दैलेख : सुलभ शुल्कमा प्राविधिक शिक्षा अध्ययन गराउने भन्दै दुल्लु नगरपालिका–८ मा पञ्चकोशी बहु प्राविधिक शिक्षालय सञ्चालनमा आएको छ वर्ष पुग्यो । पहाडका विद्यार्थीलाई स्थानीय स्तरमा प्रभावकारी प्राविधिक शिक्षा प्रदान गर्ने उद्देश्यले २०७६ असोजदेखि सञ्चालनमा रहेको पाँच वटा धारको सम्बन्धन प्राप्त उत् शिक्षालयमा हाल दुई धार सिभिल इन्जिनियरिङ र प्रिडिप्लोमा औद्योगिकतर्फ मात्र विद्यार्थी अध्ययनरत छन् ।
शैक्षिक सत्र २०८२ मा पञ्चकोशी बहु प्राविधिक शिक्षालयमा सिभिल इन्जिनियरिङमा ३१ जना र प्रिडिप्लोमा औद्योगिकमा ३० जना विद्यार्थी अध्ययनरत रहेका हुन् । तीन वर्षे सिभिल इन्जिनियरिङतर्फ ४८ जनाको सम्बन्धन रहेकोमा ३१ जना विद्यार्थी मात्र अध्ययनरत रहनुले यहाँका प्राविधिक शिक्षालयमा विद्यार्थी भर्ना अवस्थालाई दर्साउँछ । दुई चरणमा (सिटिइभिटी)बाट पाँच धारको सम्बन्धन रहेको शिक्षालयमा अन्य तीन वटा धारमा विद्यार्थी भर्ना दर शून्य रहेको हो ।
(सिटिइभिटी) सम्बन्धन प्राप्त दुल्लु नगरपालिकाद्वारा सञ्चालित प्राविधिक शिक्षालयले २०७७ मंसिरबाट डिप्लोमा तह कम्प्युटर इन्जिनियरिङ, भेटेरिनरी र फरेष्टि अध्ययनको सम्बन्धन प्राप्त ग¥यो । २०८० पुसमा दुई वर्षे प्रिडिप्लोमा औद्योगिकतर्फको अध्यापन सम्बन्धन पाएको बहु प्राविधिक शिक्षालयमा हाल डिप्लोमा सिभिल इन्जिनियरिङ र प्रिडिप्लोमा औद्योगिक धारतर्फका विद्यार्थी समेत न्यून छन् ।
प्राविधिक धारतर्फका पाँच विषय अध्ययन सम्बन्ध पाएको पञ्चकोशी बहु प्राविधिक शिक्षालयमा २०८२ मा डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ, भेटेरिनरी र फरेष्टि अध्ययन गर्नेको संख्या शून्य छ । उत् शिक्षालयमा कम्प्युटर इन्जिनियरिङमा ४८ जना, भेटेनरीमा ४० र फरेष्टिमा ४० जनाको सम्बन्धन हो । तर, शिक्षालयमा प्राविधिक धारतर्फ विद्यार्थीको आकर्षण नहुँदा तीन वटा विषयमा भर्ना दर शून्य रहेको हो ।
विद्यार्थीले परिवारबाट खुल्ला रहने चाहनाले अध्ययनका लागि जिल्ला बाहिर जाने परिपाटिले स्थानीय स्तरका प्राविधिक शिक्षालयमा विद्यार्थी भर्ना हुन हुने संख्या न्यून रहेको उत् शिक्षालयका निमित्त शिक्षालय प्रमुख खेम सुन्दर गरीले बताए । पञ्चकोशी प्राविधिक शिक्षालयमा दुई जना स्थायी र पन्ध्र जना अस्थायी गरी १७ जना शिक्षक छन् । विद्यार्थी भर्नाका आधारमा अस्थायी शिक्षकलाई उपयोग गर्ने गरिएको निमित्त शिक्षालय प्रमुख गरीले जनाए ।
बालिविज्ञानतर्फ दक्ष जनशक्ति तयार गर्ने उद्देश्यले यहाँको नारायण नगरपालिका–७ मा रहेको वसन्त माध्यमिक विद्यालयमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) अन्तर्गत रहेर २०६८ सालमा प्राविधिक धारतर्फ १८ महिने बालिविज्ञान अध्यापन गराउने सम्बन्धन छ । सम्बन्धन प्राप्त केही वर्षसम्म विद्यार्थी पाएको वसन्तमा शैक्षिक सत्र २०८२ मा बालिविज्ञान तर्फका १७ जना विद्यार्थी मात्र अध्ययनरत छन् ।
वसन्तमा बालिविज्ञानतर्फ ४० जनाको सम्बन्धन रहेको छ । तर, हालका वर्षमा उत् विद्यालयमा विद्यार्थीको न्यून भर्नाले पहाडी जिल्लामा प्राविधिक शिक्षालयको हविगत प्रस्ट्याउँछ । दैलेखमा प्राविधिक धारतर्फको सम्बन्धन प्राप्त प्राय शिक्षालयमा विद्यार्थीको संख्या न्यून छ । तीन वर्षे सिभिल इन्जिनियरिङको सम्बन्धन प्राप्त नारायण–५ मा रहेको महेन्द्र माध्यमिक विद्यालयमा दुई वर्षदेखि विद्यार्थी भर्ना दर शून्य छ । विद्यार्थी भर्ना नहुँदा विगत दुई वर्षदेखि सिभिल इन्जिनियरिङ कक्षा सञ्चालनमा नरहेको प्रधानाध्यापक धनबहादुर रोकायले बताए ।
शैक्षिक सत्र २०८२ सम्म दैलेखका सात वटा विद्यालयले विभिन्न धारतर्फ प्राविधिक शिक्षा पढाउन पाउने सम्बन्धन प्राप्त छन् । तर, सम्बन्धन पाएका प्राविधिक शिक्षालयमा विद्यार्थीको संख्या निर्धारण कोटा अनुसार छैन । प्राविधिक शिक्षा अध्ययन पछि स्थानीय स्तरमा रोजगारी सुनिश्चित नहुँदा पढ्ने उमेर समूहका नागरिक वैदेशिक रोजगारीको तयारीमा लाग्ने गरेकाले प्राविधिक शिक्षामा आकर्षण न्यून देखिएको हो ।
प्राविधिक शिक्षा अध्ययनका लागि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)बाट विद्यार्थी पाउने अवस्था मूल्याङ्कन नगरी प्रदान गरिने सम्बन्धन र विद्यालयको संख्या बढी हुँदा विद्यार्थीको अभाव हुने गरेको देखिन्छ । पढाइ पछि उनीहरूले उत्पादन गर्ने वस्तुले समेत बजार नपाउनुले प्राविधिक शिक्षामा पछिल्ला वर्षहरूमा आकर्षण घट्दो रहेको हो ।
सम्बन्धन कायम, भर्ना शून्य
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) अन्तर्गत रहेर दैलेखमा सञ्चालनका लागि शैक्षिशत्र २०८२ सम्म सात वटा विद्यालयले सम्बन्धन पाएका छन् । सम्बन्धन प्राप्त केही शिक्षालयमा विगतका वर्षदेखि विद्यार्थी भर्ना दर शून्य छ । कृषि जेटिय १८ महिने र सिभिल इन्जिनियरिङ १८ महिने सम्बन्धन प्राप्त नारायण नगरपालिका–६ मा सञ्चालन हुने गरी २०७१ सालमा सम्बन्धन प्राप्त मध्यपश्चिम प्राविधिक शिक्षालय विद्यार्थी नहुँदा बन्द अवस्थामा रहेको छ ।
बाह्र वर्ष अघि सम्बन्धन पाएको मध्यपश्चिम प्राविधिक शिक्षालयमा शैक्षीक सत्र २०८१ मा सिभिल इन्जिनियरिङतर्फ दश जना विद्यार्थी मात्र परीक्षामा सहभागी भएका उत् शिक्षालयका सञ्चालक झलक भण्डारीले बताए । २०८२ मा उत् शिक्षालयमा विद्यार्थी भर्ना छैनन् । शिक्षालय सञ्चालक झलक भण्डारी भन्छन्, ‘शिक्षालय सञ्चालन नहुनुको प्रमुख कारण विद्यार्थी नपाउनु हो ।,’ तर, उनले शैक्षिक सत्र २०८२ सम्मका लागि सम्बन्धन कायम राखेका छन् ।
दैलेखमा २०७५ सालदेखि प्राविधिक शिक्षालय सञ्चालनका लागि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) बाट सम्बन्धन ल्याउने गरिएको देखिन्छ । २०७५ मा दैलेखमा प्राविधिक शिक्षालय सञ्चालनका निम्ति ५ वटा सामुदायिक तथा निजी विद्यालयले सम्बन्धन प्राप्त गरेका थिए । २०७६ जिल्लामा ११ स्थानीय तह रहेको दैलेखमा १५ वटा सामुदायिक तथा निजी विद्यालयले सम्बन्धन ल्याएका थिए ।
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)को विवरणले २०८२ मा दैलेखमा सात वटा मात्र प्राविधिक शिक्षालय सञ्चालनका लागि सम्बन्धन प्राप्त छन् । सम्बन्धन कायम रहेका विद्यालयमा भर्ना दर न्यून र शून्य छ । जिल्लामा प्राविधिक शिक्षालय सञ्चालनका लागि पूर्ण अध्ययन नगरी सम्बन्धन ल्याएको देखिन्छ । विद्यार्थी पाउने आधारको पूर्व मूल्याङ्कन नगरी सम्बन्धन हात पार्ने कारण जिल्लाका धेरै प्राविधिक शिक्षालय हाल सञ्चालनमा छैनन् ।









