दैलेख : व्यवस्थित लाइबेरी र कम्प्युटर कक्षा विद्यालयको आँगन धुलो मुक्त । बालमैत्री शौचालय र पानीका धारा । विद्यालयको क्षेत्र वरपर तरकारी खेती । शिक्षक विद्यार्थीबीच मिठो बोलीमा कुराकानी । सबै कक्षाकोठा र विद्यालय भवनका भित्तामा टाँसिएका सन्देशमूलक विभिन्न सामग्री । चामुण्डाविन्द्रासैनि नगरपालिका–१ स्थित हिमालय माध्यमिक विद्यालय चिनाउने माध्यम हुन यी व्यवस्थित संरचना ।
जिल्लाका केही सामुदायिक विद्यालयले भौतिक संरचनाको अभाव खेप्दै आएका वेला हिमालय माध्यमिक विद्यालयमा सरकारी निकायसँगको साझेदारीमा विभिन्न सामाजिक सस्ताहरूले आवश्यक भौतिक संरचना निर्माण गरी विद्यालयलाई नमुनाका रूपमा अघि बढाइएको छ । केही वर्ष अघिसम्म पिउने पानीको जोहोमा टाढासम्म धाउनुपर्ने बाध्यता रहेको उत् विद्यालयका विध्यार्थीले हाल चौबीसै घण्टा अपाङ्गमैत्री संरचनाबाट सहज पिउने पानीको उपभोग गर्न पाएका छन् ।
विद्यालय प्रशासनले आफ्ना विद्यार्थीको स्वास्थ्यमा विशेष ध्यान दिने गरेको छ । विद्यालयले दिवा खाजा, विद्यार्थीको व्यक्तिगत र विद्यालय परिसरको सरसफाइमा जोड दिइने गरिएको हो । कक्षा कोठा अनुसार पानी शुद्धीकरण गर्न फिल्टर राखिएको छ । ‘विद्यार्थी–शिक्षक स्वस्थ नहुन्जेल शैक्षिक क्रियाकलाप प्रभावकारी हुँदैनन् ।’ प्रधानाध्यापक हर्कबहादुर विकले भने, ‘सबैको सहयोगमा विद्यालय राम्रो बनाउन मद्दत पुगेको छ ।’, विद्यालयमा बालबालिकासहित हाल तीन सय ७१ जना विद्यार्थी अध्ययनरत छन् ।
२०७८ पछि हिमालयले नमुना विद्यालयको उपमा पाएको हो । चार वर्ष अघिसम्म भौतिक संरचनाको अभावमा एकै कोठामा दुई वटा कक्षा सञ्चालन गर्नुपर्ने बाध्यता थियो । खानेपानीको प्यास मेट्न बालबालिका एक घण्टा दुरीमा कुवामा जानुपर्ने अवस्थाको अन्त्य भएको छ । भौतिक संरचना निर्माण पछि बालबालिकालाई मौसम हेरेर घर पठाउनुपर्ने समस्या हटेको प्रधानाध्यापक विकले बताए । उनले भने, ‘पहिलेको भन्दा विद्यालयको अवस्थामा निकै सुधार आएको छ । भौतिक संरचना निर्माण पछि बालबालिकालाई मौसम हेरेर घर पठाउनुपर्ने समस्या हटेको छ ।,’
हालका वर्षमा विद्यालयमा विज्ञान प्रयोगशाला, आइसिटी, पुस्तकालय र किशोर किशोरीमैत्री कक्षा सञ्चालनमा रहेका छन् । विद्यालयले अभिभावकसँग जोडिन हेलो अभिभावक कार्यक्रम समेत सञ्चालनमा ल्याएको छ । विगतका वर्षदेखि जलवायु सम्बन्धी विभिन्न अतिरिक्त क्रियाकलाप समेत विद्यालयमा सञ्चालन हुँदै आएका प्रधानाध्यापक विकले बताए । जलवायु सम्बन्धी ज्ञान विद्यार्थी मार्फत अभिभावकसम्म पु¥याउने उद्देश्यले यस्ता अतिरिक्त क्रियाकलाप सञ्चालनमा ल्याइएको हो ।
स्थानीय सरकार र सोसेक नेपाल दैलेख अन्तर्गत सञ्चालित सहयात्रा तेस्रो परियोजनाको साझेदारीमा विद्यालयको भवन मर्मत, खानेपानी निर्माण, शिक्षकलाई तालिमसँगै बाल विकास कक्षा सञ्चालन सामग्री विद्यालयले प्राप्त गरेको छ । नगरपालिका र सहयात्रा तेस्रो परियोजनाको तीन लाख ८० हजार एक सय ४२ रुपैयाँको लागतका खानेपानी पुनर्निर्माण गरिएको हो । परियोजनाको सहयोगमा निर्माण भएको खानेपानीले बालबालिकालाई सहजता भएको प्रधानाध्यापक विकले बताए ।
विद्यालयमा हाल अध्ययन गरीरहेकामध्ये दलित भनिने जातिका बालबालिकाको सङ्ख्या धेरै रहेको छ । तीन सय ७१ विद्यार्थीमा ६३ प्रतिशत विद्यार्थी दलित भनिने समुदायका रहेको प्रधानाध्यापक विकले जनाए । विद्यालयमा ३० प्रतिशत जनजाति र ५ प्रतिशत अन्य समुदायका बालबालिका अध्ययनरत छन् । विद्यालयले जन्मदिन कोष निर्माण गरी कोषमा जम्मा भएको पैसा बालबालिकाको शैक्षिक क्षेत्रमा लगानी गर्ने गरेको छ । शिक्षकको जन्मदिनमा उत् कोषलाई बढवा दिँदै आइएको हो ।
यस्तै, सोही नगरपालिका–१ चापागाउँमा रहेको आनन्द माध्यमिक विद्यालयमा नगरपालिका र सहयात्रा तेस्रो परियोजनाको साझेदारीमा अपाङ्गमैत्री, बालमैत्री र किशोर किशोरीमैत्री शौचालय निर्माण गरिएको छ । नगरपालिका र परियोजनाको एघार लाख ८६ रुपैयाँको लागतमा शौचालय निर्माण पछि शौचालयको समस्या हटेको विद्यालयका प्रधानाध्यापक नगेन्द्र कुमार ज्ञावलिले बताए । ‘पहिले शौचालय नहुँदा निकै समस्या थियो । विद्यार्थी शिक्षक शौचालय प्रयोगका लागि लाइन बस्नुपर्ने अवस्थाको अन्त्य भएको छ ।,’ प्रधानाध्यापक ज्ञवलिले भने ।
सहयात्रा परियोजनाको आर्थिक सहयोगमा विद्यालय भवन पुनर्निर्माण, रेलिङ निर्माणसँगै बगैँचा निर्माण सामग्री प्राप्त भएको प्रधानाध्यापक ज्ञवलिले जनाए । परियोजनाको सहयोगमा कक्षा १ देखि ३ कक्षा सम्मको शिक्षक निर्देशिका र पाठ्यक्रम निर्माण गरिएको छ । प्रधानाध्यापक ज्ञावलिले भने, ‘सहयात्रा परियोजना र नगरपालिकाको साझेदारीमा विद्यालयमा अति आवश्यक संरचना निर्माण भएका छन् । यसले विद्यार्थीको पठनपाठनमा सहजता थपेको छ ।,’ उत् विद्यालयमा हाल तीन सय ९८ जना विद्यार्थी अध्ययनरत रहेका जनाइएको छ ।









