नेपाली राजनीतिमा पुस्तान्तरण

युवालाई प्रोत्साहन गर्दा नेतृत्व गर्ने तत्परता, क्रियाशीलता र सहभागिताले राजनीतिलाई नया“ आयाम दिन सक्छ।

नेपालको राजनीतिमा पुस्तान्तरणको बहसले चर्चा पाइरहेकै छ । विशेषगरी नेपालका ठूला राजनीतिक दलभित्र यो बहस जबर्जस्त छ । पुरानो पुस्ताले अहिलेको समयानुकूल नेतृत्व गर्न सक्दैन भन्ने आवाज छ । त्यति मात्र होइन, पुरानो पुस्ता आउटडेटेड भइसकेको समेत भन्न थालिएको छ । यसबीच, नेपालका ठूला राजनीतिक पार्टीहरूले महाधिवेशन भव्यताका साथ सम्पन्न गरे । नेतृत्वमा पुरानै अनुहार दोहोरियो । पार्टीको महत्वपूर्ण पदमा भने युवा नेताको उदय भएको छ । नेकपा एमालेमा वैचारिक युवा नेता शंकर पोख्रेल पार्टी महासचिवमा सर्वसम्मत निर्वाचित भए । नेपाली राजनीतिमा सबैभन्दा पुरानो लोकतान्त्रिक पार्टी नेपाली कांग्रेसमा युवा नेता गगन र विश्वप्रकाश शर्माले महामन्त्रीमा सानदार विजय हासिल गरे । नेपाली राजनीतिका आशा र भरोसा बोकेका यी प्रतिभाशाली युवाले आगामी महाधिवेशनबाट पार्टीको बागडोर सम्हाल्ने कुरामा कुनै दुई मत छैन । तेस्रो ठूलो दल नेकपा माओवादीले पनि जनवादी केन्द्रीयताको नीति अनुसरण गरी पुनः पुष्पकमल दाहाल प्रचण्ड अध्यक्षमा निर्वाचित भए । उनको समूहमा पनि नयाँ अनुहार समेटिएका छन् । महाधिवेशनको दौरानमा प्रचण्डले आफू अब अन्तिम अध्यक्ष हुने भनेका थिए । यसरी हेर्दा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उमेर हदका कारण पनि सक्रिय राजनीतिबाट विश्राम लिनेछन् । चार दशकदेखि एउटै पुस्ताबाट शासित नेपाली नागरिकलाई केही हदसम्म राहत मिल्नेछ । समुन्नत नेपालको खाका कोर्ने पालो युवा पुस्तामा आउनेछ । राजावादी पार्टी भनेर चिन्निने राप्रपा नेपालमा पनि कमल थापाको वर्चस्व तोड्दै राजेन्द्र लिङ्देन अध्यक्षमा निर्वाचित भए । मूल राजनीतिक पार्टीको अधिवेशन लाई नियाल्दा राजनीतिमा दोस्रो पुस्ताले विस्तारै पकड जमाउन खोज्दैछन् भन्ने देखिन्छ ।
विश्व परिवेश
युवा नेतृत्वको विषय राजनीतिक पार्टीहरूमा उनीहरूको सहभागिता र नेतृत्व कस्तो छ त्यसमा निर्भर गर्छ । हालै ल्याटिन अमेरिकी मुलुक चिलीमा ३५ वर्षे विद्यार्थी नेता ग्रेवियल ब्रोरिक राष्ट्रपतिमा निर्वाचित भए । चिलीमा सरकारविरुद्ध भएको व्यापक प्रदर्शनपछि राष्ट्रपति पदको निर्वाचन भएको थियो । उनले निर्वाचनमा सानदार जित हासिल गरे । बोरिक विश्वकै कान्छो राष्ट्रपतिमध्ये एक हुन् । विश्व इतिहासलाई हेर्ने हो भने युगान्डाकी सांसद प्रोस्कोभिया ओरोमाइट २०१३ मा सांसद निर्वाचित हुँदा १९ वर्षकी थिइन् । उनी अफ्रिका मात्र नभई संसारकै कान्छी सांसद बनिन् । ब्रिटिस स्कट मूलकी म्हाहारी ब्ल्याक सन् २०१५ मा सांसद जित्दा २० वर्षकी थिइन् । न्युजिल्यान्डमा लेबर पार्टीबाट २००८ मा २८ वर्षको उमेरमा सांसद बनेकी ज्यासिन्डा आड्रन ३७ वर्षको उमेरमा पार्टी प्रमुख बनिन् । २०१७ अगस्टमा न्युजिल्यान्डको तेस्रो महिला तथा न्युजिल्यान्डको इतिहासमा सबैभन्दा कम उमेरकी महिला प्रधानमन्त्री हुन सफल भइन् ।
मधेसी, पहाडी, दलित जनजाति, आदिको नाममा युवालाई विभाजन मात्र गरियो। विविधतामा एकता भनेजस्तै भूगोलको विविधताले जोडेको हाम्रो देश भावनात्मक एकताले जोड्न सकेन । फ्रान्समा युवा नेता इम्यानुएल माक्रोन पहिलो पटक चुनाव जितेर राष्ट्रपति हुँदा ३९ वर्षका थिए । क्यानडाका जस्टिन टुडो ४४ वर्षको उमेरमा प्रधानमन्त्री बने । उनी अहिले तेस्रो कार्यकाल सम्हालिरहेका छन् । उनी अहिले संसारभर मानवअधिकार र सामाजिक सुरक्षाका विषयमा विश्वव्यापी चर्चामा छन् । युवा नेतृत्व र लोककल्याणकारी राज्यको गतिलो उदाहरण दिएका छन् । फिनल्यान्डमा सनाना मरिन ३४ वर्षको उमेरमा प्रधानमन्त्री निर्वाचित भइन् । क्याबिनेटमा ३५ वर्षमुनिका पाँच मन्त्री पनि नियुक्त गरिन् । उनको समूहले निकै प्रभावकारी रूपमा काम गरिरहेको छ । बेल्जियममा पनि ४२ वर्षका चार्सेस मिचेल प्रधानमन्त्री भई देशको नेतृत्व गरेका छन् । विश्वको सबैभन्दा कान्छा राष्ट्रप्रमुख भनेर चिनिने अस्ट्रियाका चान्सलर ३१ वर्षका छन् । विश्व राजनीतिमा रकस्टार युवानेता जस्टिन, चार्ली, इमानुअल, ज्यासिन्डा र सनाना र बोरिकजस्ता युवा नेताको खाँचो छ । विकास र समृद्धिका युवा जनसंख्या महत्वपूर्ण मानिन्छ । अहिले नेपालमा युवा जनसंख्या लाभांशको समयमा छ । यो देशका लागि निकै राम्रो अवसर हो । तर, विडम्बना नेपाली युवा विदेशी भूमिमा श्रम र पसिना खर्चिरहेका छन् । जुन देशले युवालाई आफ्नो मुलुकको विकासमा उपयोग गर्छ, त्यस देशले आर्थिक र सामाजिक विकासमा फड्को मार्छ । क्यानडा, नर्वे, फिनल्यान्ड, डेनमार्क, न्युजिल्यान्ड लगायत देशले युवालाई विकास गतिविधिमा सहभागी गराएर समृद्धिमा पुगेका हुन् ।
नेपालको विगत
नेपालको राजनीतिक इतिहासलाई नियाल्दा जंगबहादुर राणाले ३१ वर्षको उमेरमा मुलुकको प्रधानमन्त्री भई शासनको बागडोर सम्हाले । कांग्रेसका संस्थापक नेता बीपी कोइराला ४५ वर्षको उमेरमै प्रधानमन्त्री भए । पार्टी सभापति शेरबहादुर देउवा पहिलो पटक प्रधानमन्त्री हुँदा ४८ वर्षका थिए । उनीजस्ता नेता ७० वर्षसम्म नेतृत्वमै रहने हो भने युवाले कहिले अवसर पाउँलान् ? गम्भीर प्रश्न छ । कांग्रेस पार्टीमा दोस्रो पुस्ताका नेतासमेत ५० वर्षको हाराहारीका छन् । तरुण दल र नेपाल विद्यार्थी संघको नेतृत्वको हालत पनि त्यस्तै छ । नेपालको सबैभन्दा ठूलो पार्टी नेकपा एमालेले ७० वर्ष काटेपछि पार्टीको कार्यकारी पदमा चुनाव लड्न नपाउने व्यवस्था गरेको छ । यो व्यवस्थाले पनि युवालाई नेतृत्व हस्तान्तरण गर्ने संकेत गर्दैन । नेपाल बनाउने नेपालीले नै हो । हाम्रो सोचाइ र व्यवहार परिवर्तन नभएसम्म राजनीति परिवर्तन हुने कोरा कल्पना मात्र हुनेछ । जबजका जन्मदाता मदन भण्डारी ३८ वर्षको उमेरमै पार्टी महासचिव बने । माधवकुमार नेपाल ४० वर्षमा पार्टी महासचिव भए । नेकपा एमालेका वर्तमान अध्यक्ष केपी ओलीसमेत युवा उमेरमै पार्टीको महत्वपूर्ण पदमा पुगिसकेका थिए । दसवर्षे जनयुद्ध गरी राष्ट्रिय राजनीतिको मूलधारमा आएका प्रचण्ड ३५ वर्षमा पार्टीको सर्वोच्च नेता भइसकेका थिए । राप्रपा र मधेसवादी दलहरूमा पनि युवालाई प्राथामिकता दिएको देखिँदैन । वैकल्पिक राजनीतिक धारको नेतृत्व दाबी गर्ने विवेकशील र साझा पार्टीमा युवा सहभागिता र नेतृत्व दुवै छ । यिनीहरू मूलधारको राजनीतिमा भने आउन सकेनन् । प्रत्यक्ष चुनावमा जित त हात पारेनन्, धरौटीसमेत बचाउन सकेनन् । क्रान्तिकारी धारको नेतृत्व गर्ने विप्लव नेतृत्व अझै मूलधारको राजनीति आउन सकेको छैन । इतिहास देखि वर्तमान कालखण्ड सम्ममा आइपुग्दा नेपाली राजनीतिमा युवा नेतृत्वको चित्रण गर्दा एउटै समानता भेटिन्छ । त्यो हो, युवा अवस्थामा पार्टी र सरकारको नेतृत्व गरी सत्ता र शक्तिमा पुगेपछि बाजुञ्जेल पदमा रहिरहन खोज्नु । यसले नयाँ पुस्ताका लागि बाटो जाम गराइराखेको छ । बादलमा चाँदीको घेरा भनेजस्तै केही आशाका संकेत पनि छन् । करिब दुई दशकपश्चात् भएको स्थानीय तहको निर्वाचनमा युवा सहभागिता र नेतृत्व दुवै हिसाबले राजनीतिमा युवा सहभागितालाई अर्थपूर्ण रूपमा लिन सकिन्छ । स्थानीय तहमा निर्वाचित २१ देखि ४० वर्षसम्मका युवाको तथ्याङ्क नियाल्दा स्थानीय तहको कुल पद संख्या ३५ हजार ४१ मध्ये १३ हजार सात सयजना अर्थात् ३९.०९ प्रतिशत युवा निर्वाचित भई स्थानीय तहको नेतृत्वमा पुग्न सफल भएका छन् । यस तथ्यबाट राजनीतिमा युवा सहभागिता बढ्दै गएको र नेतृत्व विकासको क्रम सुरु भएको देखिन्छ ।
संघीय व्यवस्थापिकाअन्तर्गत प्रत्यक्ष तर्फ १ सय ६५ जना र समानुपातिक तर्फ १ सय १० गरी कुल २ सय ७५ जनामध्ये प्रतिनिधिसभामा ३६ जना अर्थात् १३.०९ प्रतिशत युवा निर्वाचित भए । प्रदेशसभाअन्तर्गत प्रत्यक्षतर्फ ३ सय ३० जना र समानुपातिकतर्फ २ सय २० जना गरी कुल ५ सय ५० जनामध्ये १ सय ३० अर्थात् २३.६३ प्रतिशत युवा निर्वाचित भए । राष्ट्रिय सभामा जम्मा चार जना अर्थात् ६.७७ प्रतिशत निर्वाचित भए । यसरी हेर्दा स्थानीय तहमा भएको युवा सहभागिता प्रदेश, प्रतिनिधि र राष्ट्रियसभामा घट्दो क्रममा पाइन्छ । राजनीतिमा युवा सहभागिता र नेतृत्व फरक कुरा हो । अहिले नेपालको राजनीतिमा आलोचनात्मक चेत भएका युवा जमात निकै कम छन् । देशमा नायक होइन, कार्यकर्ता मात्र जन्मिए । राजनीतिक पार्टीहरूमा हस्तक्षेपकारी भूमिका खेल्ने युवापंक्ति छैन । युवा नेता पनि बूढा नेतापछि पालो आउला भनेर कुरेका छन् । राजनीतिमा रचनात्मक बहस शून्य प्रायः छ । राजनीतिमा एक किसिमको सिन्डिकेट हाबी छ । क्षमताभन्दा उमेर र पार्टीमा योगदान गरेको आधारमा पद बाँडिन्छ । पछिल्लो चरणमा त राजनीति व्यापारीहरूको हातमा पुगेको छ टिकट । किनबेचका लागि । नेपालमा मौलाउँदै गरेको राजनीतिको अपराधीकरण र अपराधको राजनीतीकरणले स्वच्छ छवि भएका व्यक्ति भेट्न गाह्रो छ । पढेलेखेका युवा जमात राजनीतिदेखि विस्तारै टाढा हँुदै गएका छन् । हामीकहाँ तीन किसिमका युवा जमात छन् । एक किसिमका युवा जो दैनिक गुजारा र परिवारको भरणपोषणकै लागि काममा व्यस्त छ । दोस्रो, मध्यमार्गी युवा कोही अवसरको खोजीमा बिदेसिएका छन् त कोही देशमै सम्भावनाको खोजी गर्दैछन् । तेस्रो, उच्च वर्गीय केही युवा कि ठूला बिजनेसमा सहभागी छन् कि विदेश पलायन भएका छन् । आफ्नो वर्तमान र भविष्य दुवै संकटमा देखेर पलायन हुने युवाबाट के आस गर्न सकिएला ? लोकतन्त्रलाई संस्थागत गर्न राजनीतिक दलमा पनि आन्तरिक लोकतन्त्रको विकास गर्न जरुरी छ । नेपाल बनाउने नेपालीले नै हो । हाम्रो सोचाइ र व्यवहार परिर्वतन नभएसम्म राजनीति परिवर्तन हुने कोरा कल्पना मात्र हुनेछ । राजनीतिक दलमा सहभागी युवा पनि वैकल्पिक राजनीतिक धारको नेतृत्व गर्न सकेका छैनन् । युवाले विकल्प प्रस्तुत गर्न नसक्दा हजुरबुवा उमेरका नेताबाट शासित हुनु परेको छ । त्यसैले अब एक पटक सबै राजनीतिक पार्टीमा रहेका एवं स्वतन्त्र युवा मिलेर वैकल्पिक नयाँ राजनीतिक धारको नेतृत्व गर्ने बेला आएको छ । नेतृत्वको खडेरी परेको बेला युवा विकल्पसहित प्रस्तुत हुन अब ढिला गर्नु हुँदैन । नेपालको राजनीतिक प्रणालीमा एक व्यक्ति एक पद एक पटक भन्ने अवधारणा लागू गर्न सके मात्र युवा नेतृत्वले अवसर पाउँछ । राजनीतिमा युवालाई आकर्षण र सहभागी गर्न सके लोकतन्त्र बलियो हुन्छ । विकासका विभिन्न मुद्दामा युवाको विशेष प्रभाव र भूमिका रहन्छ । युवाको उपस्थितिले राजनीतिक स्थितिहरूमा पुरातनवादी मनोवृत्ति परिर्वतन गर्न सक्छन् । युवालाई प्रोत्साहन गर्दा नेतृत्व गर्ने तत्परता, क्रियाशीलता र सहभागिताले राजनीतिलाई नयाँ आयाम दिन सक्छ । विश्वभर युवा परिचालन एक पक्ष महत्वपूर्ण छ, सरकारलाई सही दिशानिर्देश दिन तथा लोकतन्त्रको संस्थागत विकास गर्न । हामी कहाँ राजनीतिमा युवा सहभागिता बहसहरू परम्परागत छन् । राजनीतिक दलले युवालाई नेतृत्व प्रदान गर्नेभन्दा मतदाता र कार्यकर्ताका रूपमा थप भूमिका केन्द्रित गर्न चाहन्छन् । लोकतन्त्रलाई संस्थागत गर्न राजनीतिक दलमा पनि आन्तरिक लोकतन्त्रको विकास गर्न जरुरी छ । सहभागितात्मक निर्णय प्रकृया, आर्थिक पारदर्शिता, जवाफदेहिता, नागरिकप्रति उत्तरदायी शासन व्यवस्था लोकतन्त्रका आधारस्तम्भ हुन् । विधिको शासन, लोककल्याणकारी राज्य व्यवस्था, सामाजिक सुरक्षा, शिक्षा, स्वास्थ्य र रोजगारीजस्ता नागरिकका आधारभूत आवश्यकताहरूमा राज्यलाई जिम्मेवार युवाले दबाब दिनुपर्छ । मुलुकको समृद्धिका लागि राज्यको नीति निर्माण र नेतृत्व तहमा युवाको समान र सार्थक सहभागिता आजको आवश्यकता हो । युवाको सहभागिताले राजनीतिलाई सही दिशानिर्देश गर्न टेवा पु¥याउँछ । युवा भविष्यका कर्णधार मात्र होइनन्, वर्तमानका साझेदार पनि हुन् भन्ने हेक्का राख्नुपर्छ । राजनीतिक दलले युवालाई परिचालन मात्र होइन, उनीहरूलाई उचित अवसर र जिम्मेवारीसमेत दिनुपर्छ । हाम्रो मान्छेभन्दा पनि राम्रो मान्छेले अवसर पाउने व्यवस्था मिलाउनु पर्छ । नेतृत्व राम्रो भए मात्र नीति राम्रो बन्छ । कार्यान्वयन पनि सहज हुन्छ । राजनीतिलाई सही दिशानिर्देश गर्न दूरदृष्टि, सक्षम नेतृत्व, कुशल व्यवस्थापकको आवश्यकता पर्छ । नेपालमा नीतिभन्दा नेतृत्वको समस्या छ । नेतृत्वको अकर्मण्यता, दूरदृष्टि र स्पष्ट भिजन नहुँदा देश विकास हुन सकेन । मधेसी, पहाडी, दलित जनजाति, आदिको नाममा युवालाई विभाजन मात्र गरियो । विविधतामा एकता भनेजस्तै भूगोलको विविधताले जोडेको हाम्रो देश भावनात्मक एकताले जोड्न सकेन । युवालाई विभिन्न वाद र विचारमा विभक्त गरी नेताहरूले आफ्नो राजनीतिक फाइदाका लागि उपयोग गरिरहे । युवा पनि परिचालित भइरह्यो । आन्दोलन ग¥यो तर त्यसको प्रतिफल कहिल्यै पाएन । देशमा गणतन्त्र आयो, शासन व्यवस्था परिवर्तन त भयो तर नागरिकको जीवनस्तरमा परिर्वतन आएन । नेताहरूको जीवनशैलीमा परिर्वतन आयो । तिनले आलिसान घरबंगला बनाए । युवा भने जीविकाकै लागि बिदेसिनु प¥यो । दलित अझै अछूत हुनुपर्ने, मधेसी हेपिनुपर्ने, महिला बलात्कृत हुनुपर्ने, शक्तिमा हुनेहरूले भने सधैं रजाइँ गर्ने स्थिति भयो । सर्वसाधारण नागरिकले राज्यको अनुभूति गर्न सकेनन् । त्यसैले सामाजिक न्यायसहितको समतामूलक समाज निर्माण गर्न युवाले नेतृत्व गर्नुपर्छ ।
– लेखकद्वय उपाध्याय युवा वैज्ञानिक र सुवेदी अध्येता हुन् ।
साभार अन्नपुर्ण पोष्ट

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार