पत्रकारिता कि पार्टीकारिता ? नौमूले मिडिया कान्डले उब्जाएका प्रश्न !

नेपालमा मात्र होइन, विश्वमा नै द्रुत गतिमा विकास भएको कुनै क्षेत्र छ भने त्यो सञ्चार र प्रबिधि हो । यसको परिष्कार र रुपान्तरणको भट्टिमा जसले आफ्नो ज्ञान, सीप, विवेक र संयमतालाई जति मजबुतसंग परिचालन गर्न सक्यो, उ सफल रह्यो । जो त्यसरी चल्न सकेन, उ हरायो, बिलायो सकियो । संसारलाई नै एउटा गाउँ बनाउन सफल भएको छ संचार र प्रबिधि जगत आजको दुनियाँमा । घरमै बसिबसी संसारमा कस्ता किसिमका गतिविधिहरु संचालन भैरहेका छन्, भन्ने कुरा सजिलैसँग हेर्न, सुन्न, देख्न र अध्ययन गर्न सकिन्छ । हरेक पक्षमा सकारात्मक कुरा संगै नकारात्मक कुरा पनि जोडिएर आएको हुन्छ । संचार जगत पनि त्यस कुराबाट अछुतो रहन सकेन । मिडिया जगतको जति राष्ट्र र जनताको हितमा सदुपयोग गरिएको छ, त्यो भन्दा धेरै पार्टीगत, गुटगत र ब्यक्तिगत लाभको निमित्त दुरुपयोग व्यापक रूपमा गरिएको छ । प्रविधिको द्रुततम विकासले हाम्रो सूचनाको पहुँचमात्र बढाएन , जान–अन्जानमा अनेकन भ्रम र विसङगती पनि संगसंगै ल्याइदियो । जघन्य अपराध देखि सामाजिक, पारिवारिक विखण्डन पनि यसैको माध्यम वा कारणबाट हुन थाले । ब्यवसायिक र आयमुलक पत्रकारिताका नाममा जनताका एजेन्डा बिर्सिदा मिडिया आम जनतासँग टाढा हुने, ब्यापारी र दलालहरुसँग नजिक हुने स्थिति बढ्दो छ।समाचार बनाउने नाममा तथ्यसंग हैन, त्यसको बिक्रीसँग सरोकार राख्ने र समाचारलाई कस्मेटिक डिजाइन को शैलीमा उतार्दा–उतार्दै भ्रम बेचिएका थुप्रै घटना यत्रतत्र सर्बत्र छन । यसले व्यवसायिक, जिम्मेवार र जवाफदेही पत्रकारिता गर्नेहरुमा संकट निम्त्याएको छ ।
साउन २१ गते नौमुले गाउँपालिकाको विषयमा रंगदर्पण अनलाइन पत्रिकाले एउटा समाचार प्रकाशित गरेछ । उक्त मिडियाले चामलको विषयलाई प्रमुख रूपमा जोड दिदै गाउँपालिकाका अध्यक्ष भदे बुढा को कर्तुतको बारेमा समाचार लेख्दा, अध्यक्ष भदे को मात्रै होइन, उनी सम्बद्ध राजनीतिक पार्टीका नेताकार्यकर्ता, पत्रकार सबैको मुटु थर्कमान भएको कुरा उनीहरुले जारी गरेका प्रेस विज्ञप्ति र रंगदर्पणको काउन्टरमा लेखेका चाकरीवाला समाचारले पुष्टि गर्छन । रंगदर्पणले सहि लेख्यो या गलत त्यो समाचार लेख्ने पत्रकार र आम नौमुलेवासिलाई अवगत होला । रंगदर्पणले सुतिरहेको गाउँपालिकालाई झस्काइदिएको छ, निन्द्राबाट बिउँझाइदिएको छ । गाउँपालिका र जनताको हित हुने खालका कार्यक्रम गरेर जनताको मन जित भनेको छ।जनतालाई राहतका नाममा आँखामा छारो हाल्ने काम नगर भनेको छ । केही संचार मिडियाले रंगदर्पण नामक अनलाइन लाई कार्बाही को माग गर्दै बिरोध जनाएका छन । के एक मिडियाले अर्को मिडियालाई कार्वाहीको सिफारिस गर्न मिल्छ, राज्यका ओहोदामा बसेका मान्छेहरुले नराम्रो काम गर्दा पनि उनीहरुको बचाउ गरिदिनुपर्ने, भजनमंडली र स्तुतिगान गाइदिराख्नुपर्ने झोलेकारिता गरिराख्नुपर्ने होर ? होइन भने कुनै राजनीतिक पार्टीको छाता नओडि सत्यतथ्य खोजी गरि वास्तविक समाचार सम्प्रेषण गरेको खै ? कि दानापानी खाएपछि असत्यलाई पनि सत्य र सत्य लाई पनि असत्य लेख भन्छ पत्रकार आचारसंहिताले ? हुन त अहिले धेरै पत्रकारहरु पेशाले पत्रकार भए पनि पत्रकारिता अध्ययन गरेका हुदैनन्, उनीहरुलाई आचारसंहिता बारे जानकारी हुँदैन र पार्टीकारिता गर्न मै ब्यस्त हुन्छन् ।
पत्रकारिता राज्य वा सरकारभन्दा शक्तिशाली हुन्छ । तर, त्यस शक्तिको उपयोग स्वतन्त्र हुनुपर्छ, स्वच्छन्द होइन । सैनिकले हान्ने बन्दुकको गोलिले एकपटकमा एकजनालाई डाल्छ , मिडियाले हान्ने अक्षरको गोलिले हजारौं – लाखौंलाई भ्याइदिन्छ । त्यसैले यो पक्षपातरहित हुनुपर्छ । राजनीतिक आस्थाको सँकुचित घेराभन्दा माथी उठ्नुपर्छ । प्रेस काउन्सिलको आचारसंहिताको मर्म यहि । तर त्यस कुरा गम्भीरतापुर्वक सोचेको देखिदैन । के राजनीति मात्रै सबैथोक हो ? त्यही मनपर्ने भए पत्रकारिता चटक्कै छाडेर उतै होमिदा हुँदैन ? के छ राजनीतिमा त्यस्तो,जसको लहराले सबैलाई सधैं बेर्छ ? निकै सोचनिय छ कुरा नेपाली समाज ले यो घिनलाग्दो राजनीतिबाट कहिले उन्मुक्ति प्राप्त गर्ने ? यावत् कुराहरु यो लेख लेख्दै गर्दा मनमा एकपछि अर्को गर्दै उर्लिएका छन ।
नेपालका सबै पेशामा राजनीति वनमारा झारझै मौलाइरहेको छ । कानुन व्यवसायी, शिक्षक,किसान, कर्मचारी, चिकित्सक, इन्जिनियर, प्राध्यापकलगायत सबैका सबै राजनीतिक धुर्बिकरणको सिकार भैरहेका छन् । सबैलाई माथिल्लो पदहरुको आशा देखाइएको छ । नेतागिरी गर्दा काम ठग्न र दादा गिरी गर्न पाइने संस्कारको विकास भैरहेको छ । यस्तो हुनु भनेको पेशागत मर्यादामा राजनीतिक हस्तक्षेप हुनु हो पत्रकारिता क्षेत्र पनि त्यही हस्तक्षेपको एउटा सिकार भएको छ । पत्रकारहरु राजनीतिक दाउपेचबाट पृथक भए मात्रै पत्रकारिता स्वतन्त्र हुनसक्छ र प्रदूषित हुँदै गएको राजनीति पनि सहि मार्गतर्फ अग्रसर हुन्छ । जहाँ आस्था हुन्छ,त्यहाँ पक्षपोषण वा दोषारोपण चल्छ ।त्यसले विश्वसनीयता गुमाउँछ नौमुलेमा भएको यहीँ हो । त्यसैले पत्रकारले राजनीतिक आस्था र पार्टीको छाता बोक्नु हुँदैन । विश्वसनीय पत्रकारिता गर्नुपर्छ । अनि मात्रै हुन्छ पेशागत मर्यादा आचारसंहिताको पालनाका हिसाबले भन्ने हो भने नेपालको पत्रकारिता जगत एकदम कमजोर अवस्थामा छ । पछिल्लो समय पार्टी पत्रकारिता गर्नेको संख्या बढिरहेको छ । जबर्जस्त नजिकको पार्टी र नेताका समाचारहरु बनाएर हामी आफ्नो पेशागत धर्मभन्दा बाहिर गएका छौँ । अनर्गल प्रचारमा हाम्रा कलमहरु अघि सरेका छन् । हामीले स्वनियमन गर्न सकिरहेका छैनौं । हाम्रो पत्रकारिता बिस्तारै पार्टीकारितातर्फ उन्मुख भैरहेको छ ।
मन परेको पार्टी, ब्यक्ति, नेता वा गुटको प्रभावमा हाम्रा समाचारहरु तयार भैरहेका छन् । तिनकै चाकडी र चाप्लुसिमा हाम्रो पत्रकारिता घुमिरहेको छ । हामीले आफूलाई अब्बल र स्वतन्त्र पत्रकारिताको खुड्किलोमा चढाउन सकिरहेका छैनौं । जसका कारण समाजले हामिप्रती गरेको विश्वास र हामीले पूरा गर्ने जिम्मेवारी एवं दायित्वमाथी बेलाबखतमा प्रश्नहरु उठिरहेका छन् ।आम नागरिकको दृष्टिमा हामी कुनै पार्टी ,ब्यक्ति, नेता वा गुटको मात्रै पत्रकारिता गरिरहेका छौं । साचो अर्थमा आम नागरिकहरु पत्रकारले दिने समाचारप्रती सन्तुष्ट छैनन् ।त्यसलाई पक्षपातपुर्ण देख्न ÷ठान्न बाध्य छन । किनकी हामीले त्यस्तै गरिरहेका छौं ।
भनिन्छ जुन कुरा देखाउन मरिहत्ते गरिन्छ, त्यो विज्ञापन हो र जुन कुरा लुकाउन खोजिन्छ, त्यो समाचार हो।पार्टीकारिताले लुकाउन चाहेको कुरा लुकाइदिन्छ, देखाउन चाहेको कुरा देखाइदिन्छ । अर्थात ,पेशागत मर्यादाको ठिक उल्टो हुन्छ । आफ्नो पार्टीको लाभमा पत्रकारिता आवरणको पर्चा–कारिता गरिन्छ । राजनीतिक दल वा नेताका लागि विज्ञापनकर्ता बनिन्छ । राजनीतिक आस्थाको प्रचार र सत्ताधारीको पक्षपोषण जस्तासुकै गणतान्त्रिक नेताको पनि लोभको विषय हो।मिडियाले सरकारको स्तुतिगान घन्काइदिउन, अन्यथा गलत कर्तुतहरुको उजागर नगरुन, नलेखुन भन्ने सबै शासकको चाहाना हुन्छ । जसको ज्वलन्त उदाहरण बनेको छ हाम्रो नौमुले । सूचना वा समाचार छताछुल्ल हुने गरि जनतासामु पु¥याउन शासक तयार हुदैनन् । पहेलो ड्रेस लगाइ व्यङ्ग्यत्मक शैलीमा सरकारका विषयमा आलोचना गर्ने प्रवृत्तिलाई नियन्त्रण गर्न प्रेसमाथि सेन्सरसिप लगाउनुपर्छ भन्ने अवधारणाको विकास भयो । संसारभर राजतन्त्र र अधिनायकवादी सरकारको ठाउँ प्रजातान्त्रिक सरकारले लिदै गयो । प्रेसले सरकारि ढुकुटीको हिनामिना ,आफ्नो स्वार्थ पूरा गर्ने गरि गरेको निर्णय तथा अनैतिक आचरण जस्ता विषयहरु जनतासम्म पु¥याउछ भन्ने भयले शासकहरु प्रेसलाई नियन्त्रण गर्न उद्यत हुने इतिहासको फेरोबाट स्वतन्त्र प्रेसको अवधारणाको विकास भयो तर अहिलेसम्म पनि प्रेस पुर्ण रूपमा स्वतन्त्र बन्न सकिरहेको छैन ।
विचार र अभिव्यक्ति स्वतन्त्रताको विषय निकै फराकिलो र उत्तिकै विवादास्पद पनि छ।मानव जातिले सभ्यताको उषाकालदेखी नै विचार र अभिव्यक्ति स्वतन्त्रताको लागि जीवनमरणको संघर्ष गर्दै आएको छ।तत्कालीन सामन्ती सोच र शासकीय प्रणालीको विरुद्ध विचार राख्दा सुकरातले विषपान गर्नुपरेको थियो । पृथ्वी गोलो छ भन्दा मृत्युदण्ड दिइएको थियो।आज पनि विचार र अभिव्यक्ति स्वतन्त्रताको ठेकेदार ठान्ने ,पुजीवादी विचारको दृष्टिमा लोकतन्त्रको वाहक÷ रक्षक ठानिने अमेरिका कुन तवरले चलिरहेको छ भनिरहनु नपर्ला । त्यसैले विचार र अभिव्यक्ति स्वतन्त्रता समय र सत्ता सापेक्षित रहदै आएको कुरा प्रष्ट छ ।
हरेक देशको शासन व्यवस्था निश्चित विचार र आस्थाको आधारमा, निश्चित वर्ग र समुदायको स्वार्थमा स्थापित–परिचालित भएको हुन्छ । त्यसैले शासकवर्गले सधैं कृष्ण सेन इच्छुक ले भनेझैं हिंड्न त हिंड तर यो बाटो नहिंड भन्ने गरेको छ । तर पनि नागरिकहरु शासकवर्गले निशेध गरेको बाटोतिरै हिडिरहन्छन । शासकले हिडाउन खोजेको र नागरिकले हिड्न चाहेको बाटोको बिचमा भयंकर अन्तर पर्न जान्छ । त्यसपछि राजनीतिक टक्कर सुरु हुन्छ । नौमुले घटनाले यो कुराको पुष्टि गरेको छ । समाज, राष्ट्र र सर्वहारा वर्गीय आम नागरिकका बारेमा स्वतन्त्र कलम चलाउनुपर्ने पत्रकारहरु नै संघ, प्रदेश हुँदै हरेक स्थानीय तहको सरकारमा प्रेस सल्लाहकारको जागिर खाने र दल विशेषको प्रचारक बन्दा ,त्यस ठाउँका नेता तथा प्रतिनिधिबाट हुने गल्तीकमजोरीका सूचना लुक्ने र जनताको हितभन्दा पनि सरकारहरुको मनपरी चल्ने खतरा उत्तिकै छ । आर्थिक जोहोकै लागि राष्ट्रिय स्वार्थलाई विज्ञापनसंग साटिन्छ र स्वविवेकलाई सत्तासीन मुखियाको दैलोमा थन्क्याइन्छ । त्यस्तो अवस्थामा नेपाली संचारको विचार र अभिव्यक्ति स्वतन्त्रताको रक्षा कसरी हुनसक्छ ? प्रश्न गम्भीर रूपमा उब्जिएको छ । समाचारहरु नेता, मन्त्री ,सुरक्षाकर्मी र विज्ञापनदातालाई खुशी पार्ने अथवा बदला लिने भावनाले प्रेरित भएका हुन्छन् । दास युगमा नागरिकहरु मालिकको किलामा बाधिन्थे । पुजीवादी समाजमा श्रमिकहरु पुजीको गोठमा बाधिएका हुन्छन् । दासहरु काम नभए पनि खान पाउथे । आज बेरोजगारहरु भोकै मर्नुपर्छ । तपाईं क्षमता अनुसार काम गर्न र आवश्यकता पूरा गर्न स्वतन्त्र हुनुहुन्न । तपाईं बेचिनै पर्छ तर कुनचाहिँ मालिकसंग बेचिने छनोटको स्वतन्त्रता हुन्छ । श्रम बेच्ने कि शरीर बेच्ने ? त्यो पनि स्वतन्त्रता छ।ठुलाले सानालाई ठग्ने ,हेप्ने र चेप्ने स्वतन्त्रता पनि छ । मालिकहरुले श्रमिकहरुलाई लुटेर,ठगेर खाने स्वतन्त्रता पनि छ । श्रमजीवी सर्वहाराका नाममा लोकप्रिय नाराहरु भजाएर निमुखाको आँखामा छारो हाल्ने र काले–काले मिलेर खाउ भाले भन्ने उखान कै दिशामा, यो सरकार र ब्यवस्था चलिरहेको छ ।
पत्रकारिता बिस्तारै विश्वसनीय होइन अविश्वासतर्फ अघि बढिरहेको छ।हामीले गर्ने पत्रकारिता र हाम्रा समाचारहरु, समाज र आम नागरिकका लागि भद्दा मजाक गर्ने विषय बनिरहेका छन् । हामीले साच्चिकै आफ्नो कर्तव्यलाई भुलेरै पत्रकारितालाई गलत बाटोमा घिसारिरहेका छौं ।अध्ययन बिनाका हाम्रा समाचारका विषयवस्तु र लेखनशैली स्वतन्त्र नभएर पार्टीकारितातर्फ उन्मुख भैरहेका छन् । वास्तवमा पत्रकारिता के हो? यसभित्रको यथार्थ के हो ? हामी पत्रकारले आचारसंहिताभित्र रहेर काम गर्नै नसकेका हौं वा उल्लंघन गरिरहेका छौं ? ,नौमुले मिडिया कान्ड ले यस्ता बिसयमा गम्भीर बन्नुपर्ने बताएको छ । नौमुले मिडिया कान्डले नौमूलेलाई मात्रै होइन सिङ्गो दैलेख जिल्लालाई आतंकित र तरंगित बनाएको छ । त्यसैले वास्तविकता के हो ? दोषि को हो ? सत्यतथ्य रूपमा वास्तविकता पहिचान गरि दोषिउपर कडा कारबाही हुन जरुरी छ ।
लेखक किशोर सुवेदी समसामयिक विषयमा निरन्तर कलम चलाइराख्ने कर्णाली प्रदेशका एक बौद्धिक युवा हुन् ।

साभार……..

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार