सौराहादेखि सिंहदरबारसम्म


नेकपा एमाले पार्टीको आकार र आयतन सुदृढ एवं व्यापक बनेको छ । सौराहाबाट एमालेले आफ्नो आन्तरिक जीवनमा गुटबन्दी र अराजकतालाई पराजित गरेको छ ।
मंसिर १० गते मध्याह्न लाखौं जनता र कार्यकर्ता उपस्थित रहेको नारायणतीरको झकिझकाउ मञ्चमा अध्यक्ष केपी शर्मा ओलीसँगै प्रधानमन्त्री शेरबहादुर देउवा उक्लिए । परमादेशबाट प्रधानमन्त्री भएका पाका राजनीतिज्ञ देउवाले एमाले महाधिवेशन सफलताको शुभकामना दिए । यससँगै विगत केही समयदेखि जारी ओली–देउवा तिक्ततामा आइसब्रेक भएको छ । त्योभन्दा एक कदम अगाडि संसारभरका मजदुरले मात्रै गाउने अन्तर्राष्ट्रिय गीतको धुनमा ओलीसँगै देउवा मञ्चमा उभिए । तर आफ्नै गृह क्षेत्रमा आयोजित ऐतिहासिक समारोहमा सामेल भएर विगतको तिक्तता हटाउने उल्लेख्य अवसर पाएर पनि माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्यो मौका गुमाए ।
उद्घाटन समारोहमा देउवासँगै दर्जनौं स्वदेशी र विदेशी अतिथिले एमालेलाई शुभकामना दिएर सहकार्यको ढोका खुलै रहेको संकेत गरे। एसिया र संसारभरका २८ वामपन्थी, गैरवामपन्थी, सत्तारूढ र प्रतिपक्षी राजनीतिक पार्टीले शुभकामना सन्देश दिए । उनीहरूले एमालेको विशाल अन्तर्राष्ट्रिय सम्बन्धको पुष्ट्याइँ गरे । उद्घाटन समारोहमै नारायणी नदीको वारिपारि लामबद्ध लाखौं जनताले समृद्ध नेपाल र सुखी नेपालीको एजेन्डा र ओलीको नेतृत्वलाई सम्पूर्ण रूपमा अनुमोदन गरे ।
एकताको सन्देश
एमाले महाधिवेशनको एउटा महत्वपूर्ण परिदृश्य एकताको सन्देश नै हो । यही पृष्ठभूमिमा नेकपा एकता, पार्टी जीवनमा उतारचढावका तीन वर्ष, नेतृत्वमाथि मध्यपन्थीहरूले गरेको हमला र त्यसको सामना गर्न यो अवधिमा हजारौं कार्यकर्ता र लाखौं जनताको परिचालनको उत्कर्ष हो, दसौं महाधिवेशन । २० को दशकको अन्त्यतिर विभाजित नेकपाको एकातिर केन्द्रीय न्युक्लस, चौथो महाधिवेशन, मसाल, माओवादी र अर्कोतिर पुष्पलाल समूह कोर्डिनेसन केन्द्र, माले माक्र्सवादी हुँदै एमालेसम्म आइपुग्दा नेपाली कम्युनिस्ट आन्दोलन स्पष्ट दुईवटा धारमा विभक्त थियो । त्यसको मूल प्रवृत्ति शान्तिपूर्ण र सशस्त्र दुवै रह्यो । ती दुवै धारको संगम विगतको नेकपा थियो । त्यही नेकपाको निरन्तरताको रूपमा आजको एमाले आइपुगेको छ । उक्त विषय नीति र नेतृत्वमा अभिव्यक्त भएको छ । ओली अध्यक्ष र रामबहादुर थापा उपाध्यक्ष निर्वाचित हुनु पूर्ववती दुई भंगालाहरूको संगम हो, चितवन महाधिवेशन। तीन महिनासम्म कम्युनिस्ट आन्दोलनको मूल प्रवाहमा हजारौं कार्यकर्ता सामेल गर्ने गरी एकीकरण अभियान सञ्चालन गर्ने उद्घोष अध्यक्ष ओलीले अधिवेशनमा गरिसकेका छन् ।
सुस्पष्ट कार्यदिशा
एमालेले गोदावरीमा भएको विधान अधिवेशनमा जनताको बहुदलीय जनवादको मार्गदर्शनमा समाजवादी दिशामा अगाडि बढ्ने अठोट गरिसकेको थियो। त्यस्तो समाजवादी राजनीतिक क्रान्तिको स्वरूप मूलभूत रूपमा शान्तिपूर्ण र प्रतिस्पर्धाको बाटोबाटै हुनेछ । त्यसो त नेपालमा प्राप्त लोकतन्त्र, समतामूलक चरित्रको राज्यव्यवस्था सहित प्राप्त लोकतान्त्रिक उपलब्धि संयुक्त जनक्रान्तिको परिणाम थियो । त्यस्तो संघर्षमा कम्युनिस्ट जनमतको बहुमत हिस्सा थियो । आगामी दिनमा कम्युनिस्ट पार्टीको नेतृत्वमा राष्ट्रिय पुँजीको विकास, राष्ट्रिय स्वाभिमानको उठान र दलाल पुँजीवादको पञ्जाबाट राज्यव्यवस्था लाई कुन हदसम्म मुक्त गर्न सकिन्छ । त्यसले नै हाम्रो समाजवादी क्रान्तिको भविष्य तय हुनेछ । विधान महाधिवेशनको जगमा सौराहा महाधिवेशनले आगामी पाँच वर्षका लागि नयाँ नेतृत्व चयन ग¥यो । नेतृत्वले हलमा प्रस्तुत गरेको प्रस्तावलाई महाधिवेशन प्रतिनिधिहरूले अनुमोदन गरे। प्रतिनिधिहरूले जनवादको प्रयोग गरे र नेतृत्वले त्यसको अभिव्यक्ति सहमतिमा ग¥यो । पार्टीमा अभूतपूर्व एकता कायम भयो । आगामी समाजवादी राजनीतिक यात्राका लागि प्रतिस्पर्धात्मक लोकतन्त्रको जगमा समाजवाद निर्माणको आधार तयार पारिनेछ । त्यसका लागि सौराहा टु सिंहदरबारको नीति, नेतृत्व र कार्यक्रमसहितको नयाँ एमाले निर्माण भयो ।
सांगठनिक
अराजकताको अन्त्य
नेकपाकालीन समयमा झांगिएको सांगठनिक अराजकताको बीज माओवादी केन्द्रले रोपेको थियो । त्यसको विरासत एमालेमा समेत हस्तान्तरण भयो । २०७७ फागुन २३ को सर्वोच्चको पैmसलापछि एमालेको सांगठनिक संरचना २०७५ सालमा फर्कियो । सँगै नेकपाको निरन्तरतासहित पूर्व माओवादी पक्ष एमालेमा सामेल भयो । आन्तरिक एकताका लागि थप दशबुँदे सहमति गरियो । एउटा समयसम्म सांगठनिक स्वरूपमा समस्या देखा प¥यो । महाधिवेशनले एमालेको केन्द्रदेखि टोलसम्म कमिटीहरूको संख्या निर्धारण भएको छ । पार्टी सदस्यता आठ लाख नाघेको छ । आगामी एकाध महिनामा जिल्ला र प्रदेश अधिवेशन सम्पन्न हुँदैछन् । पार्टीको आकार र आयतन सुदृढ एवं व्यापक बनेको छ । पार्टीका सबै तहका अधिवेशन मूलभूत रूपमा सहमतिमै सम्पन्न हुँदैछन् । योग्यता अनुभव, लोकप्रियता, आवश्यकता र निष्ठाका आधारमा नेतृत्व चयन भइरहेको छ । सौराहाबाट एमालेले आफ्नो आन्तरिक जीवनमा गुटबन्दी र अराजकतालाई पराजित गरेको छ ।
समृद्धि, विकास र समाजवाद
नेकपा गठनदेखि विघटनसम्मको राष्ट्रिय राजनीतिक उतारचढावको सबैभन्दा धेरै सामना गर्ने व्यक्ति अध्यक्ष ओली नै हुन् । वाममोर्चा गठनदेखि पार्टी एकता र आफ्नै नेतृत्वमा बहुमतको शक्तिशाली सरकार निर्माण गरेसँगै उनको व्यक्तित्व उचो भएको थियो । ओली नेतृत्वको सरकारले समृद्धि र विकासको एउटा नयाँ परिभाषा र भाष्य निर्माण गरेको छ । प्रधानमन्त्रीकालमा नेपाली जनताका मूच्र्छित सपनाहरू जगाएका उनले राजनीतिक स्थिरताका लागि नेकपाभित्रको जटिल राजनीतिक अन्तरसंघर्षमा धेरै पटक एक्लै पर्नु प¥यो । आजको नेकपा एमालेले नेकपाकालमा आफ्ना अध्यक्षले व्यहोरेको चर्को घेराबन्दी बिर्सेको छैन । अध्यक्षले लाखौं जनताका बीचमा नारायणी किनारामा उद्घोष गरेका छन् कि अबको एमाले कम्युनिस्ट आन्दोलनको मात्रै होइन, राष्ट्रिय राजनीतिको नै मूल पार्टी हो । चितवन अधिवेशनको एउटा महत्वपूर्ण सन्देश यो हो कि एमाले त्यही मूच्र्छित सपनाहरूको पुनर्जागरण गर्न आगामी निर्वाचनमा बहुमतका साथ सरकार निर्माण गर्ने गरी आन्तरिक र बाह्य मोर्चामा तयारी गर्दैछ ।
नेकपाकालीन अन्तरसंघर्षको तुष उपल्लो नेतृत्वमा रहिराखे पनि माओवादी र समाजवादी र अन्य वाम घटकका कार्यकर्तालाई एमालेले सामेल गर्न एकीकरण अभियानका कार्यक्रम सञ्चालन गर्ने भएको छ । ओलीको नेतृत्वमा एमालेले आजको युगअनुकूल राष्ट्रवादको नयाँ परिभाषा तय गरेको छ । उनले सार्वभौम समानता माथि पटकपटक जोड दिएका छन् । बन्दसत्रको पहिलो दिन दुई घण्टा प्रतिनिधिबीच धाराप्रवाह मन्तव्य उनले दिए । उनले नेपालको सांस्कृतिक विरासत सार्वभौम समानताका मान्यता, शक्तिसँग नझुक्ने नयाँ राष्ट्रिय पहिचान, समुन्नत राष्ट्रका लागि विकासको स्पष्ट मार्गचित्रसहित समाजवाद र विश्व कम्युनिस्ट आन्दोलनको भविष्यमाथि निकै ओजपूर्ण विचार प्रस्तुत गरेका थिए। छिमेकी र मित्रराष्ट्रहरूसँग हामीले निर्माण गर्ने सम्बन्ध अहिलेसम्म अपनाएका सार्वभौम समानता, पञ्चशील, सहअस्तित्व र समझदारीमा अगाडि बढाउन एमाले जहिले पनि तयार छ ।
अन्तर्राष्ट्रिय आयाम
पछिल्लो समय विश्व व्यवस्थामा देखा परिरहेका नयाँ संकट र पुँजीवादी बीचको अन्तरसंघर्षलाई एमालेले सूक्ष्म रूपमा हेरिरहेको छ । शीतयुद्ध हुँदै सोभियत संघको विघटनपछि अमेरिकी नेतृत्वको एकल धु्रवीय विश्व व्यवस्थामा देखिने गरी परिवर्तन भएको छ । कोभिडले उत्पन्न अर्थराजनीतिक संकटको समाधान गर्न पुँजीवाद असफलजस्तै भएको छ । छिमेकी चीनको नेतृत्वमा उदाउँदा अर्थतन्त्रहरूको नयाँ स्तरमा सहकार्य भइरहेको छ । राष्ट्रपति सीको नेतृत्वमा चीनले बेल्ट एन्ड रोड इनिसियटिभमार्फत एसिया, युरोप र अफ्रिका जोड्ने गरी महत्त्वाकांक्षी रणनीतिक लक्ष्य अगाडि बढाइरहेको छ । एसियाली क्षेत्रमा स्पष्ट रूपमा पुँजीवादी र समाजवादी शक्तिहरूका बीचमा रणनीतिक, रक्षा, सैन्य, आर्थिक, कूटनीतिक र राजनीतिक मोर्चामा प्रतिस्पर्धा र संघर्ष भइरहेको छ। विश्वस्तरमा देखा परेको बहुध्रुवीय विश्वव्यवस्थाको शक्तिसंघर्षको पटकथा एसियाली जमिनमा लेखिँदैछ
नेपाल एउटै समयमा बीआरआई र एमसीसीमा सामेल भएको छ । शक्ति राष्ट्रहरूका रणनीतिक आयोजनाहरूमा सामेल भएको मुलुकको राजनीतिक नेतृत्त्व जति कमजोर भयो, त्यति नै हाम्रो राष्ट्रिय स्वाभिमान र अखण्डतामाथि प्रश्नहरू उठ्ने गर्छन् । महाशक्तिहरूबीचको प्रतिस्पर्धामा हाम्रोजस्तो भूरणनीतिक महत्व भएको देश हो नेपाल । यसले कसरी चलाखीपूर्ण नेतृत्व गर्ने भन्ने विषय एमाले नेतृत्वभन्दा बाहिर कल्पना पनि गर्न सकिँदैन । हाम्रा मित्र र प्रतिस्पर्धी शक्तिहरूले एमालेको महाधिवेशनलाई सूक्ष्म रूपमा आँकलन गरिरहेका छन् । सम्भवतः निकट भविष्यमै उनीहरूले नयाँ स्तरमा सहकार्य गर्न एमालेसँग प्रस्ताव गर्न सक्छन् । एमाले महाधिवेशनले बढ्दो क्षेत्रीय र अन्तर्राष्ट्रिय शक्ति संघर्षको सिंहावलोकन गरेको छ । सोही मुताविक एमाले र मुलुकले आगामी यात्रा तय गर्नेछ ।
राजनीतिक प्रभाव
एमाले र एमालेविरोधी गरी दुई ध्रुवमा विभक्त राजनीतिक शक्ति संघर्षमा महाधिवेशनपछि एमालेको मोर्चा संगठित भएको छ । विरोधीहरूले आकलन गरेभन्दा एमालेको शक्ति सुदृढ छ भन्ने आधार तय भएको छ । राष्ट्रिय, अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा महाधिवेशन सम्बन्धमा गरिएका टिप्पणीहरूले एमालेलाई राष्ट्रिय राजनीतिको निर्विकल्प मूलप्रवाह र पुँजीवाद तथा साम्राज्यवाद विरोधी शक्तिशाली पार्टीका रूपमा अथ्र्याएका छन् । यसको प्रभाव मुलुकभित्रको वामपन्थी जनमतमा मात्रै पर्ने छैन । एसियाली समाजवादी आन्दोलनमा समेत सकारात्मक प्रभाव पर्नेछ । सत्ता गठबन्धनभित्र तीव्रतर रूपमा देखा परेको स्वार्थहरूको गहिरिँदो संकट एमालेले राम्रोसँग नियालेको छ । आगामी निर्वाचनसम्म सत्ता गठबन्धनमा विखण्डन स्वाभाविक छ । सत्ता गठबन्धनलाई उचित राजनीतिक जवाफ दिन एमाले एक्लै काफी छ । सम्भवतः नेपाली कांग्रेसको आसन्न महाधिवेशनमा पार्टी नेतृत्व माओवादीको एजेन्डामा लपेटिएको विषयमा प्रतिनिधिहरूको कठोर प्रश्नको जवाफ कांग्रेस सभापतिले दिनु पर्नेछ । निर्वाचनसम्म कांग्रेससँगको गठबन्धन बचाएर राजनीतिक अस्तित्व जोगाउन भगीरथ प्रयत्न गरेका प्रचण्ड, माधव नेपालको आकांक्षालाई कांग्रेस अधिवेशनले तुषारापात गर्ने निश्चित जस्तै छ। एमालेको पहिलो प्राथमिकता आगामी निर्वाचन नै हो । त्यसका लागि समृद्ध नेपाल र सुखी नेपालीको अभियानमा मित्रहरूको घेरा फराकिलो पारे अध्यक्ष ओलीले । उनले घोषणा गरेजस्तै एमाले सिंहदरबारको मूल ढोकाबाट सत्तामा पुनरागमन गर्नेछ । चितवन महाधिवेशनले सोही राजनीतिक मार्गचित्र तय गरेको छ ।
(रेग्मी नेकपा एमालेका केन्द्रीय सदस्य हुन् ।)
साभार अन्नपुर्णबाट

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार