नेपालमा जेन–जी पुस्ताले हालैमात्र भ्रष्टाचार नियन्त्रण लगायतका मागहरु राखेर आन्दोलन गरे । त्यो आन्दोलनले मुलुकको राजनीतिक र आर्थिक परिवेशमा गम्भीर प्रभाव पारेको छ । युवापुस्ताले उठाएका मुद्दा र असन्तुष्टिलाई सम्बोधन गर्न राज्य असफल देखिएको भन्दै सडकमा उत्रिएका आन्दोलनकारीहरूले संघीय राजधानी काठमाडौं, प्रदेश राजधानीसहित विभिन्न ठूला शहरमा प्रदर्शन गरे । तर प्रदर्शनकै क्रममा आक्रोश नियन्त्रण गर्न नसक्दा उनीहरूले ऐतिहासिक सम्पदा, सरकारी निकायका भौतिक संरचना र सार्वजनिक सम्पत्तिहरूमा ठूलो क्षति पु¥याए । सम्पदामा भएको क्षतिको असर केवल तत्कालीन मात्र नभई दीर्घकालीन रूपमा नेपालको पर्यटन उद्योगमा देखिने सम्भावना देखिन्छ । नेपाल पर्यटकीय आकर्षणका लागि विश्वप्रसिद्ध मुलुक हो । तर सम्पदाको नोक्सानीले यस छविमा नकारात्मक प्रभाव पार्ने जोखिम उत्तिकै देखिएको छ ।
सरकारी कार्यालय, कार्यालयमा रहेका सरसामान, सवारी साधनमा भएको क्षतिले राज्यको स्रोत र साधनमा अतिरिक्त दबाब सिर्जना गरेको छ । यस्ता गतिविधिले मुलुकमा हुने आर्थिक गतिविधि अवरुद्ध भएको मात्र होइन, विदेशी लगानीकर्ताको विश्वास पनि डगमगाउने सम्भावना उत्तिकै देखिन्छ । लगानीकर्ताले सुरक्षित र स्थिर वातावरण खोज्ने गर्छन्, तर बारम्बार हुने आन्दोलन र त्यसमा सम्पत्तिको नोक्सानीले नेपाललाई जोखिमपूर्ण बजारको रूपमा प्रस्तुत गरिदिएको छ । यसले प्रत्यक्ष वैदेशिक लगानी प्रवाहमा गिरावट ल्याउने खतरा छ । जुन नेपालको समग्र अर्थतन्त्र विकासका लागि नकारात्मक संकेत हो । आन्दोलनकै क्रममा व्यक्तिगत सम्पपतिमा पनि ठूलो क्षति पुगेको छ । एक हिसावले हेर्ने हो भने जेन–जी आन्दोलनकारीले नेपालमा विध्वंस नै मच्चाए भन्दा फरक नपर्ला । वर्तमान अवस्थामा नेपालका लागि आन्दोलनका क्रममा भएका क्षतिको पुर्ननिर्माण, जनअपेक्षा अनुसारको विकास पूर्वाधार निर्माण, रोजगारी सृजना र आर्थिक सुधारमा काम गर्नुपर्ने अवस्था देखिएको छ । हुन त् आन्दोलनको बलमा बनेको अन्तरिम सरकारको मुख्य कार्यभार भनेकै निर्वाचन हो । तर, यो सरकारसँग जनअपेक्षा पनि बढी भएको हुँदा पनि निर्वाचन बाहेकका कार्यहरु पनि उत्तिकै तदारुकताका साथ अगाडी बढाउनुपर्ने दायित्व रहेको छ ।
अब चर्चा गरौँ, आर्थिक विकासको सवाल । नेपालको आर्थिक विकासका लागि लगानीमैत्री वातावरण र राजनीतिक स्थिरता अपरिहार्य हुन्छ । राजनीतिक अस्थिरता, सुशासनको कमी र कानूनी अस्पष्टताले नेपालमा लगानी गर्न चाहनेहरूलाई निरुत्साहित बनाइरहेको छ । हालको आन्दोलनले यी चुनौतीहरूलाई अझ प्रष्टसँग सतहमा ल्याइदिएको छ । यदि राज्यले युवापुस्ताको असन्तुष्टि सम्बोधन नगरेमा असुरक्षा र अस्थिरताको वातावरण दीर्घकालीन हुने देखिन्छ । अब युवाहरूको ऊर्जा र क्षमतालाई नष्ट गर्ने होइन, उत्पादक क्षेत्रमा लगाउन सकिने खालको नीति बनाउन जरुरी छ । रोजगारी सिर्जना, सीप विकास, उद्यमशीलता प्रवद्र्धन र सहभागी शासनमार्फत मात्र उनीहरूको आक्रोशलाई सकारात्मक दिशामा मोड्न सकिन्छ । साथै, ऐतिहासिक सम्पदा र सार्वजनिक संरचनाको सुरक्षा गर्न नागरिक सचेतना बढाउन उत्तिकै आवश्यक छ । नेपालको आर्थिक विकासका प्रमुख आधार भनेको, पर्यटन, कृषि, ऊर्जा र सेवा क्षेत्र । यी तीन क्षेत्रलाई अगाडि बढाउन स्थिर राजनीतिक वातावरण, पारदर्शी प्रशासन र लगानीमैत्री नीति अपरिहार्य छन् । अब मुलुकको विकास र समृद्धिका लागि सरकार र आम नागरिकहरुको सहकार्यमा उद्योग कलकारखाना सञ्चालन, स्थानीय स्तरमै रोजगारी सृजना अनी वैदेशिक लगानीमैत्री वातावरण बनाउनु जरुरी देखिन्छ । यसतर्फ सबैको बेलैमा ध्यान जानुपर्छ ।





