राजनीतिमा शक्ति सन्तुलनको खेलले नै अभिनेता बनाउने हो।
राप्रपा (नेपाल) र राप्रपा (प्रजातान्त्रिक) बीच २०७६ फागुन २८ मा एकीकरण भएको थियो । एकीकरण सभामा अध्यक्ष कमल थापाले ‘अब कहिल्यै पार्टी विभाजन हुन दिन्नँ’ भनेर गीता छोएर कसम खाएका थिए । तर दुई वर्ष नपुग्दै उनले वाचा तोडेका छन् । स्थानीय चुनावको नामाङ्कन मितिसमेत घोषणा भइसकेको अवस्था छ । यसबीच हिन्दूवादी थापाले पार्टी परित्यागको घोषणा गरे । उनले हिन्दूको सबैभन्दा पवित्र ग्रन्थको अपहेलना गरेका छन् । यस्तै ऐतिहासिक रूपले निर्माण गरिएको कहलिएका कम्युनिस्ट पार्टी आफ्नै कारणले तीन टुक्रा भएको छ । एक वर्ष नपुग्दै जसपाबाट पनि लोसपा जन्मेका छन् । यसैबीच, त्यो लोसपाका पनि केही वरिष्ठ नेताहरूको पहलमा निर्वाचन आयोगमा तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) दर्ता गरियो । जो उनीहरूको पुख्र्यौली राजनीतिक विरासत हो । थारू विद्रोहबाट नेता भएका सांसद हुन्, रेशमलाल चौधरी । उनलाई आ–आफ्ना पार्टीमा ल्याउन मधेसवादीहरूले हानथाप गरिरहेका थिए । यसैबेला उनले छुट्टै पार्टी दर्ता गराएर सबैलाई आश्चर्यमा पारेका छन् । डा. सीके राउतको जनमत पार्टीले पनि आंशिक रूपमा फुटको धक्का नव्यहोरेको होइन । अर्थात्, नेपाली कांग्रेस एक मात्र एउटा यस्तो पार्टी हो, जुन फुटको सट्टा संगठित छ । मधेसवादको उत्पादनपश्चात् पहिलो पटक कांग्रेस मधेसलाई आफ्नो क्षयित ऊर्जा पुनर्संरचित गर्न सफल भएको छ । यस्तो ऊर्जाबाट सबैभन्दा बढी मधेसवादी पार्टी भयभीत भएका छन् ।
मधेसमा शक्ति विभाजनको खेल
मधेसीवादी राजनीतिक शक्ति पार्टीगत रूपमा विभाजित भए । मनोवैज्ञानिक रूपमा भने एकीकृत छन् । यसको प्रमाण तत्कालीन प्रदेश नम्बर २ को सरकार थियो । हालै प्रदेशको नामकरणमा पनि भावनात्मक एकता मात्र होइन, सैद्धान्तिक रूपमा पनि एकै हुन् भन्ने भाव सम्प्रेषण गर्न सफल भयो । ७ प्रदेशमध्ये ६ वटामा सरकार गठन गरेका कम्युनिस्ट पार्टीको कुदृष्टि प्रदेश २ माथि पर्नु स्वाभाविक थियो । राउतको जनमत पार्टीसँग ११ बुँदे सम्झौता गरी उनले मौकामा चौका हाने भनिएको छ । उक्त कुराको पुष्टि हाल जनमत पार्टीले मधेस प्रदेशमा गरेको सरकारविरोधी गतिविधि बाट पनि जगजाहेर हुन्छ । २०७७ वैशाखको पहिलो साता तत्कालीन केपी ओली नेतृत्वको सरकारले राता रात राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश ल्याए । त्यो अध्यादेश अरू केही होइन, समाजवादी पार्टी फोड्ने सम्पूर्ण तारतम्य मिलाइएको एउटा षड्यन्त्र थियो । किनकि ओली र पुष्पकमल दाहाल प्रचण्डको आँखाका समेत डा. बाबुराम भट्टराई कसिंगर बनेका थिए । वैकल्पिक शक्ति निर्माणका लागि जतिसुकै खतरा मोल्न तयार थिए । यो कुरा झन् त्यतिबेला पुष्टि भयो, जतिबेला समाजवादी पार्टी फुटको सट्टा राष्ट्रिय जनता पार्टीसँग एकीकरण गरियो । मिलेर जनता समाजवादी पार्टीको निर्माण भयो । बाबुराम पाँचौं नम्बरको नेता बन्नसमेत तयार भए । यसले मधेसलाई कमजोर बनाउने कम्युनिस्ट पार्टीको रणनीति भत्कियो । तराई मधेसको राजनीतिक वृत्तमा यसले सुखद सन्देश प्रवाहित ग¥यो । जसको श्रेय डा. भट्टराईले पाए । त्यतिबेला तराई मधेसले उनको प्रशंसा ग¥यो । किनकि २००८ सालमा स्थापित पहिलो मधेसी राजनीतिक दल तराई कांग्रेसदेखि जसपाको निर्माणसम्म यस प्रकारको एकता पहिलो पटक भएको थियो । तर, आज तिनै भट्टराईले जसपा फोड्दैछन् भन्ने समाचार सम्प्रेषण भएपछि मधेस झस्किएको छ ।
बाबुराम र उपेन्द्रबीच मतभेद
२०७६ वैशाखमा संघीय समाजवादी फोरम तथा नयाँ शक्तिको एकीकरण हुँदा समाजवादी पार्टीको गठन भएको थियो । पार्टीको संघीय परिषद्का अध्यक्ष डा. भट्टराई तथा केन्द्रीय समितिका अध्यक्षमा उपेन्द्र यादव चयन भए । तर, समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी मिलेर जनता समाजवादी पार्टी (जसपा) गठन भयो । त्यसपछि जसपामा विधानतः त्रयअध्यक्षीय प्रणाली लागू भयो । संसद् विघटनलाई विरोध गर्ने वा समर्थन गर्ने प्रश्नमा पार्टी विभाजन पश्चात् शक्ति सन्तुलनमा हेरफेर ल्याइदियो । जसले विधानतः निर्मित त्रयअध्यक्षीय प्रणालीमा खाली हुन गएको एउटा कार्यकारिणी अध्यक्षमा भट्टराईको आँखा सोझियो । जसले यादव झस्केका हुन् । राजनीतिमा शक्ति सन्तुलनको खेलले नै नेता वा अभिनेता बनाउने हो। जसपाको विधानमा रहेको दुईटा कार्यकारिणी अध्यक्षमध्ये एउटामा उपेन्द्र यादव हुँदै हो भने अर्कोमा भट्टराई वा अशोक राईलाई ल्याउने हो । भट्टराई संघीय परिषद्को अध्यक्ष भएकाले राईलाई ल्याए पनि हुने हो । यिनै पदपूर्तिको कुरालाई एक पक्षले बाध्यात्मक रूपमा व्याख्या गरेका छन् । अर्को पक्षले भने औचित्यहीन सावित गर्ने प्रयास गरेका छन् । त्यसैले समस्या समाधान गर्नु छ भने बाध्यात्मक रूपमा व्याख्या गर्नेहरू वा औचित्यहीन सावित गर्नेहरूले पार्टीको केन्द्रीय समितिको बैठक डाकेर विधान संशोधन गर्दा पनि हुन्छ । धेरै दिनदेखि कार्यकारिणीको बैठकसमेत नबसेकाले विभिन्न प्रकारका शंका, उपशंका उत्पन्न भइरहेका छन् ।
अन्तरपार्टी शक्ति अभ्यास
अचारसंहिताको अक्षरशः पालनाबिना पार्टीभित्रको समानान्तर शक्ति अभ्यासले अन्ततोगत्वा विभाजनको रेखा कोरिन्छ । अथवा एउटा शक्ति पलायन हुनुपर्ने बाध्यात्मक परिस्थितिको सिर्जना हुन्छ । प्रजातन्त्रको पुनस्र्थापनाका लागि एउटै थालमा खाएका थिए, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालाले । जो सत्ता र शक्तिको अभ्यास गर्न थाले । त्यसपछि सिंह र भट्टराईलाई पलायनताको सिकार हुनु परेको धेरै वर्ष भएको छैन । कतिसम्म भने वर्षौंदेखि प्रजातान्त्रिक अभ्यास गरेका मुलुकहरूमा समेत यस प्रकारको अवस्था देखिन्छ । भर्खरै प्रजाबाट नागरिक भएको नेपालमा यस प्रकारको संस्कारले परिपक्वता ग्रहण गर्न वर्षौं लाग्ने सम्भावना छ । आचारसंहिताको अक्षरशः पालनाबिना पार्टीभित्रको समानान्तर शक्ति अभ्यास भयो भने विभाजनको रेखा कोरिन्छ ।
त्यसमा पनि मधेस जहाँ पद, पैसा र प्रतिष्ठाका लागि नैतिक मूल्य र मान्यताले सीमारेखा कोरिसकेको छ । त्यस्तो ठाउँमा राजनीति गर्ने हो भने अनियमितता गर्नु उसको पहिलो काम हुन्छ । अहिले पहाड केही हद सम्म यस प्रकारको विकृत संस्कारबाट टाढिएकाको छ । यही कारण बाबुरामलाई उपेन्द्रको क्रियाकलाप पक्कै पनि बिजेको हुनुपर्छ । मधेसी राजनीतिको जुन आयाम हो, त्यो भारतको सबैभन्दा पिछडिएको राज्य विहार र उत्तरप्रदेशबाट निशृत भएको छ । त्यही शक्तिमा अभ्यास गर्नु उपेन्द्रको बाध्यता हो । किनकि लालु प्रसाद यादव र मुलायमसिंह यादवले कहिल्यै पार्टीगत निर्णयबाट चलेनन् । बरु पार्टी लालु र मुलायमको निर्णय बाट चल्यो । अहिले अखिलेशप्रसाद यादव र तेजस्वी यादवले पुख्र्यौली संस्कारलाई बोकेको देखिन्छ । अन्तरपार्टी निर्णय उपेन्द्रको हकमा मात्र होइन, महन्थको हकमा पनि उत्तिकै महत्वहीन विषय हो । गजेन्द्र नारायण सिंहका लागि त त्यो कहिल्यै भएन । सायद त्यसैले होला, लोसपा गठन भएदेखि अहिलेसम्म राजेन्द्र महतो आक्कलझुक्कल मात्र पार्टी कार्यालय पुगेका छन् । उनका पक्षधरहरूले एक सातासम्म पार्टी कार्यालय बबरमहलमा धर्ना दिए । तर पनि ठाकुरको एकल निर्णय नै सर्वोपरि हो भन्ने कुरालाई बाध्यात्मक रूपमा हृदयंगम गरेर मधेस झर्नु प¥यो । अहिलेसम्म त्यो समस्या यथावत् छ । ठाकुर त्यसमा कमा र पूर्णविराम पनि हेरफेर गर्न तयार छैनन् । यो कुरा माओत्से तुङको ‘इनर कन्ट्र्याडिक्सन’ पढेर आएका डा. भट्टराईलाई पार्टी एकताभन्दा अघि नै बताइसकेकोथिएँ । तर यादव वामपन्थी पृष्ठभूमिका मात्र होइन, सँगै काम पनि गरेकोले डा.भट्टराईसँग एउटा अतीत थियो त्यसैको फलस्वरूप उनी हदभन्दा बढी आशावादी बनेका हुन् । अन्त्यमा, पार्टीको टुटफुट र जुट नेताहरूको तजबिजका विषय हुन्। एमाले सत्ता पाएपछि माधव नेपालले प्रतिगमन आधा सच्चियो भने । ओलीको संसद् विघटनलाई लिएर उनले पार्टीलाई दुई टुक्रा पारे । महन्थ÷राजेन्द्रको अवस्था पनि त्यही देखियो । यस प्रकार ज्ञानेन्द्रको कार्यशैलीले राजतन्त्रलाई खायो भने ओलीको कार्यशैलीले नेकपालाई । साथै, मधेसी पार्टीलाई समेत टुक्रा पा¥यो । यो चेत नेपाल र ठाकुरमा अहिले पनि आएको छैन । यस्तो अवस्थामा उपेन्द्र नै त्यो चेतको भागिदारी किन बन्ने ? प्रश्न उठ्नु स्वाभाविक हो । डा. भट्टराईमा त्यो चेत छ भने चक्षु ज्ञानलाई देश र समाजको हकमा प्रयोग गर्न सक्नुपर्छ । तर, मधेसमा भट्टराई र यादवलाई चिन्ने आधार अलग छन् । दुवैलाई एउटै टोकरीमा हालेर व्याख्या र विश्लेषण गर्दा गलत हुन्छ कि ! यादव क्षेत्रीय परिवेशबाट उदाएर राष्ट्रिय व्यक्तित्व बनेका छन् । बाबुरामको राष्ट्रिय व्यक्तित्वले जनता समाजवादी पार्टीलाई राष्ट्रिय चिनारी दिएको छ । बाबुरामको अथक परिश्रमको लाभ उनीभन्दा बढी उपेन्द्रमा लागू हुने सम्भावना देख्छु । किनकि उनले प्रधानमन्त्री भइसकेको अवस्थामा एउटा मधेसी÷ जनजाति÷ दलितलाई कसरी यो देशको कार्यकारी बनाउने भन्ने प्रश्न नै जीवनको ठूलो उपलब्धी बताइसकेका छन् । होइन भने संसद्को रोस्टममा उभिएर दलितको हकमा बोले । जहाँ आफूलाई बाबुराम कामी भने पनि फरक पर्दैन भन्ने साहस जुटाए । प्रस्ट विचार बोक्ने व्यक्तिसँग डराउनुपर्ने आवश्यकता हुँदैन । खुलेर छलफल गरी पार्टीलाई राष्ट्रिय स्वरूप दिन सकिन्छ। क्षेत्रीय घेरामा देशको सर्वोच्च कार्यकारी पदमा पुग्न सकिन्न। यसका लागि राष्ट्रिय सोच अनिवार्य सर्त हो । जो एक हदसम्म यादवमा दृष्टिगोचर हुन्छन्। त्यसैले जसपा एकगठ भयो भने इन्द्रेणी राष्ट्रवादको सिद्धान्तअनुसार भट्टराईले छिटो र छरितो यसलाई राष्ट्रियस्वरूप प्रदान गर्न सक्ने हैसियत बोक्नेछन् । तसर्थ टुटफुटको इतिहासबाट धेरै हन्डर खाएका बाबुराम भट्टराई र उपेन्द्र यादवले वर्तमानमा जसपाको एकीकृत स्वरूप नै एउटा राष्ट्रिय वैकल्पिक शक्तिको साँचो हो भन्ने कुरा बिर्सनु हुँदैन ।
साभार अन्नपुर्ण पोष्ट









