सामाजिक सञ्जालको व्यवस्थापन जरुरी

सामाजिक सञ्जालले नयाँ सोच, नयाँ विचार सँगै नयाँ योजनाका बारेमा पनि महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ । विश्वका सबै खाले घटनाहरूलाई सेकेन्डको भरमा जानकारी पाउन सजिलो मानिएको सामाजिक सञ्जालका प्लेटफर्महरूले राम्रा कुराहरूलाई महत्त्व दिदादिदैपनि पछिल्ला दिनहरूमा नेपाल लगायतका अल्पविकसित र विकसित सबै मुलुकहरूमा भ्रम सृजना गर्ने काम पनि उत्तिकै गरेका छन् । सकारात्मक भन्दा नकारात्मक भावनाहरूको विकास धेरै भएको अवस्था छ ।

पछिल्ला दिनहरूमा बढ्दै गएको सामाजिक सञ्जालको प्रभाव भने सकारात्मक भन्दा नकारात्मकतातर्फ अघि बढेको छ । तथ्य र तथ्याँकभन्दा भिउज र लाइक कसरी आउँछ भन्ने होडबाजीका कारण मानिसहरूले न्यूनतम मानवीयता समेत गुमाउने क्रम बढेको छ । छिनभरमै कुनै व्यक्तिको चरित्रमा अनावश्यक दाग लगाउने खालका गतिविधिहरु निकै धेरै बढेको अवस्था छ । यस्तो अवस्थाले गर्दा समाजमा सकारात्मकता भन्दा नकारात्मकता धेरै भएका विषयहरूले सामाजिक सञ्जाललाई तताउने गरेको देखिन्छ ।

कतिपयले फेक आइडी निर्माण गरेर अनावश्यक आरोपहरू लगाउने क्रम पनि बढी रहेको छ । यस्ता विषयहरूलाई सरकारहरूले बेला बेलामा नियमनका लागि पत्राचार गर्दा पनि सामाजिक सञ्जाल चलाउने सञ्चालकहरुले भने वास्ता नगरेका विषयहरूले नेपाल जस्ता अल्पविकसित मुलुकहरूमा २० वर्ष अघिका दुःख के थिए, युवा पुस्ताले थाहा नपाउने तर हिजो भन्दा आज केही पनि भएको छैन, भन्ने मान्यता स्थापित भएको देखिन्छ । राजनीतिक दलहरुका केही व्यक्तिहरुले गरेका कमजोरीहरुलाई देखाएर सबै भ्रष्ट भए भन्नेजस्ता भाष्यहरू नकारात्मक रूपमा बढी रहेका विषयहरू सामाजिक सञ्जालमा व्यापक मात्रामा देख्न पाइन्छ ।

सत्य स्थापित गरेर लोकतन्त्रको रक्षा गर्ने, हरेक नागरिकहरूको मौलिक हक हुन्छ भन्ने विषयहरू ओझेलमा पर्दै गएको अवस्था छ । सामाजिक सञ्जाललाई व्यवस्थापन गरेर कानुनको दायरामा ल्याउनुपर्ने आवश्यकता महसुस गरिएको भए पनि विश्वभरका मानिसहरूले सामाजिक सञ्जाल सञ्चालन गर्ने भएकोले प्रभावकारी नियमन हुन नसकेको अवस्था देखिन्छ । एउटा सभ्य नागरिकले आफ्नो व्यक्तिगत भन्दा देशको स्वार्थलाई प्रभावकारी बनाएर हरेक नागरिकले प्रभावकारी रूपमा सामाजिक सञ्जालको प्रयोग गर्नुपर्ने आवश्यकता देखिएको छ ।

सरकारको मातहतमा रहेका निकायहरूले समेत सामाजिक सञ्जालको प्रभावकारी कार्यान्वयन गर्नका लागि सबै क्षेत्र र निकायहरूले गम्भीर हुनुपर्ने देखिएको छ । सभ्य समाजका लागि प्रभावकारी कानुनी प्रक्रियाहरू अवलम्बन गर्दै सबैले सकारात्मक सोचको विकास गर्नुपर्ने अहिलेको आवश्यकता हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार