नेपाल यसै पनि भू राजनीतिको भुमरीमा हिजो, आज र भोलीसम्म परिरहने मुलुक हो । यसको आफ्नै विशेषताहरू हुँदा हुँदै पनि विश्व राजनीतिक रङ्गमञ्चमा जे कुराहरू पछिल्ला दिनहरूमा देखा परिरहेका छन् ती कुराहरूलाई मध्यनजर गरेर नेपालको आफ्नो तर्क प्रस्तुत गर्ने गरी कामहरू हुन नसकेका हुन कि यसै विषयमा विभिन्न विश्लेषकहरूले फरक फरक विश्लेषणहरू गरिरहेको अवस्था छ ।
देशको आर्थिक, सामाजिक, राजनीतिक अवस्था सँगै रोजगारीका विभिन्न विषयहरूमा तीव्र असन्तुष्टिहरू देखिरहेको अवस्था छ । तीव्र असन्तुष्टिको सिकार नेपालका ठुला राजनीतिक दलका दरिलो सत्ता चलाएकाहरू भएका छन् । के कुरा कुरी मिलेन वा नेपालको भू राजनीति खलल गर्नेगरि अहिले मात्र हैन लामो समयदेखि विभिन्न परियोजनाका नाममा भित्र भित्र खेलहरू भएकै हुन ती सबै खेलको सिकार नेपालमा प्रजातन्त्र प्राप्त भएपछि सत्ता चलाउँदै आएका सबै दलहरू परेकै हुन ।
नेपाल अन्य मुलुकहरूभन्दा अलि पृथक् भू राजनीतिमा छ । किनकि विश्व शक्ति राष्ट्रका रूपमा छिमेकी मुलुक चीन पूर्वमा हुनु र उदाउँदै गरेको अर्को शक्तिशाली मुलुक भारत दक्षिणमा हुनुले पनि केही मात्रामा नेपाललाई असुरक्षा र सुरक्षा दुवै हुने गरेको अवस्था छ । हिजोका दिनहरूमा भारत परस्त भनेर जसरी बेला बेलामा नेताहरूले एक आपसमा आरोप प्रत्यारोप लगाउने गरेका हुन्थे अहिले अर्को शक्ति राष्ट्र अमेरिका परस्त भनेर विभिन्न व्यक्तिहरूलाई विभिन्न आरोपहरू लाग्ने गरेका छन् । ती आरोपहरूलाई पुष्टि गर्ने विषयहरूमा समय लाग्ला तर एकले अर्कोलाई फरक फरक मुलुकको आरोप लगाएर राजनीति रोटी सेक्ने काम पनि नेपालमा बेला बेलामा हुने गरेको छ ।
नेपालमा देखिएको पछिल्लो राजनीतिक ध्रुवीकरणको विषयले पनि थप जटिलता ल्याउन सक्ने आशङ्का पनि उत्तिकै प्रजातन्त्रको सबैभन्दा ठुलो हिमायती मानिएको नेपाली काँग्रेस एकाएक फुटको डिलमा पुगेपछि नेपालमा थप राजनीति जटिलता निम्तन सक्ने बारेमा गरिएका विश्लेषणहरू र आगामी निर्वाचनको विषय समेत के हुने हो भन्ने विषय अझै अन्यौलता रहेको छ । लोकतान्त्रिक पार्टीभित्रको चर्को विरोध, विधान र विशेष महाधिवेशन बिचमा देखिएको मतभेदका कारण निर्वाचन आयोगको निर्णय र आगामी ६ गर्नै गर्ने भनिएको उम्मेदवारी दर्ताको अन्तिम मिति समेत अन्योल हुने र देश अझै थप जटिलताको भुमरीमा फस्ने सक्ने विभिन्न विश्लेषणहरू गरिएका छन् ।
जे जस्तो परिस्थिति आए पनि नेपाल, नेपालको राष्ट्रियता, अखण्डता, सार्वभौमसत्ताको विषयमा भने पहिलो विषय बनाएर देश जोगाउने विषयलाई शिरमा राख्नुपर्ने देखिन्छ ।





