णिमाको अघिल्लो दिन ढुङ्गाबाट शिला प्रकट भएको महावु क्षेत्रमा हजारौँ यात्रुहरूले पूजापाठ गर्न जाने प्रचलन सदियौँदेखि चलिआएको छ । यो क्षेत्रलाई सरकारले फिल्म छायाङ्कनको क्षेत्रका रूपमा पनि राखेको छ । सरकारका एक सय गन्तव्यमा परेको यो क्षेत्रमा तराईमागर्मी हुँदा चिसो छल्नका लागिपनि रमणिय क्षेत्रको रूपमा विस्तार हुने सम्भावना छ । सडक बिस्तारमा देखिएको लापरबाहीका कारण यो वर्षपनि दैलेख सदरमुकाम भएर महावुधाम जाने तिर्थयात्रीहरुको यात्रामा केहीअसहजता हुने पक्का पक्की भएको छ ।
विगतका वर्षमा दैलेखदेखि महावुको दमौडासम्म यातायातका साधनहरु सहजै पुग्ने गरेको भए पनि गतबर्ष देखि ओखर वास देखि माथिको सडक खण्डमा ठुलो पहिरो जान थालेपछि यात्रामा केही असहजता देखिएको छ । ओखर वासबाट पैदलयात्रा गरेर महावु धाम जानुपर्ने अवस्था देखिएको छ । एउटा मात्र वर मागेपछि पुरा हुने विश्वास गरिएको महावु धाममा पूजापाठ गर्नकालागि काठमाडौँ, भारतका विभिन्न स्थान, नेपालगन्ज, सुर्खेत, दैलेख, अछाम, कालिकोट, जुम्ला, हुम्ला सम्मका धार्मिक पर्यटकहरू आउने गर्दछन् ।
प्रमुख जिल्ला अधिकारी सहित तीन पालिका प्रमुखको बैठक
महावु धामको सहजयात्रा र अन्य सुरक्षाका लागि दैलेखका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरे, महावु गाउँपालिकाका अध्यक्ष जङ्ग बहादुर शाही, नौमूले गाउँपालिकाका अध्यक्ष छविराम सुवेदी, नारायण नगरपालिकाका कार्यवाहक नगरप्रमुख रेशम थापा सहित जिल्लाका राजनीतिकदलहरूको बैठक सोमबार सम्पन्न एको छ । महावु धाम पुग्ने यात्रा सहजताका लागि तीन वटा पालिका र निर्माण कम्पनीको डोजर प्रयोग गर्नेबारेमा छलफल भएको छ ।
पहिरो निकै ठुलो भएकोले सडक सुचारु गर्ने अधिकतम प्रयास गरिने प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेले जानकारी दिएका छन् । मेलाभर्न गएका यात्रुहरूको वास व्यवस्थापनका लागि कालीकोटको महावै गाउँपालिका र दैलेखको महावु गाउँपालिकालाई जिम्मेवारी तोकिएको छ । तिर्थयात्रीहरुको सुरक्षाका लागि तीन वटै सुरक्षा बल परिचालन गरिने भएको छ । सबै पालिकाका स्वास्थ्यकर्मीहरू र जिल्ला स्वास्थ्य कार्यालयको टोली परिचालन गर्ने लगायतका विषयमा छलफल भएको छ ।










