दैलेख : दैलेखका तीन वटा स्थानीय तहका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ । नौमूले गाउँपालिका–६ सल्लेरी, हाल अमेरिका बस्दै आएका मानेन्द्र चन्द ठकुरीको आर्थिक सहयोग तथा स्थानीय तहको समन्वयमा यहाँका नौमूले, महाबु र भगवतिमाई गाउँपालिकाका २३ वटा माध्यमिक विद्यालयका कक्षा दशमा अध्ययनरत आठ सय ६१ जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको हो ।
बालबालिकालाई पठनपाठनमा सहजता प्रदान गर्ने उद्देश्यले तीन वटा स्थानीय तहका कक्षा १० मा अध्ययनरत आठ सय ६१ जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको अमेरिका बस्दै आएका ठकुरीले जनाए । शैक्षिक सामग्री वितरण अभियान अन्तर्गत नौमूले गाउँपालिकामा रहेका ११ वटा माध्यमिक विद्यालयमा दश कक्षामा अध्ययनरत तीन सय ९० जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ ।

भगवतिमाई गाउँपालिकाका चार वटा माध्यमिक विद्यालयमा दश कक्षामा अध्ययनरत एक सय ५७ जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको हो । यस्तै महाबु गाउँपालिकाका ८ वटा माध्यमिक विद्यालयमा कक्षा दशमा अध्ययनरत तीन सय १४ जना गरी तीन वटा स्थानीय तहमा माध्यमिक विद्यालयमा अध्ययनरत आठ सय ६१ जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको हो ।
शैक्षिक अवस्था सुधारमा योजनागत ढंकले काम गर्दै आएको यहाँको महाबु गाउँपालिकाले अमेरिका बस्दै आएका मानेन्द्र चन्द ठकुरीसँगको साझेदारीमा गाउँपालिकामा रहेका ८ वटा माध्यमिक विद्यालयका विद्यार्थीलाई झोला र कपि कलम वितरण गरेको छ । चन्दको आर्थिक सहयोगमा महाबुका ८ वटा माध्यमिक विद्यालयका कक्षा दशमा अध्ययनरत तीन सय १४ जना विद्यार्थीलाई झोला वितरणसँगै गाउँपालिकाले अन्य शैक्षिक सामग्री प्रदान गरेको अध्यक्ष जंग बहादुर शाहीले बताए ।

झोला र अन्य शैक्षिक सामग्री प्रदान पछि एसइई को तयारीमा रहेका विद्यार्थीलाई पठनपाठनमा सहजता प्रदान हुने गाउँपालिकाका अध्यक्ष शाहीको भनाई छ । ‘अमेरिकामा रहनुभएका नौमूले–६ सल्लेरीका ठकुरीको आर्थिक सहयोगमा महाबुका ८ वटा माध्यमिक विद्यालयमा अध्ययनरत तीन सय १४ जना विद्यार्थीलाई झोला प्रदान गरिएको छ । पालिकाले साझेदार गर्दै अन्य थप शैक्षिक सामग्री विद्यार्थीलाई प्रदान गरेको हो ।,’ अध्यक्ष शाहीले भने ।
शैक्षिक सामग्री हस्तान्तरण कार्यक्रममा सहभागी महाबु गाउँपालिकाकी उपाध्यक्ष मञ्जु कुमारी पाण्डेले न्यून आय भएका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्दा अध्ययन जारी राख्न सहयोग पुग्ने भएकाले मानेन्द्र चन्द ठकुरीको अभियानमा साझेदार गर्दै विद्यार्थीलाई थप शैक्षिक सामग्री प्रदान गरिएको बताइन् । शैक्षिक सामग्री पाएपछि बालबालिकालाई अध्ययनमा सहज हुने उपाध्यक्ष पाण्डेले विश्वास गरिन् ।









