आगामी दिनमा मानसिक स्वास्थ्यसम्बन्धी सचेतना र मनोवैज्ञानिक प्राथमिक उपचारको सेवा आमनागरिकलाई पु¥याउनै पर्ने चुनौती सरकारलाई छ ।
विश्व स्वास्थ्य संगठनका अनुसार हरेक वर्ष आठ लाखभन्दा बढी मानिस आत्महत्या गर्छन् । त्यसो त १५ देखि १९ वर्ष समूहका किशोरकिशोरीको मृत्युको प्रमुख चौथो कारणमा आत्महत्या पर्ने गरेको देखिन्छ । एकजनाको आत्महत्याका कारण परिवारसहित कम्तीमा ६ जनामा प्रत्यक्ष प्रभाव पर्ने अध्ययनहरूले देखाएका छन् । यसबाहेक आफन्त, छरछिमेकी, इष्टमित्रलगायत प्रत्यक्ष एवं परोक्ष रूपमा असर परेको देखिन्छ । विश्व व्यापी समस्याका रूपमा रहेको आत्महत्याका कुल संख्यामध्ये ७७ प्रतिशत विपन्न र अतिविपन्न नागरिक रहेका मुलुकमा हुने गर्छन् यसैले आत्महत्यालाई आर्थिक–सामाजिक विषयवस्तुसँग पनि जोडेर हेर्ने गरिन्छ । गरिब राष्ट्रमा आत्महत्याको दर बढी हुनुमा आर्थिक पछौटेपन, सामाजिक चिन्तन, चेतनाको स्तर तथा शारीरिक र मानसिक अवस्थालाई कारकका रूपमा लिने गरिन्छ ।
जस्तोसुकै चोट, पीडा र व्यथा वा समस्या परे पनि त्यसलाई सहेर वा फरक किसिमले व्यवहार गरेर जीवन बचाउन चाहनु हरेक प्राणी मात्रको नैसर्गिक प्रवृत्ति हो । मानिसले पनि अन्तिम अवस्थासम्म आफूलाई बचाउन चाहन्छ । सामान्यतया एउटा घटना विशेषमा असफल हुनाले अथवा अन्य कुनै आर्थिक–सामाजिक कारणले मानिसले आत्महत्या ग¥यो भनेर अनुमान गर्ने गरिए पनि वास्तविकता त्यस्तो होइन । प्रत्यक्ष देखिने एउटा मात्र घटना भए पनि आत्महत्या गर्नुका पछाडी अनेक कारण हुन्छन् ।
आत्महत्यासम्बन्धी
सामाजिक मान्यता
नेपाललगायतका मुलुकमा आत्म हत्यासम्बन्धी सामाजिक मान्यता वैज्ञानिक आधारमा विकसित भएको देखिँदैन । हाम्रो समाजमा आत्म हत्यासम्बन्धी कुरा पनि उचित ठानिँदैन । कसैले आत्महत्यासम्बन्धी कुरा ग¥यो वा आत्महत्या ग¥यो भने त्यसलाई उसको व्यक्तिगत कमजोरी मान्ने गरिन्छ । ‘मनको बह कसैलाई नकह’ भन्ने नेपाली उक्तिले आफ्ना कमजोरी र पीडालाई बाहिर अभिव्यक्त गर्न रोक लगाएसरह छ । अरू सामु नंग्याउनु भन्दा आफैंले सहन गर्नु बुद्धिमानी हो भन्ने समाजको मनोविज्ञानले देखाउँछ । इज्जत प्रतिष्ठामा दाग लाग्ने किसिमको काम गरेमा वा मनलाई नियन्त्रण गर्न नसकी अनैतिक वा असामाजिक काम गरेमा समाजका अगाडि नाक देखाउनु हुँदैन । त्यसैले सामाजिक रूपमा बेइज्जती हुनुभन्दा आत्महत्या गर्नु नै बेस हुन्छ भन्ने किसिमका मान्यताले समेत समाजमा जरो गाडेको छ । अर्कोतिर परम्परागत धार्मिक, सांंस्कृतिक प्रचलनअनुसार अरू कसैको वा आफ्नो हत्या गर्नुलाई पापकर्म मानिन्छ । सामाजिक सम्बन्धनका दृष्टिले पश्चिमा समाजभन्दा नेपाली समाज स्वाभाविक, सामाजिक र अन्तक्रियात्मक रहन्छ । यद्यपि आत्महत्यासम्बन्धी विचार वा आत्महत्याका घटनाका बारेमा छलफल गर्ने विषयमा भने संकुचित नै देखिन्छ ।
किन गर्छन् आत्महत्या ?
जीवनप्रतिको निराशा, वितृष्णा, एक्लोपना र निःसहाय महसुस गरे पछि व्यक्तिले आफूलाई जीवित राख्नु को अर्थ देख्दैन । आफूलाई पूर्ण रूपमा असहाय ठानेपछि मस्तिष्कमा डोपामाइन र सेराटोनिनजस्ता खुसी तत्त्वलाई वृद्धि गर्ने रसायनहरूको उत्पादनमा कमी आउँछ । उदासीनता, एन्जाइटी, ध्रुवीयता विकार, चित्तवृत्ति विकार र स्किजोफेर्नियाजस्ता जटिल किसिमका मानसिक रोगले व्यक्तिमा जीवनप्रतिको नकारात्मक सोच बढ्दै जान्छ । फलतः यस्ता व्यक्ति समय, सामाजिक मूल्य र जीवनप्रति समेत नकारात्मक बन्छन् । संंसारभर हुने आत्महत्यामध्ये ९० प्रतिशतभन्दा बढी आत्महत्याको कारण यस्तै मानसिक समस्या हुने गरेको छ । मानसिक समस्या मध्ये ८० प्रतिशत आत्महत्याको कारकका रूपमा उदासीनता वा डिप्रेसन देखिन्छ । बाल्यकालदेखि नै दुव्र्यसन वा आघातमा परेको, मनोशारीरिक विकास र सन्तुलनमा अवरोध सिर्जना भएको, अति प्रतिस्पर्धी, अस्वस्थ आचरण, लागू पदार्थ सेवन र अत्यधिक तनाव मानसिक विकृतिका कारक बनेका हुन्छन्। खासगरी १० देखि १८–१९ वर्ष सम्मको अवधि मानसिक वृद्धि र विकासका लागि निकै महत्वपूर्ण हुन्छ ।
विभिन्न किसिमका हर्मोनहरूको विकास हुने समय भएकाले यतिखेर तीव्र शारीरिक र मानसिक परिवर्तन हुने गर्छ । यस समयमा उचित किसिमको पारिवारिक वातावरण, संगत र परामर्श नभएमा क्षणिक कारणले समेत विचलित हुने र आत्महत्या गर्ने गरेको पाइन्छ । नेपाली समाजमा मानसिक परामर्शलाई स्वाभाविक र सकारात्मक रूपमा ग्रहण गर्ने परिपाटीको विकास हुन सकेको देखिँदैन । तनाव तथा अन्य मानसिक परिवर्तनमा अस्वाभाविकता महसुस गरे पनि व्यक्ति मनोवैज्ञानिक वा मनोचिकित्सककहाँ परामर्शका लागि जान हिचकिचाउँछन् । घरपरिवारमा खुलेर कुराकानी नगर्ने तथा शारीरिक र व्यवहारगत विचलन देखिँदा पनि सहयोग लिनुपर्छ भन्ने चेतनाको अभाव छ । यसले सामान्य किसिमका मानसिक रोगहरूले पनि उपचारको अभावमा जटिल रूप लिने गर्छन । व्यक्तित्व, आहार, निद्रा र दैनिक क्रियाकलापमा भएको परिवर्तनलाई आफन्त तथा साथीभाइले ख्याल गर्ने हो भने आत्महत्याबाट हुने मृत्युको दरलाई कम गर्न सकिन्छ । प्रारम्भिक अवस्थामै उचित किसिमको परामर्श र सहयोग दिन सकियो भने सामाजिक कारणबाट सिर्जना भएका मानसिक समस्याहरू गाउँघरमै समाधान हुन सक्छन् । व्यक्ति विशेषमा कुनै पनि बेला नकारात्मक विचारले मानसिक उल्झन सिर्जना गर्ने अवस्था आउन सक्छ । यस्तो बेलामा उसको कुरालाई सुनिदिने र स्वस्थ आहार, विहार र व्यवहार गर्न सहयोग पु¥याउने हो भने मनोविक्षिप्तताको अवस्थामा पुग्नबाट रोक्न सकिन्छ । आर्थिक, सामाजिक वा अन्य जुनसुकै समस्या सिर्जना भए पनि व्यक्ति बरू घरपरिवार र समाजबाट पलायन हुन्छ, आफूलाई नयाँ परिस्थिति र परिवेशमा समायोजन गर्न प्रयास गर्छ । यो उसको प्राकृतिक र नैसर्गिक स्वभाव हो । यदि व्यक्तिमा मानसिक समस्या विद्यमान छ वा सामाजिक र आर्थिक कारणले ग्रस्त गरिरहँदा समयान्तरमा मानसिक समस्या सिर्जना भएको छ भने उसले कुनै पनि बेला आत्महत्या रोज्न सक्दछ। यसैले आत्महत्यालाई पूर्णरूपमा मस्तिष्कसँग सम्बन्धित क्रियाकलाप मानिन्छ । निर्णय र व्यवहारमाथिको नियन्त्रण र सकारात्मक चिन्तनको अभाव हुँदा आफैंले आफैंलाई मार्ने कामसमेत गर्ने भएको छ । सामाजिक सम्बन्धन, मानसिक स्वास्थ्यसम्बन्धी चेतना र एकआपसको सहयोगी व्यवहार आत्महत्याजन्य घटनालाई न्यूनीकरण गर्न महत्वपूर्ण हुन्छन् । विश्व स्वास्थ्य संगठनले मेन्टल हेल्थ एक्सन प्लान (सन् २०१३–२०३०) मा मानसिक स्वास्थ्यलाई सबैभन्दा महत्वपूर्ण मान्दै मानसिक स्वास्थ्यबिना दिगो विकासको लक्ष्य प्राप्त हुन नसक्ने बताएको छ । यस योजनामा मानसिक स्वास्थ्यको विषय मनोवैज्ञानिक र चिकित्सकको मात्र सरोकारको विषय नभएर सबै नागरिकको चासो र सरोकारको विषय हो भन्ने निष्कर्ष निकालिएको छ ।
आत्महत्या रोकथाम गर्न सकिन्छ ?
आत्महत्या अप्राकृतिक रूपमा जीवन समाप्त पार्ने काम हो । प्राणी मात्रले जटिलतम अवस्थामा समेत ज्यान जोगाउन चाहनु प्राकृतिक प्रक्रिया हो । आत्महत्या मानसिक विचलन र मनोसामाजिक असन्तुलनका कारण सिर्जना हुने दुर्घटना हो । यस्तो हुनुभन्दा अगाडि व्यक्तिले आफू नजिकका मानिसलाई कुनै न कुनै किसिमले आफ्नो मृत्युका बारेमा संकेत गरेको हुन्छ । आफन्तसँग भेटघाट गरी बिदाइ हुन खोज्नु, छोराछोरी र परिवारका सदस्यको भविष्यको बारेमा चिन्ता र चासो व्यक्त गर्नु यसका संकेत हुनसक्छन् । इन्टरनेट तथा सामाजिक सञ्जालमा आत्महत्यासम्बन्धी सामग्री र मृत्युपछि के हुन्छ भन्ने विषयमा खोजी गर्नु, आफूलाई अत्यन्त मनपर्ने किसिमका सामग्री र उपहार आदि अरू व्यक्तिलाई बाँड्दै हिँड्नु पनि यसका कारण हुन् । आफू जिउनुको कुनै अर्थ नभएको भनी निराशावादी कुराकानी गर्नुलाई पनि आत्महत्याको संकेतका रूपमा लिइन्छ । व्यक्तिका यस्ता प्रतीकात्मक प्रतिक्रियालाई समयमै गम्भीर रूपमा लिई आवश्यक उपचारको प्रबन्ध गर्न सके आत्म हत्या बाट जोगाउन सकिन्छ । आत्महत्यामा प्रयोग हुन सक्ने साधनहरू उपलब्ध हुन नसक्ने वातावरण सिर्जना गरेर पनि आत्महत्यामा कमी ल्याउन सकिन्छ । आत्महत्यासम्बन्धी चिन्तन जोकोहीमा जतिखेर पनि आउन सक्ने भएकाले आत्महत्या रोकथामसम्बन्धी परामर्शमा सबैको पहुँच पु¥याउनुपर्छ । यसो भए व्यक्तिले अप्ठ्यारो महसुस गर्नासाथ सम्बन्धित ठाउँमा फोन वा अन्य माध्यमबाट सम्पर्क गर्न सक्छ । नकारात्मक विचारको आँधीबेहरीले अकस्मात व्यक्तिलाई छोपेको अवस्थामा उसले सबैतिर अन्धकार देख्छ । तत्काल आत्महत्याको प्रयास गरेको हुन्छ । त्यस समयमा समेत उसलाई जीवनप्रतिको झिनो आशा भने रहन्छ । यसैले आत्महत्या गर्नुभन्दा अगाडि व्यक्तिले प्रत्यक्ष वा अप्रत्यक्षरूपमा जीवनरक्षाका लागि याचना गरेको हुन्छ । उसको सांकेतिक याचना बुझेर तुरुन्तै सहयोग गर्न सक्ने हो भने व्यक्तिलाई मृत्युको मुखबाट जोगाउन सकिन्छ । केही व्यक्तिले आर्थिक क्षति वा पारिवारिक वियोगका घटनालाई सहन गर्न नसकेर पनि आत्महत्या गरेका हुन्छन् । आवेशप्रेरित यस्ता प्रयासमा मानसिक रोगमा जस्तै पूर्वतयारी नभए पनि उनीहरूको आचरण र व्यवहारमा आएको परिवर्तनलाई नजिकका मानिसले महसुस गर्न सक्छन् ।
नेपालको अवस्था कस्तो छ ?
नेपाल धेरै आत्महत्या हुने मुलुकमध्येमा पर्छ । जनसंख्या वृद्धिसँगै नेपाल प्रहरीले उपलब्ध गराएका आत्महत्यासम्बन्धी घटनाको संख्यामा समेत हरेक वर्ष वृद्धि भएको देखिन्छ । औपचारिक रूपमा राज्यका आधिकारिक निकायमा दर्ता भएका घटनालाई मात्र हेर्दा पनि औसतमा प्रतिदिन १९ जनाभन्दा बढीले आत्महत्या गरेको देखिन्छ । आर्थिक वर्ष २०७३÷७४ मा ५ हजार १ सय २४ जनाले आत्महत्या गरेको तथ्याङ्क छ । २०७६÷७७ मा ६ हजार २ सय ४१ र २०७७७८ मा ७ हजार १ सय १७ जनाले आत्महत्या गरेका छन् । पछिल्लो समय कोरोना महामारीका कारण आमनागरिकको आर्थिक स्थिति र मानसिक स्वास्थ्यमा आघात परेको आकलन गरिएको छ । आगामी दिनमा मानसिक स्वास्थ्य सम्बन्धी सचेतना र मनोवैज्ञानिक प्राथमिक उपचारको सेवा आमनागरिकलाई पु¥याउनै पर्ने चुनौती सरकारलाई छ । हरेक चारमध्ये एक मानिसमा कुनै न कुनै किसिमको मानसिक समस्या हुने प्रक्षेपण विश्व स्वास्थ्य संगठनले गरेको छ । यस आधारमा पनि गाउँगाउँमा मानसिक परामर्शदाताबाट परामर्श सेवा तथा चिकित्सकीय सुविधाको विस्तार गर्नु अपरिहार्य देखिन्छ । मानसिक स्वास्थ्यसम्बन्धी चेतनाको स्तर सहरी क्षेत्रमा केही न केही राम्रो देखिए पनि दुर्गम र ग्रामीण क्षेत्रमा यस किसिमको चेतना विस्तारका कार्यक्रम हुन सकेका छैनन् । यसैले नेपालमा ठूलो संख्यामा नागरिक आत्महत्याजन्य दुर्घटनाको जोखिम छ ।
आत्महत्याको विचार आएमा के गर्ने ?
जीवनको कुनै पनि क्षणमा कुनै पनि व्यक्तिमा नकारात्मक सोच र जीवनप्रतिको निराशा पलाउन सक्छ । यस्तो अवस्थामा परिवारका सदस्य, साथीसंगी र आफन्तजनसँग कुराकानी गर्नुपर्छ । नकारात्मक सोच आएमा एक्लै बस्नु हुँदैन । जतिसक्दो छिटो सामाजिक कार्यकर्ता, मनोविद् वा चिकित्सकसँग परामर्श गरी आफूमा देखा परेको नकारात्मक भावनालाई निराकरण गर्न प्रयास गर्नुपर्छ । आपत्कालीन अवस्थामा टेलिफोनका माध्यमबाट समेत विशेषज्ञसँग सम्पर्क गर्न सकिन्छ । विकसित राष्ट्रमा चौबिसै घण्टा परामर्शका लागि हटलाइन सेवाको प्रबन्ध गरिएको हुन्छ । नेपालमा पनि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, कान्ति बाल अस्पताल तथा केही गैरसरकारी संस्थाले हटलाइन सेवा विस्तार गरेका छन् । थोरै समय मात्र परामर्शमा समय बिताउन सकियो भने मानसिक अवस्थामा परिवर्तन आई जीवनप्रतिको निराशा कम हुन्छ । शारीरिक रूपमा अस्वस्थ हुनुजस्तै मानसिक रूपमा अवाञ्छित किसिमका परिवर्तन आउनु स्वाभाविक र सामान्य कुरा हो । यो यथार्थ बुझेर हिचकिचाहटबिना मनोसामाजिक परामर्श लिनका लागि तयार हुने तथा आफन्त र साथीभाइलाई परामर्शका लागि प्रेरित गर्न सकेमा आत्महत्याबाट हुन सक्ने दुर्घटनालाई नियन्त्रण गर्न सकिन्छ ।
निष्कर्ष
कायर वा कमजोर मानिसले मात्र आत्महत्या गर्छन् भन्ने कुरा सत्य होइन । आत्महत्याका पछाडि अनेक कारण हुन्छन् । भौतिक र सामाजिक कारणका साथै मानसिक कारण मुख्य रहन्छ । त्यसैले स्वस्थ मानसिक अवस्थाको विकास गर्न स्वास्थ्य सचेतना र मानसिक सेवालाई हरेक नागरिकको पहुँचमा पु¥याउनुपर्छ । आफ्नो परिवारका सदस्य वा आफन्तजनमा देखा परेको परिवर्तनलाई बेवास्ता नगरी त्यसका बारेमा खुला रूपमा छलफल गर्ने वा आवश्यक परामर्शका लागि मनोविद् वा नजिकका स्वास्थ्य संस्थामा सम्पर्क गराउनुपर्छ । राज्यले शारीरिक स्वास्थ्यलाई जस्तो मानसिक स्वास्थ्यलाई महत्व दिएको देखिँदैन । महामारीजन्य घटनाले मानसिक स्वास्थ्यमा समेत क्षति पु¥याएको वर्तमान परिस्थितिमा राज्यका तर्फबाट नागरिकलाई मानसिक स्वास्थ्यसम्बन्धी सेवा दिनुपर्छ । मादक वा लागूपदार्थको प्रयोगमा कमी ल्याउनुपर्छ । मानसिक स्वास्थ्यसम्बन्धी सचेतना बढाउने र मानसिक स्वास्थ्य सेवालाई विस्तार गर्ने हो भने आत्म हत्याबाट हुने मृत्युलाई न्यूनीकरण गर्न सकिन्छ । यसका लागि सचेत नागरिक र राज्य स्तरबाट पहलकदमी लिनु आवश्यक हुन्छ । साभार अन्नपुर्ण









