युवाहरूका नाममा खुलापत्र

जसका नाममा म यो पत्र लेख्दैछु, सम्भवतः ती युवाले यो पत्र पढ्ने छैनन् । पढिहाले भने तिनले ममाथि सायद गालीको वर्षा गर्नेछन् । जो युवाले यो पत्र पढ्ने लगभग निश्चित छ, तिनका लागि यो लेखिएकै होइन । थोरै विडम्बनाको स्थितिबाट मैले यो पत्र सुरू गरेँ । जो यस्ता सामग्री पढ्दैनन् र पढे पनि असहिष्ण हुन्छन्, तिनीहरूसम्म यो पत्र पुगिदेओस् भन्ने मेरो कामना छ ।
इतिहासलाई एकछिन परै राखौँ । गत केही साताका राजनीतिक गतिविधि नियालौं । श्रम गरेर परिवार पाल्ने निहत्था ट्याक्सी ड्राइभरको ट्याक्सीमा आगो लगाउने को ? चिया बेचेर साना नानीहरूको पेट भर्ने पसलेमाथि लाठी प्रहार गर्दै तोडफोड गर्ने को ? सडकमा टायर बाल्न जाने को ? भ्रष्टाचारी नेताले भ्रष्टाचारविरूद्ध ¥याली आह्वान गर्दा हजारौंको संख्यामा सडकमा निस्किने को ? देशका प्रधानमन्त्रीले तुच्छ भाषा प्रयोग गर्दा दर्शकदिर्घामा बसेर पर्रर ताली पिट्ने को ? अब साकाहारी आन्दोलनले पुगेन भन्दा कर्तलध्वनीले त्यो भनाइको स्वागत गर्ने को ? पार्टीले भ्रष्टाचार गरेर जम्मा गरेको पैसाबाट हालिदिएको पेट्रोल भरेर सारा सहर जाम गर्दै मोटरसाइकल ¥याली गर्ने को ? ती सबै युवा हुन् र अधिकांश कलेज पढ्ने, आफूलाई केही न केही चेतनशील सम्झिने युवा हुन् ।
यो देशको आधा जनसंख्या २५ वर्षमुनिको छ । तिनै युवाको एउटा पुस्ताको काँध चढेर २०४६ सालको जनआन्दोलन भयो । ती युवाले केही पाएनन् । न आफ्ना छोराछोरीलाई राम्रो स्कुल पाए । न आफ्ना बुवाआमाका लागि राम्रो अस्पताल पाए । न आफ्ना लागि राम्रो रोजगारी र जीवनस्तर पाए ।
निसन्देह रूपमा भन्न सकिन्छ, ०४६ सालको जनआन्दोलनमा आगो बोकेर हिँडेका अधिकांश युवा आज वृद्धावस्थामा जीवन कसरी धान्ने, गम्भीर बिरामी परे कुन घरखेत बेचेर उपचार गर्ने र छोराछोरीलाई देशबाहिर पठाएर उनीहरूको भविष्य कसरी सुनिश्चित गर्ने भन्ने चिन्ताले ग्रस्त हुनुपर्छ । तर ती युवाको काँध चढेर आन्दोलन गर्नेले सबै पाए । माओवादी सशस्त्र द्वन्द्व सुरू भएपछि युवाको अर्को पुस्ताले बन्दुक बोक्यो । शत्रुका नाममा आफ्नै छिमेकी रेट्यो, आफ्नै गुरूको छातिमा गोली ठोक्यो । स्कुल छाड्यो । विभेद र गरिबीबाट मुक्ति पाउने आशामा छरपस्ट मृत्युवरण ग¥यो । तर उसले केही पाएन । उसलाई बन्दुक बोकाउनेहरूले सबै पाए । आलिशान जीवन पाए । बिरामी भए उपचार गर्न विदेशका विशिष्ट अस्पताल पाए ।
जब फेरि तिनै युवाहरू, माइतिघरमा नुनका ढिकाजस्ता आँशुका दाना खसाल्दै रूने र चिसोमा मर्ने उखु किसानका लागि उभिन जाँदैनन्, तर तिनै युवा जुकाले झैं निरन्तर रगत चुस्ने अपराधकर्मीहरूको आवाजमा उद्वेलित हुन्छन्, मलाई लाग्छ युवाको एउटा ठूलो पंक्तिमा गम्भीर समस्या छ । युवाहरूको ठूलो पंक्तिमा देखिएको आधारभूत समस्याबारे चर्चा नगर्ने, त्यो समस्या उजागर नगर्ने र सबै मिलेर त्यसलाई सम्बोधन नगर्ने हो भने, यो देशको राजनीति अझै वर्षौंसम्म परिवर्तन हुने छैन । त्यसको सबभन्दा ठूलो शिकार तिनै युवा हुनेछन्, जो आज देश दोहनकारी, युवाको भविष्य नष्टकारी नेताको भ्रष्ट आवाजमा कर्तलध्वनीका साथ ताली पिटिरहेछन् ।
यसो भन्दा मलाई अरिंगालहरूले आक्रमण गर्न सक्छन् । तिनले भन्नेछन्, ’अरूको पार्टीमा धेरै युवा गएको देखेर तपाईंको कुण्ठा बोलेको हो ।’ भन्नुहोस्, केही फरक पर्दैन । तर बुझ्न प्रयास गरिदिनोस – के तपाईंले पाएको स्कुल र कलेजको शिक्षाको स्तरबाट तपाईं राम्रो रोजगारी अपेक्षा गर्न सक्नुहुन्छ ? के तपाईंले केही न केही रोजगारी पाइहाल्नुभयो भने त्यसबाट जीवन सहज रूपमा बिताउन सकिएला, छोरा छोरीलाई राम्रै जीवन दिन सकिएला, आमाबुवाको बुढेसकालमा सहज रूपमा सेवा गर्न सकिएला भन्ने आशा छ ?
तपाईंका नेताजस्ता नेताले होइन, इमान भएका सक्षम नेताले शासन गरेका सुशासित देशमा तपाईं जस्ता युवाले दैनिक ज्यालादारीमा सामान्य काम गरेर पनि वर्षमा एकपटक झोला बोकेर छुट्टी मनाउन जानसक्ने हैसियत राख्छन् । देशको प्रतिव्यक्ति आयस्तर बढेपछि सामान्य श्रम गर्नेले पनि जीवनका आधारभूत आवश्यकताहरू पूर्ति गर्न सक्छ । के तपाईं तुलनात्मक रूपमा राम्रै जागिर पाए पनि वर्षमा एकपटक आफूले कमाएको पैसाबाट देशभित्र या बाहिर घुम्न जाने कल्पना गर्न सक्नुहुन्छ ? गर्न सक्नुहुन्न ।
तपाईं कल्पना केको गर्नु हुन्छ, थाहा छ ? कसरी कुन नेताको नजिक भएर अस्वाभाविक रूपमा जागिरको या आर्थिक लाभ लिन सकिन्छ । कसरी सके युरोप, अमेरिका, नसके खाडी र दूरपूर्व उड्न सकिन्छ । कसरी ग्रिनकार्ड या पर्मानेन्ट रेजिडेन्सी लिएर उतै बस्न सकिन्छ । जब मान्छे आफैंमा सक्षम हुँदैन उसलाई टेक्ने सहारा चाहिन्छ । जो आफैं सक्षम हुन्छ, ऊ स्वाभिमानका साथ नाक ठाडो पारेर उभिन्छ । अत्यन्त पीडाका साथ भन्दैछु, तपाईंका नेताहरूले यो देशको हुनेखाने वर्गमा नपर्ने सम्पूर्ण युवाहरूलाई विकलाङ्ग बनाएर हुर्काइरहेका छन् । ती युवालाई सामान्य रूपमा सहज जीवन बिताउन जिन्दगीभर संघर्ष गर्दा पनि त्यो असम्भव हुन्छ ।
र, पनि तपाईं देउवाका जाली, ओलीका झेली र प्रचण्डका मांसाहारी भाषणमा ताली पिट्नुहुन्छ ? लोकतन्त्र हो, पिट्न चाहनुहुन्छ भने पिट्नुहोस् । त्यसको अर्थ के हो भने, तपाईं यस्तै जीवनका लागि अभिशप्त हुनुहुन्छ र आफ्ना सन्तानलाई पनि आफ्नै जस्तो जीवनका लागि अभिशप्त बनाइरहनुभएको छ ।
यी भन्नैपर्ने कुरा थिए, मैले भनेँ । गरिबको ट्याक्सी जलाएर होइन, गरिबको चिया पसलमा लाठी बर्साएर होइन, बिरामी आमाबुवाको वहान बाटोमा रोकेर होइन, यो देशको दोहन गरेर होइन, भद्र भाषामा यति भन्नैपर्ने थियो । गाउँगाउँबाट आमाबुवाले खेतीकिसानी गरेर, घाँसदाउराको भारी बोकेर तपाईंलाई पढाइरहेका छन् । तपाईं चाहिँ आमाबुवाको जीवन र तपाईंको भविष्य बर्बाद पार्ने नेताको निर्देशनमा हिंसा गर्नुहुन्छ, तपाईंको स्वतन्त्रताका नाममा अरूको स्वतन्त्रतामाथि धावा बोल्नुहुन्छ भने तपाईंले यति कुरा सुन्नैपर्छ ।
आजभन्दा १० वर्षपछि यी नेताले तपाईंको भविष्य कसरी खाए भन्ने अनुभूत गरेर तपाईंले केही पाउनु हुन्न । त्यति बेला ढिलो भइसकेको हुनेछ । त्यसैले युवाहरूसँग अन्तर्क्रिरया गर्दा म बारम्बार भन्ने गर्छु –आज तपाईंले बालेको टायरले र गरेको गल्तीले १० वर्षपछि तपाईंलाई नै पोल्नेछ । किनभने, त्यति बेला तपाईंसँग न त गुणस्तरीय शिक्षा हुनेछ न त क्षमता नै । यो अलिकति भावना, अलिकति कामना र अलिकति आगो मिसिएको पत्रले तपाईंलाई कहीँ कतै चोट पु¥याएको रहेछ भने क्षमा गरिदिनुहोला ।
तपाईंजस्ता दसौं लाख नेपाली युवाको जीवन बर्बाद भएको मेरा आँखाले देखेका छन् । ती सबै देख्दादेख्दै फेरि तपाईंको जीवन पनि बर्बाद नहोस् भन्ने मेरो कामना हो । तपाईंप्रतिको सहृदयिता हो । तपाईंको अवस्थाले सल्केको मनबाट बलेको आगो हो । झर्न नसकेको आँशु शब्दमा पोखिएको हो । बाँकी तपाईंको जिम्मा । अधिनायकवादमा अधिनायक सर्वशक्तिमान हुन्छ । उसलाई ढाल्न कठिन हुन्छ । तर लोकतन्त्रमा मतदाता सर्वशक्तिमान हुन्छ र उसको विवेकपूर्ण निर्णयले सिँगो देशको मुहार फेर्न सक्छ । त्यसैले, यो देशको दुर्गतिका लागि नेताभन्दा बढी तपाईंजस्ता युवा जिम्मेवार छन्, जसले महाभ्रष्ट नेताको ‘हो’ मा ‘हो’ मिलाइदिँदा ती नेताले आत्मबलपूर्ण निरन्तरता पाएका छन् ।
चोरको त धर्म नै चोर्नु हो । तर गल्तीचाहिँ उसको हो, जसले चोर हो भन्ने जान्दाजान्दै ढुकुटीको साँचो सुम्पन्छ । त्यस्तो गल्ती फेरि नगरौं । आजसम्म जे भयो, भयो । तर अब पुग्यो । तपाईं बदलिनुभयो भने यो देश बदलिन्छ । अन्यथा, भ्रष्टहरूले आह्वान गरेको जुलुसमा उत्रेर, तोड फोड र हिंसा गरेर, सत्तामा तिनै भ्रष्ट नेता बदलिन्छन्, यो देश बदलिँदैन ।
(लेखक विवेकशील साझा पार्टीका अध्यक्ष हुन्।)
सेतोपाटीबाट साभार..

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार