राजनीतिक संस्कारमा चरित्र


बालुवाटारबाट बालकोटको बार्दलीमा पुगेर अभिव्यक्त हुन थालेको पीडा विस्तारै कम हुँदैछ ।
सत्ता छाड्नु भनेको आफूलाई जन्म दिने बाबुआमाको मृत्युभन्दा पीडादायक हुने रहेछ । पछिल्लो समय सत्ताबाट बाहिर आएपछिका नेताहरूका अभिव्यक्तिले यो आभाष गराएको छ । प्रधानमन्त्रीबाट बाहिरिनुभएका केपी शर्मा ओलीले कति इमानको राजनीति गर्नुभयो र दुईतिहाइ नजिकको बहुमत के कारणले गुम्यो ? यसको विश्लेषण हरेक कोण र हरेक खालका मानिसबाट भइसकेको छ । तर सरकार गठनसम्बन्धी संविधानका हरेक धारा मेरा लागि लेखिएका हुन् र अर्को व्यक्तिलाई कुनै हालतमा आउन दिइँदैन भन्ने अन्तिम प्रयास उहाँले गर्नुभयो । तर संविधानको व्याख्या राजनीतिक दल वा उसका नेताले गरेको मात्र सत्य हुने रहेनछ । अन्ततः संविधानको कार्यान्वयन गर्ने हैसियतमा रहेको व्यक्तिले निर्लज्ज ढङ्गमा आफैँले संविधान मिचेको ठहर अदालतले ग¥यो र उहाँ प्रधान मन्त्रीबाट हटाइनु भयो । बालुवाटारबाट बालकोटको बार्दलीमा पुगेर अभिव्यक्त हुन थालेको यो पीडा विस्तारै कम हुन थालेको छ । यद्यपि, प्रतिशोधको राजनीतिक भावबाट उहाँ मुक्त हुन सक्नुभएको छैन भन्ने आभाष संसदमा बोल्दै गर्दाका अभिव्यक्तिले दिएका छन् ।
लुम्बिनी प्रदेश सरकारबाट हट्दै गर्दा लुम्बिनी प्रदेशका निवर्तमान मुख्यमन्त्री शंकर पोखरेलमा यस्तै पीडा देखापरेको छ । वैशाख १९ पछि उहाँको सरकारको वैधानिकता कहाँ थियो ? यो प्रश्नको राम्रो विश्लेषण गर्न सक्ने हैसियत शंकर पोखरेल आफैँमा छ । उहाँले अविश्वासको प्रस्तावको सामना कहिल्यै गर्नुभएन । दुवै पटक अविश्वासको प्रस्तावको सामना नगरी मतदान हुने दिन राजीनामा दिएर उहाँले राजनीतिक संस्कार देखाउने हिम्मत गर्नुभएन । उहाँले विद्यार्थी राजनीति गर्दै गर्दा निरंकुश र निर्दलीय पञ्चायतकालका प्रधानमन्त्री सूर्यबहादुर थापाले २०४० सालमा देखाउनु भए जति राजनीतिक चरित्र पनि देखाउन सक्नुभएन । सूर्यबहादुर थापालाई राजीनामा दिन राजा वीरेन्द्रबाट दबाब आएको थियो । तर उहाँले राजीनामा दिनु सट्टा अविश्वासको प्रस्ताव सामना गर्ने आँट गर्नुभयो । राष्ट्रिय पञ्चायतका १२५ सदस्यमध्ये १७ मत मात्र उहाँलाई प्राप्त भयो । तर उहाँले त्यही सत्र भाइका नाममा पञ्चायतको राजनीति गरिरहनुभयो । एमाले नेता शंकर पोखरेल एउटा राजनीतिक कर्मबाट माथि आएको मात्र होइन, राजनीतिक भविष्यसमेत भएको नेता हो । एमालेमा ओलीको वर्चस्व रहँदै गर्दा पोखरेललाई उत्तराधिकारीका रूपमा समेत हेर्ने गरिएको छ । तर जुन शैलीमा उहाँले मुख्यमन्त्रीमा टिक्ने तिकडम गरिरहनु भयो, चरित्रगत रूपमा पनि ओलीको खास उत्तराधिकारीमा उहाँ नै प्रस्तुत हुनुभयो । संविधानको धारा १६८ (१) को एकल बहुमत रहेको दलको सरकार गठन गर्नुभएका पोखरेलको एमाले र माओवादी विभाजनपछिको स्थितिमा परिवर्तन आयो र अविश्वासको प्रस्ताव दर्ता भयो । उहाँले अविश्वासको प्रस्तावको सामना गर्नुभएन, राजीनामा गर्नुभयो । तर लगत्तै त्यही दिन अविश्वासको पक्षमा रहेका जनता समाजवादी पार्टीका केही सदस्यको साथ लिएर सरकार गठन गर्नुभयो । यो सरकार एकल बहुमतको सरकार थिएन । तर यसलाई १६८(१) को नाम दिन लगाइयो र यसका लागि प्रदेश प्रमुखलाई गलत ढंगमा प्रयोग गरियो । प्रदेश प्रमुखले आफ्नो मर्यादा बिर्सेर मुख्यमन्त्रीको कार्यालयमा पुगेर शपथ ग्रहण गराउनु भयो ।
उहाँको राजीनामापछि प्रदेश प्रमुखले सरकार गठनका लागि आह्वान गर्नु पर्दैनथ्यो ? एकल बहुमतको सरकारले राजीनामा दिएपछि १६८ (२) को सरकार गठन हुनुपर्ने होइन ? ‘म त झुक्किएँछु, बहुमत त मेरै रहेछ’, भन्न पाइने हो ? सोही दलको सरकार बन्ने भए पनि संसदीय दलको नेता परिवर्तन हुनुपर्ने होइन ? २०५८ सालमा गिरिजाप्रसाद कोइरालाले काँग्रेसको बहुमत हुँदाहँुदै आन्तरिक कारण राजीनामा दिनुभयो तर राजीनामापछि पनि फेरि म नै प्रधानमन्त्री हुन्छु भन्नु भएन । संसदीय दलमा नेताका लागि फेरि निर्वाचन भयो र सुशील कोइरालालाई हराएर शेरबहादुर देउवा प्रधानमन्त्री बन्नुभयो । एमालेले संसदीय अभ्यास सिक्दै गर्दा शंकर पोखरेल यही राजनीतिमा हुनुहुन्थ्यो, होइन र ? दुई दलको सरकारले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संविधानको व्यवस्था शंकर पोखरेलका नाममा छुट कसरी हुनसक्यो ? किन दुई दलको सरकारलाई प्रदेश प्रमुखले एकल बहुमतको मान्यता दिनुभयो ? के मुख्यमन्त्री र प्रदेश प्रमुखको राजनीतिक स्वार्थ मिलेपछि संविधान आफैँ निष्क्रिय हुन्छ ? उहाँले १६८(२) को सरकार गठन गरेर विश्वासको मत लिनुभएको भए कम्तीमा एक वर्ष उहाँका विरुद्ध अविश्वासको प्रस्ताव आउने त थिएन । कागजस्तै बाठो हुँदै गर्दा शंकर पोखरेलले पनि प्रदेश सभामा सामान्य बहुमतसमेत गुमाउन भयो र यस पटकको राजीनामामा छलछामको गुञ्जायश रहेन । भएको यत्ति मात्रै हो । राजनीतिक संस्कार भएकाहरू एउटा निर्वाचनमा हार्छन् वा सत्ताबाट हटाइन्छन् र पनि फेरि राजनीतिमा स्थापित हुन्छन् । राजनीतिक संस्कार र चरित्र नभएकाहरूको राजनीति भने आफैँ समाप्त भएर जान्छ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुुब्बा गुरुङले पनि शंकर पोखरेलको सिको गर्न नखोज्नु भएको होइन । सांसद लुकाउने, दबाब दिने र विवेक प्रयोग गर्न नदिने दुष्प्रयास त्यहाँ पनि गरियो । लुम्बिनीमा सांसद लुकाउने र जबर्जस्ती वक्तव्यबाजी गराउने पछिल्लो घटना त राजनीतिक कुसंस्कारको चरम रूप थियो । पदमुक्त हुने संविधानको व्यवस्था कायम रहन नसकेपछि सत्ता छाडेर प्रतिपक्षी भूमिका गर्नु गुरुङको राजनीतिक संस्कार हो । तर शंकर पोखरेलको पीडा र प्रवृत्तिले भने उहाँका बारेमा आममानिसले बनाएको धारणामाथि आफैँबाट प्रहार भएको छ । लुम्बिनी प्रदेशमा सरकार फेरिएको भोलिपल्ट तत्कालीन सरकारका प्रवक्ता अर्को अर्थमा शंकर पोखरेलका प्रवक्ता बैजनाथ चौधरीले अत्यन्त अराजनीतिक शब्द प्रयोग गर्दै अभिव्यक्ति दिनुभयो । आफू रहेको सरकार वैशाख १९ पछि कसरी टिकेको थियो भन्ने बिर्सेर चौधरीले प्रयोग गर्नुभएको भाषा यस्तो थियो– ‘‘अनेकौँ प्रलोभन देखाएर सत्तामा जानु र सत्ता टिकाउन खोज्नु यो सरकारको अनैतिक र आपराधिक कार्य हो । यस्तो अनैतिक र आपराधिक मानसिकताबाट बनेको यो सरकार धेरै दिन टिक्न सक्दैन । अनेकौँ तिकडम, जालझेल, षड्यन्त्र गरेर सरकार बनाउनु कुनै ठूलो कुरा होइन ।’’ यो हिजो आफूले गरेका कर्मप्रतिको व्यङ्ग थियो वा सत्ताबाट हट्नुपर्दाको पीडा ? संसदीय अभ्यासमा प्रतिपक्ष भएपछि राख्नुपर्ने मर्यादा के यही हो ? यस्तै हो ? ओलीदेखि पोखरेलसम्मले सरकार छाड्नुपर्ने कारण केवल राजनीतिक हो । नेकपाको राजनीतिलाई ठीक ढंगमा सञ्चालन नगरेको दोष जसले बोक्नुपर्ने हो, उहाँहरूलाई सत्ताच्युत गराउने कारक पनि त्यही व्यक्ति र प्रवृत्ति हो । यो सत्यलाई स्वीकार गर्न नसकेका कारण अहिले एमाले विभाजनउन्मुख भएको छ । अब माओवादीका अध्यक्ष प्रचण्डलाई गाली गरेर मुखको तीतो पखाल्न सकिन्छ, तर एमालेको राजनीति त्यो ढंगमा सङ्लिन सक्दैन आज शंकर पोखरेललाई प्रचण्डले माधव नेपालको ढाडमा टेकेर एमाले अध्यक्ष केपी शर्मा ओलीको टाउकोमा हान्ने कोसिस गरेको भन्ने लागेको छ । हिजो उनै प्रचण्डलाई केपी ओलीले शेरबहादुर देउवाको ढाडमा टेकेर काँग्रेसको टाउकोमा हान्न लगाएको होइन । हिजो अरूलाई हान्दा आनन्द मान्नेले आज त्यसैलाई पीडा मान्न
मिल्छ ? राजनीतिमा कहिले सासूको पालो, कहिले बुहारीको पालो । यो त देखिँदै र भोगिदै आएको होइन र ? यतिबेलाको प्रश्न यो पनि होइन । नेपाली काँग्रेस कम्तीमा पाँच वर्षका लागि प्रतिपक्षमा बस्न तयार भएकै हो । आफैँले गराएको चुनावमा आएको यो परिणामलाई देउवाले सहर्ष स्वीकार गरेर त्यहीअनुसारको भूमिकामा रहनुभएको पनि हो ।
ओलीको हथौडा समाएर प्रचण्डले टाउकोमा प्रहार गर्दा देउवाले कुनै अराजनीतिक प्रतिक्रिया दिनुभएको पनि होइन । अझ नेकपा भएका ओली र प्रचण्डले अब पचास वर्ष काँग्रेसले सत्तामा फर्केर नहेरे हुन्छ पनि भन्नु भएकै हो । अब दुई पाइलटले जेट विमान हाक्छन् भन्दै गरेको पनि सबैले सुनेकै हुन् । तर अर्को पाइलटलाई चाहिँ यहीँबाट खसाली दिन्छु भन्दा विमान दुर्घटनामा पर्छ भनेर सोच्न नसकेका कारण यो परिणाम आएको होइन ? त्यसैले अहिलेको मूलप्रश्न राजनीतिक चरित्रको हो । राजनीतिमा कोही पनि स्थायी शत्रु वा मित्र हुँदैन भनेर त नेपालका कम्युनिस्टहरूले नै धेरै भन्दै आएका हुन् । केवल राजनीतिक चरित्र देखाउनसक्नु नै सफलताको सबैभन्दा ठूलो मन्त्र हो भन्ने यी घटनाले पुष्टि गरेको छ ।
साभार………..

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार