
सयम २०६५ साल असार १ देखि असार १२ सम्मको हो । मेरो उमेर र २०६५ सालको साहसिक घटनालाई नियाल्ने हो भने अहिले बल्ल अलि परिपक्क भएको आफुलाई महसुस हुन्छ । त्यतीवेला उमेर २६ पुगेर २७ वर्ष लागेको रहेछ । यो आर्टिकल कोरेको मिति २०७६ साल साउन २७ को दिनको हिसाव गर्दा अहिले परिपक्क भएझैं लाग्दछ तर त्यतीवेला गरेको अठोठ, साहस र त्यतीवेलाको उर्जाशिल भावना अहिले हराएको महसुस गरेको छु । असारको महिना, झरि पनि त्यस्तै, जुका लाग्ने लेक अनि संचारको कुनै सुविधानै छैन्, म जस्तै अन्य दश जना उर्जासिल पत्रकार मित्रहरुको उमेर पनि २५ देखि २७ कै पेरिफेरिमा थियो । सबै उस्तै भएकाले पनि होला भावना पनि मिल्यो । सबैभन्दा बढी साहसिक कदमका रुपमा काम गर्ने यामप्रसाद शर्मा र महेन्द्र सापकोटालाई म कहिल्यै बिर्सने छैन् । यस्तो महत्वपूर्ण काम गर्ने दैलेखका योद्धाहरुलाई भने काठमाण्डौंले आफ्नो स्वार्थ मात्र बनायो कहिल्यै सम्झना गरेन् ।
घटनाको बारेमा बिस्तृत लेखौंला पत्रकारको बारेमा लेखौंला तर स्वर्गीय पत्रकार डेकेन्द्रराज थापाको शव ४ वर्षपछि उत्खनन्को लागि गरिएको प्रयासको लागि खटिएका १० जना पत्रकार मध्ये सबैभन्दा पहिलो श्रेय याम शर्मा र महेन्द्र सापकोटालाई जानुपर्दछ । म पत्रकार महासंघको अध्यक्ष थिएँ, मेरो भूमिका संस्थागत रुपमा यसैपनि महत्वपूर्ण थियो । पत्रकार नमन शाही ईन्सेकका प्रतिनिधि थिए उनको भूमिका पनि मानवअधिकारको जिल्ला प्रतिनिधिका हिसावले यसैपनि अनिवार्य नै थियो । तत्कालिन समयमा योद्धा मित्रहरुलाई म अहिलेपनि सम्झन चाहन्छु । मञ्जुल अधिकारी, खेमराज थापा, चक्र भण्डारी, मैले अरु तीन जना साथिहरुको नाम लेख्न छुटाएँकी भन्ने लागेको छ । दश जना साथिहरु ओहोरदोहोरमा भूमिका थियो जस्तो लाग्छ । तत्कालिन समयमा द्धारी जंगल कुरेका तर नाम छुटेको भए माफि चाहन्छु । मैले सम्झनै पर्ने अर्को नाम पनि छ । विद्यार्थी नेता एवं सहकर्मी शसिराम बि.क. जसले हामिलाई धेरै कुराले सहयोग गर्नुभएको थियो । अँझै मलाई त्यो दम्पत्ति सँग गएर एक रात बिताउन मन छ । जुन दम्पत्तिले हामीलाई यो कुराको सुईको दिएको थियो । उहाँहरुको अवस्था अहिले कस्तो छ बुझ्न मन छ । उहाँहरुलाई त्यसपछि केही समस्या प¥यो कि परेन अहिलेसम्म हामी फर्केर समेत जान सकेका छैनौं त्यो हाम्रो ठूलो कमजोरी हो । हामी त जेनतेन डर त्रासले भएपनि अहिलेसम्म यो बिषयमा कलम चलाएकै छौं तर उहाँहरु के गरिरहनुभएको होला ? स्वास्थ्य अवस्था कस्तो होला ? यो भने बुझ्ने मन छ । उहाँहरुले हामीलाई अहिले चिन्नु हुन्छ कि हुँदैन होला ???? यस्ता अनुत्तरित प्रश्नहरु मनभित्र अहिलेपनि हरेक वर्षको साउन २७ मा आउने गर्दछन् ।
आजजस्तै लाग्छ न्यायको अभियानमा लागेको पनि ११ वर्ष पूरा भैसकेछ । तत्कालिन समयमा दैलेखको यो अभियानमा मुलुकका प्रतिपक्ष तत्कालिन सातवटै दलहरुले दृश्य वा अदृश्य रुपमा सहयोग गरे देशभरबाटै अभियानमा सर्मथन जुटेपछि तत्कालिन सरकार न्यायको कुरा सुन्न बाध्य भएको थियो । पत्रकारलाई मात्र हैन प्रहरी र प्रशासनलाई समेत चौतर्फी दवाव थियो । प्रहरी प्रमुखलाई २४ घण्टे लगाईयो । पत्रकार महासंघ केन्द्रीय कार्यालय र मानव अधिकार आयोगको टोलिले लिएको अडानले हामी दैलेखका पत्रकारहरुले न्यायको लडाँई लड्न सफल भएका थियौं ।
मलाई तत्कालिन समयका केही घटनाहरु सम्झँदा अहिलेपनि मन मुटु चिसो हुने गर्दछ । सहकर्मीको शव द्धारी जंगल आसपासमा हुन सक्छ भन्ने सुईको सँगै बिभिन्न प्रक्रियाहरु पूरा भएपछि जव जंगल नजिक शव कुर्न जानुपर्ने भयो । त्यतीवेला मुखमा पट्टी बाधेर जंगल पार गर्दा कतै हामीलाई पनि हत्या गरेर यस्तै जंगलमा गाडिदिए भने यस्तो त्रास धेरै मनमा आईरहन्थ्यो । पत्रकार साथिहरुसँग रकम सकिएपछि दुई पोका चाऊचाऊ पकाएर चारजनाले झोल धेरै बनाएर खाएको कुरा अहिलेपनि भित्रै देखि सम्झना योग्य छ । दश दिनसम्म जंगल कुर्ने बेलामा काठमाण्डौंबाट फरेन्सिक टोलि आउन ढिलाई भएपछि हामी बसेको विद्यालय नजिकको जंगलमा निकै खड्याँगखुडुगं आवाज आयो रातको समय छ साथमा १० जना मात्रै सुरक्षाकर्मीहरु हुनुहुन्छ । दुई दिन पछि विज्ञको टोलि काठमाण्डौंबाट आउने खवर पाएका थियौं ७ दिन सम्म कुरिसकेका छौं । यदी विज्ञ टोलि आउनुभन्दा अगावै शव उदिनेर फालिदिए भने के होला ।
यस्ता दुःख र कष्ट भोगेर परिवारलाई चार वर्षपछि सांस्कृतिक अधिकार प्रदान गरेका दैलेखका योद्धा पत्रकारहरुलाई राज्यले दिनुपर्ने सम्मान अहिलेसम्म पनि दिन सकेन बरु उल्टै ईश्याको रुपमा हेर्ने काम भयो । जो अहिलेपनि कायमै छ । दुईवटा पार्टी एक भएका छन् । दुईवटा संगठनहरु एक भएका छन् । नेतृत्वमा पुगेका अहिलेका नेताहरुले समेत उतिवेलाका रिस मनमा साँधेका छन् । यो कुरा अहिलेपनि म स्वयंम लगायत अन्य साथिहरुले भोग्दै आएका छन् । कसैलाई प्रमाण चाहियो भने आगामी दिनहरुमा दिनेछु ।
तत्कालीन माओवादीले थापाको हत्या गरेर सार्वजनिक गरेको दिन २०६१ साउन २७ गते सम्झने हो भने आज १५ वर्ष पुगेछ । १५ वर्षसम्म पनि हत्यामा संलग्न मुख्य आरोपीहरु अँझै पक्राउ पर्न सकेका छैनन् । यो राज्यको कमजोरीको बिषय भयो । राज्यले पक्राउ गर्न किन सकेन बारम्वार यो प्रश्न उठिरहने छ ।
मलाई अहिलेपनि यस्ता धेरै कुराहरुले पिरोल्ने गर्दछ । तत्कालिन समयमा साहसिक रुपमा कदम चालेका दैलेखका पत्रकारहरुलाई अहिलेसम्म न त पत्रकार महासंघले सम्बोधन गरेको छ, न पत्रकारका बिभिन्न संघ संगठनहरुले सम्मान गर्न भ्याएका छन् । बाहना बनाउने काम अहिलेपनि कायमै रहेको छ । यसप्रति म केन्द्रको महासंघ र अन्य संघ, संगठनहरुको लापरवाही प्रति गम्भिर ध्यानाकर्षण गर्न चाहन्छु ।
१५ वर्ष पूरा भए पनि हत्यारालाई सरकारले कारवाही गर्न सकेको छैन । घटनाका मुख्य हत्याराको पहिचान हुँदासमेत सरकार मुकदर्शक बनेर बसेको कुरा अव झनै सेलाउने हो कि भन्ने चिन्ता लागेको छ । बेला बेलामा आफ्नो स्वार्थ पूरा गर्नका लागि गरिएका केही प्रयासहरु अहिले सेलाएका छन् । अव यसको जवाफ वर्तमान सरकारका प्रधामन्त्री के.पि. शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले दिनुपर्ने हुन्छ ।
तत्कालिन द्धन्द्धमा धेरै पत्रकारहरुको हत्या भएको छ, बेपत्ता पारिएको छ । कित यस्ता घटनाहरुको सँधैका लागि बिषय बन्द गर्ने वातावरण अहिलेको सरकारले खोज्नुपर्दछ हैन भने क्रुर यातना दिएर हत्या गरिएका यस्ता बिषयहरुमा सरकारले नै अपराध गर्नेहरुको खोजी गरि कानुनी कारवाहीका लागि सहयोग गर्नुपर्दछ । सत्य निरुपण तथा मेल मिलाप आयोगले समेत यस्ता बिषयहरुको दिगो समाधान खोज्न लाग्नुपर्ने अहिलेको टट्कारो आवश्यकता हो ।
द्धन्द्धकालीन समयमा ४५ दिन बन्धक बनाई माओवादी कार्यकर्ताले पत्रकार थापाको निर्मम तरिकाले हत्या गरी शव खाल्डोमा गाडेको कुरा कहि कतै लुकाउने ठाउँ छैन किन की हत्यामा संलग्न केही व्यक्तिहरु यही बयान सँगै सजाय भोगेर उम्किसकेका छन् ।
मैले उतिवेला जतिवेला पत्रकार डेकेन्द्रराज थापाको शव उत्खनन् पश्चात उहाँका परिवारले सांस्कृतिक अधिकार प्राप्त गरेका थिए । त्यतीवेला लेखेको यो लेख जस्ताको तस्तै यहाँ प्रस्तुत गर्न चाहन्छु ।
मुखमा पट्टी बाँधेर सहकर्मीको शव खोज्दा ।
मैले भर्खर राष्ट्रियस्तरको मिडियामा काम गर्ने जमर्काे गरिरहेका बेला पत्रकार डेकेन्द्रराज थापाको माओवादीद्वारा हत्या हुँदा निकै मर्माहत हुनुप¥यो । त्यसबाट मनभित्र एउटा उराठलाग्दो डर मभित्र मात्र होइन, दैलेखका सबै पत्रकारहरूमा पलाएको थियो भने अर्कोतर्फ अनाहकमै हत्या गर्ने र शवसमेत बेपत्ता पार्नेहरूलाई कानुनी कठघरामा उभ्याउनुपर्छ र दण्डहीनताको अन्त्य गर्नुपर्छ भन्ने अठोट पनि उब्जिरहेको थियो । अनाहकमै पत्रकारहरूलाई समेत मारेपछि त्यसको पीडासँगै थपिएको ऊर्जाले समेत दैलेखको पत्रकारिताले झनै निडर भएर अगाडि बढ्ने आँट लिएको हो भन्दा फरक पर्दैन ।
नेपाल पत्रकार महासंघ दैलेखको पहिलो अधिवेशनबाट जिल्ला शाखाको अध्यक्ष हुने महत्वपुर्ण अवसर मैले पाएँ, प्रकाशक बनेका नमनकुमार शाही मानवअधिकारकर्मीको रूपमा इन्सेक जिल्ला प्रतिनिधि थिए । द्वारी घर भएका यामप्रसाद शर्मा धमाका साप्ताहिक र पञ्चकोशी एफएममा काम गर्थे । काठमाडौंबाट एक्कासि खबर आयो पत्रकार डेकेन्द्रराज थापाको शव द्वारी गाविसको नेराप्रावि नजिकको जंगलमा गाडिएको छ त्यसको उत्खनन् गर्नुप¥यो नमन शाही इन्सेक प्रतिनिधि भएका नाताले उनीबाटै मैले यो खबर सुनें । उनले मसँग सल्लाह मागे हाम्रो सल्लाहबमोजिम द्वारी गाविसको वस्तुस्थिति बुझेको मान्छे को छ त भन्ने प्रश्न उठिरहेको समयमा आफ्नै सहकर्मी याम शर्मा त्यतैतिरका भएका कारण हामीलाई केही सजिलो भयो । अब त्यहाँ जानुपर्ने कुरा पहिला हामीबाहेक अरूलाई थाहा दिनु हुँदैनथ्यो माओवादीले भर्खर बन्दुक बिसाएका थिए, आजभोलिका माओवादीको त यस्तो गतिविधि छ भने तत्कालीन समयको निकै डरलाग्दो क्षेत्र त्यो पनि माओवादीको कब्जा गरिएको क्षेत्रमा गएर आफ्ना सहकर्मी दाजुको शव उत्खनन् गर्नका लागि पहिलो अनुसन्धान गर्न हामीलाई कम चुनौती थिएन । दुई दिन जति सदरमुकाममा सल्लाह ग¥यौं दिउँसो गएपछि थाहा पाउँछन् राति जानुपर्छ भन्ने सल्लाहबमोजिम झोला र छाता बोकेर जाने आँट त ग¥यौं । तर, रातिमा हामीलाई कसैले चिने भने के भन्ने? त्यसैले सबैले मुखमा पट्टी लगाएर नौ बजेतिर हिँड्नुपर्छ भन्ने सल्लाहबमोजिम तीनजना मात्र साथीहरू नौ बजे रातारात गरेर नौमुले बजार पुगेर बस्यौं।
नौमुलेबाट एकाबिहानै उकालो चढेर पहिलोपटक यामप्रसाद शर्माकी दिदीको घरमा भेटघाट र द्वारी झरनाको दृश्य लिनका लागि भनेर भिडियो क्यामेरासहित गएको हाम्रो टोलीले दुई दिनसम्म गहिरो अध्ययन ग¥यो । विद्यालय नजिकै रहेका एक दम्पतीमध्येकी महिला जसले डेकेन्द्रराज थापाको चित्कार सुनेकी थिइन्, उनको चित्कार सुनेर आफूसमेत रोएको पीडा उनीसँग चार वर्षदेखि गुम्सिएर बसेको रहेछ । उनीसँग सामान्य चिनजान त भयो। मैले बाध्य भएर म पनि उहाँको भाइ हो भनें त्यसले झनै उनलाई पीडा भएछ क्यार । उनले हामीलाई अँझै कुरा भन्न चाहिनन् । तर, सामान्य संकेत भने दिइन, खै बाबु यतै–यतै देख्थ्यांै धेरैजसो माओवादीले घुमाउन ल्याएको त हामीले पनि देखेका थियौं, तर अरू कुरा केही थाहा भएन । हाम्रो पहिलो पटकको यो अनुसन्धानले हामीलाई थप ऊर्जा दियो । हामीले सल्लाह ग¥यौं र आमालाई फकायौं । आमा केही चिन्ता नलिनुहोला माओवादीले अहिलेसम्म कहाँ राखेका छन्, जिउँदो छन् कि मारेका छन्, थाहा भएन । त्यही थाहा हुन्छ कि भनेर मात्रै भनेको’ अफ्ठेरो नमान्नुहोला भन्यौं । यो शब्द सुनाउनेबित्तिकै उनले भनिन् ’कहाँ जिम्दो हुनु बाबु जिम्दो छैनन्।’ किनकि मारेर लतारेर लगेको उनले नै देखेकी रहिछन् । कुरै कुरामा आफंै झसंग भएर उनले अरू कुरा नै गरिनन् किनकि उनकै नजिकको छिमेकीकै घरमा मान्छेहरू उनको हत्यामा संलग्न थिए ।
मारिसकेपछि पनि छिमेकीकै पेटीमा राखेर सल्लाह गरेको उनलाई थाहा रहेछ । त्यो कुरा भनेपछि कतै आफूलाई समेत मार्ने पो हुन् कि ? उनका बूढाबूढीलाई त्यही डर रहेछ । हामी सदरमुकाम फर्कियौ ं। त्यतिबेला हामी अनुसन्धानका लागि जाने कुरा तत्कालीन पत्रकार महासंघका अध्यक्ष धर्मेन्द्र झा र महासचिव पोषण केसीलाई जानकारी गराएका थियौं नमन शाहीले आफ्नो सम्बन्धित निकायमा समेत जानकारी गराएका थिए ।
हामी पुगेर फर्केपछि मारेको त्यहीँ हो भन्ने कुरामा आधार भेटियो । तर, शव कता गाडेका छन् अलिकति सुइँको पाए भने उधिनेर फालिदिने हुन् कि भन्ने डर पनि लाग्यो । पुनः एकपटक द्वारी गयांै भने पक्का थाहा पाउन सक्छौँ भनेर दोस्रोपटकको यात्रा तय ग¥यौं । यसपटक समाचार संकलनकै बहानामा एक हप्ता नबित्दै हामीहरू पुनः दिउँसै त्यता लाग्यौं । धमाका साप्ताहिककै मञ्जुल अधिकारीसँगै चारजनाले द्वारीको स्कुल निर्माणको खबर संकलनको भन्ने बहाना बनाएर राति खाना र नास्ता खाने तयारी गरेर स्कुलनजिकै रहेको सानो पसलमा बस्यौं । प्रत्यक्षदर्शीले मदिरा सेवन गर्नाले हामीलाई निकै ठूलो अवसर मिल्यो । उनले भने मार्छन् कि भन्ने डर छ, बाबु त्यही स्कुलको बलामा खुट्टा बाँधेर पिटी–पिटी मारेका हुन् । कसैलाई नभन्नु होला, गाडेको पनि स्कुलपछाडिको घरनजिक खोल्सामा छ ।’
बिहान त्यतै गयौं र सामान्य रूपमा हे¥यौं । तर, कुनै मेसो पाउन सकेनांै, पहरानजिकै शव गाडिएको जानकारी पाएपछि तत्काल सदरमुकाम आयौं । त्यसपछि सम्बन्धित निकायमा जानकारी गरायौं । हामीलाई झन् चुनौती थपियो। बैठक बस्यौं सबैको एकमत भयो । मेरो कार्यकालका उपाध्यक्ष नविन रिजाल क्रान्तिकारी पत्रकारका अध्यक्षसमेत थिए । तर, शव खोज्नका लागि तत्कालीन समयमा उनले गरेको योगदानको उच्च मूल्यांकन गर्नैपर्छ । पेसागत धर्म र एकाताका लागि उनले आफ्नो पार्टीका कुरासमेत लत्याएर कलमजीवी पत्रकारको हकहितका पक्षमा उभिए । त्यसपछि हामीलाई सुरक्षाको आवश्यकता खड्कियो। सशस्त्र प्रहरी बलले हामीलाई निकै ठूलो सहयोग ग¥यो । सात दिनका लागि भनेर हाम्रो टोलीका केही साथीहरू दुई दिनअगाडि नै शव गाडेको स्थानमा पुग्यौं । त्यहाँ पुग्दा माओवादीले निकै कान ठाढा पारे, आशंका मानिएका माओवादीहरू पाटनतिर उकालो लागेको खबर पायौं ।
मानवअधिकार आयोगको टोली हिँड्ने खबर पाएपछि अलिकति सान्त्वना मिल्यो, तर गाइँगुइँ कुरा र हल्ला भइसकेपछि शव उधिनेर फालिदिने पो हुन् कि भन्ने चिन्ताले रातभर निन्द्रा लागेन। जिल्लाबाट गएका थोरै साथीहरूसमेत निकै डरायौं खेमराज थापालगायतका साथीको टोलीले दुई दिनसम्म त खाना खाने मेसो नै पाएन र चाउचाउ खाएरै बस्यौं ।
प्रहरीसँगै बिनाबर्दीको प्रहरी बनेर रातभर ड्युटी दियौं । नौ दिनको पर्खाइपछि शव उत्खनन्का लागि डा. हरिहर वस्तीलगायतको टोली बल्ल सदरमुकाममा आयो । त्यसअघि पत्रकार महासंघका मध्यपश्चिम सहसंयोजक एवं अध्ययन टोलीका संयोजक जनक नेपालसमेत आइपुगेपछि हामीलाई निकै हौसला बढ्यो। डा. वस्तीसहितको अनुसन्धानको टोली र जिल्लाका केही नेताहरू समेत घटनास्थलमा पुगे । शव गाडिएको ठाउँमा पुग्यौं, सबै कुराहरू पूरा भए अनि योद्धा पत्रकारहरूले स्वर्गीय डेकेन्द्रराज थापाको शव उत्खनन् गरेर ल्याउन सफल भयौं । यसलाई मेरो पत्रकारिता जीवनको चुनौतीपूर्ण घटनाका रूपमा मैले लिएको छु ।
११ वर्ष पुगिसकेपछि घटनाका बिषयहरुमा थप कुरा लेख्न मन लागेको छ । माथिको कुरा मैले उतिवेलै लेखेको थिएँ जतिवेला शव उत्खनन् गरेर दैलेख सदरमुकाममा फर्किएका थियौं ।
अहिलेपनि चुनौती कायमै ः
तत्कालिन समयमा यस्ता बिषयहरु सँगै अहिलेपनि इमान्दार र व्यवसायिक पत्रकारमाथि पत्रकारबाटै धावा बोल्ने क्रम कायमै छ । आफ्नो व्यवसायिक मर्यादा कायम राखेर काम गर्दै आएका पत्रकारहरु माथि अहिलेपनि बिभिन्न बाहनामा समस्या पार्ने र धावा बोल्ने क्रम जारी नै छ तरपनि इमान्दारिता कायम राख्दै पत्रकारिताको यो अभियानमा पत्रकार मित्रहरु व्यवसायिक मर्याादा कायम गर्दै लागिरहेका छन् । कतिपयले पेशा नै परिवर्तन गरे, कतिपय पेशाबाट अलग छन् । कतिपय बिभिन्न कारणले निस्क्रिय रहनुपरेको छ । पत्रकारिता भित्र पनि बिभिन्न माध्यामहरु छन् । पछिल्ला दिनहरुमा संघीयता सँगै दैलेखमा समेत ११ वटा स्थानीय तहहरु रहेका छन् । दैलेखमा कार्यरत पत्रकार साथिहरुबीच अहिलेपनि मनमुटाव कायमै रहेको छ । व्यवसायिक एकताका लागि ऐक्यबद्धता भएर काम गर्ने पत्रकारको चरित्र भने दैलेखमा प्रशंसा गर्न लायक छ ।
पछिल्ला दिनहरुमा पत्रकारहरु माथि बिभिन्न आक्षेपहरु लाग्न सुरु गरेका छन् । पेशालाई अलि फरक ढंगबाट अगाढी बढाएका कारण पनि आलोचना आएको कुरालाई स्वभाविक मान्नुपर्दछ । महासंघको चुनावका ताका पत्रकारहरुबीच हुने मनमुटावहरु लामो समयसम्म ईगोको रुपमा राख्ने चलन जताततै हुन्छ स्वभाविक हो तर दैलेख अलि अस्वभाविक रुपमा लिने चलन बढेको छ ।
पत्रकार हुँ भनेर ठेक्कामा परेको भाग खोज्न जाने प्रवृतिले व्यवसायिकतामा गम्भिर आँच आएको दैलेखको पत्रकारितालाई पत्रकार महासंघ र नेतृत्वदायि भूमिका निर्वाह गर्ने पुराना र पाका पत्रकाहरुहरुले समिक्षा गर्नुपर्ने बेला आएको छ । व्यवसाय गर्न सवैलाई छुट छ तर सवैले आफ्नो मर्यादा कायमै राखेर गर्नुपर्ने कामलाई प्राथमिकता दिनुपर्ने देखिन्छ ।
दैलेखी पत्रकारको भूमिका राज्यले मनन् गर्न सकेन
नेपाल पत्रकार महासंघ लगायतका बिभिन्न संघ संस्थाहरुले हरेक वर्ष बिभिन्न विद्याहरुमा पत्रकारहरुलाई सम्मान गर्ने चलन अहिले मात्र हैन उहिलेदेखिनै चल्दै आएको हो । दैलेखी भूमिका जन्मेर निश्वार्थ रुपमा योद्धा भएर काम गरेका पत्रकारहरुलाई नेपाल सरकारले गर्नुपर्ने सम्मान न उतिवेला गरेको देखियो न अहिले गरेको देखिएको छ । नेपाल पत्रकार महासंघको यति लामो इतिहासमा गत वर्षको अधिवेशनमा मात्र दैलेखका दुईजना पत्रकारले केन्द्रीय समिति सदस्य पदमा उम्मेदवारी पाएका थिए । अन्य बिभिन्न साहसिक पुरस्कारहरु दिदा समेत राज्य र अन्य पत्रकार महासंघ, संघ संगठनहरुले अहिलेपनि सौतेनी व्यवहार प्रस्तुत गरेका छन् । तत्कालिन प्रतिपक्ष भूमिका निर्वाह गरेका सात दलहरुले समेत पत्रकार डेकेन्द्रराज थापाको आन्दोलनलाई सत्ताको भ¥याङ्ग जस्तो बनाएको मेरो व्यक्तिगत बुझाई भएको छ । दैलेखका पत्रकारहरुको योगदानको यदी उचित कदर हुन्थ्यो भने अहिलेका ११ तहका सरकारहरुले नै पत्रकारहरुसको संस्थागत विकास भनेर किन रकम बिनियोजन गर्न सकेका छैनन् । प्रदेश र केन्द्र सरकारले किन अहिलेपनि दैलेखलाई हरेक क्षेत्रमा हेलाको हिसावले हेरेको छ । यो रोग वा समस्या वर्तमान सरकारको मात्र हैन् बिगत ११ वर्षदेखि सत्तामा रहेका दलहरुले देखाएको हरकत उस्तै छ । हिजो पनि हेलानै गरे, अहिलेपनि हेलानै गरेका छन् ।
छाँगाबाट खसेजस्तै भएँ निकै पीडा लाग्यो मैले नाम हटाएँ
मलाई थाहा थिएन पत्रकार डेकेन्द्रराज थापाको नाम जोडेर खोलिएको धमाका साप्ताहिक निरन्तर संचालन होला भनेर अँझै कल्पना पनि गरेको थिएँन यो दैनिक पत्रिका होला भनेर, यसका वीचमा कति आरोह अवरोह परेका छन् भन्ने कुरा पत्रिकाको प्रकाशनको जिम्मा लिएका तत्कालिन र अहिलेका व्यक्तिहरुलाई थाहा छ यो बिषय धेरै उठान गर्न चाहेन् ।
तर एउटा कुराले अहिलेपनि मलाई निकै खिन्न बनाउने गरेको छ । तत्कालिन समयमा पत्रिका प्रकाशन गर्दा लेखिएको स्व.पत्रकार डेकेन्द्रराज थापाप्रति सर्मपित भन्ने शब्द अहिले हटेको छ । यसलाई धेरैले बिभिन्न किसिमबाट व्याख्या र बिश्लेषण गरे होलान्, अहिले पत्रिकाको प्रकाशनको सबै जिम्मेवारी मैले लिएकोले यसको जस अवजस सवै मैले लिने निर्णय गरिसकेर यो काम गरेको हुँ ।
तत्कालिन समयमा पत्रकारको शव खोज्न जाउँ भन्दा बाहना बनाएर भाग्नेहरु पनि मैले देखेको छु, बिष्णु शर्माको नेतृत्व यो घटनाले असफल हुन्छ भनेर ग्राईन डिजाईन अनुसार यो कुरा बाहिर आएको कुरा पनि मैले थाहा पाएको छु, तपाँईले कि यो काम गर्नुपर्दछ नत्र राजिनामा दिनुपर्ने हुन्छ भन्ने कुरा पनि मैले अहिलेसम्म बिर्शेको छैन् । केही यस्ता बिषयहरु छन् जो समय अनुकुल आफै खुल्दै जानेछन् । बार्ताका लागि लगियो किन ? उहाँलाई मात्रै रोजियो किन ? इमान्दार भएर काम गर्ने मान्छेलाई गलत आरोप माओवादी समक्ष पु¥याईयो किन ? अनुत्तरित प्रश्नहरु अँझै बाँकी नै छन् ।
खैर मलाई जुन बिषय उठान गरेर अभियानमा होमिने जिम्मेवारी थियो त्यो जिम्मेवारी युवा अवस्थाका दैलेखी पत्रकारहरुले सकुसल रुपमा पूरा गरेर देखाईसकेपछि, अव शिरमा नाम राखिराख्नुपर्ने अवस्था देखिनँ, अर्कोतर्फ मुलुकमा देखिएको दलिय परिवर्तन र दुईवटा ठूला पार्टीहरु एक भैसकेर शान्ति स्थापना भैसकेको अवस्थामा यो बिषय अव सान्र्दभिक हुँदैन की भनेर मलाई मेरो पत्रिकाको स्थायी दर्ता गर्दा केही प्राविधिक रुपमा समस्या देखियो । तत्कालिन समयमै जिल्ला प्रशासनमा दर्ता गर्दा डेकेन्द्रराज थापाप्रति समर्पित भनेर यो कुरा उल्लेख गरिएको रहेनछ । यि र यस्ता बिषयहरुका बारेमा मन घोल्तिरहेको थियो । एकदिन जिम्मेवार भाईले केही बिशिष्ठ व्यक्तिहरु सँगको बसाईमा भएको छलफलको कुरा मेरो कानमा प¥यो (डेकेन्द्रको नाम जोडेर धमाकाले उल्कै कमाएको छ) मलाई सबैभन्दा धेरै पीडा त्यो कुराले पु¥यायो त्यसपछि मैले नाम हटाएँ कसैसँग सल्लाह गरेन ।
मलाई लाग्यो मैले जुन काम पत्रकार डेकेन्द्रराज थापाको शव उत्खनन्का लागि गरे त्यो सबैभन्दा ठूलो काम हो । अव नाम राख्नु जरुरी छैन् यही सोचे अनि नाम हटाएँ ।
दैलेख जस्तो दुर्गम स्थानमा पत्रिका
प्रकाशनका लागि अहिलेसम्म दर्ता भएका ३८ वटा पत्रिकाको अवस्था सवैले बिश्लेषण गरेकै छन् । धमाका दैनिक पत्रिका अहिलेपनि दाव गर्दछ, हाम्रो पत्रिकाको टिम ठेक्काको भाग माग्न गएको छैन्, असुली उपरमा लागेको छैन्, समाचारका नाममा वार्गेनिङ्ग गरेको छैन्, समाचारमा कसैलाई पूर्वाग्राही भएर लम्किएको छैन् ।
१३ हजार ५ सयमा सकिएको त्यो मिसन ?
पत्रकार थापाको शव उत्खनन्, खोजबिन देखिका सबै प्रक्रियाहरु करिव १ महिना सम्म चलेको थियो, पटक–पटक आवत जावत गर्दा उतिबेलाको रकम रु १३,५०० मात्र खर्च भएको थियो । उक्त रुपैयाँ पनि बिभिन्न साथिहरुले एक हजार पाँच सय गरेर उठाएर खर्च गरिएको थियो । केन्द्रले मिसनका लागि के र कति रकम खर्च ग¥यो यो कुरा अहिलेसम्म मैले जानकारी पाएको छैन् । कसैलाई जानकारी लिन मन लागेको भए केन्द्रमै सोध्नुहोला ।
यतीमात्र हैन मुलुकमा परिवर्तन आएपछि पनि दैलेखका पत्रकारहरु बिस्थापित हुनु परेको थियो । महासंघमा त्यतीवेला शिव गाउँले अध्यक्ष हुनुहुन्थ्यो त्यतीवेलामा भने दैलेखका पत्रकारहरु बिस्थापित भएर सुर्खेत एक साता सम्म बसेका थिए त्यसको खर्च पनि केन्द्रलाई वा त्यतीवेलाका जिल्ला अध्यक्षलाई थाहा होला ।
धन्यवाद









