गडबड गठबन्धन–एमसीसी र एमाले

एमालेको लोकप्रिय सरकारलाई संसारमा कहीं नभएको परमादेशबाट सत्तामा पुगेको ककटेल गठबन्धन सरकारले पूर्णता नपाउँदै संकटमा पर्न थालेको अनुभूत सर्वत्र हुन थालेको छ । हुन पनि यो गठबन्धनको हालत ‘जेठी माग्छे पानी, कान्छी माग्छे घाम, म अभागी बुढो कतातिर जाम’ भने जस्तै भएको छ ।
देशकै प्रमुख राजनीतिक शक्ति एमालेको चुँलिदो लोकप्रियतालाई चुनौति दिने एकमात्र उदेश्य राखेर खडा भएको यो ककटेल (भारतको लागि कम्फर्टेवल) गठबन्धनमा असाध्यै विजातीय शक्तिहरू विराजमान छन् । टाउकोको मूल्य तोक्ने र तोकिने एकै ठाउँमा छन् । जातीय संघीयताका कट्टर हिमायती र संघीयताका कट्टर विरोधी एकै ठाउँमा कुम जोडेर बसेका छन् । कम्युनिष्टको ‘क’ सुन्न नचाहने र माओवादको भजन गाएर नथाक्नेहरूको सत्ता समागम भएको छ । एमसीसीको समर्थन नगरी निन्द्रा नलाग्ने र एमसीसी सुन्नै नचाहनेको अङ्गालो हालाहाल छ । ‘शुद्ध’ कम्युनिष्ट र विटुलिएका कम्युनिष्टहरूमा काँग्रेसको बफादार हुन तँछाडमछाड चलेको छ ।
एमालेबाट चोइटिएका केहीलाई दक्षिणपन्थसँग पोइल जान हुटहुटी छ । दक्षिणपन्थको बेड पार्टनर बनेर हाइब्रिड बच्चा कोरल्न विहानै बेलुकै बालुवाटारतिर असिन पसिन दौडधूप छ । माथि फुकेको तल सुकेको माधव नेपालको पार्टीको २० प्रतिशतको हनिमून सकिएको छैन । उसको सत्ता हनुमून नसकिंदै पार्टी नै सकिने ‘उत्साही’ परिस्थिति छ । उता जसपालाई २० प्रतिशतको काउछोले लखेटेको लखेट्यै छ । कुनैबेला जसपाबाट मसपा वा नशपा जन्मने गर्भाधान भएको चर्चा चुलिएको छ ।
वास्तविक रूपमा नेपाली काँग्रेसको पुच्छर बनेको ‘महान अग्रगमनकारी’ माओवादी आफ्नो गुरिल्ला कार्यनीति जनताको सार्वभौम अधिकार प्रयोग हुने थलो संसद्मा प्रयोग गरिरहेको छ । व्यक्ति हत्याको मुद्दा खेपिरहेका सभामुख अग्निप्रसाद सापकोटा एमाले विभाजन गराउन नाङ्गै उत्रिएनन्, संसद्को अस्मितामाथि निरन्तर बुर्कुसी मारिरहेका छन् । माओवादीका अर्थमन्त्री जनार्दन विहानदेखि बेलुकासम्म एमालेले ल्याएका लोकप्रिय र जनमुखी कार्यक्रममा कैंची चलाउन अर्थ मन्त्रालयमा व्यस्त छन् । एमाले सरकारले शुरू गरेका सयौं विकास आयोजना कटौति गरेर त्यो रकम आफ्ना कार्यकर्ता पोस्ने ‘महान अग्रगामी छलाङ’ मार्दैछन् ।
नेपाली काँग्रेसले उसको विगतदेखिको बाँदरनीति कायम राखेको छ । एउटा रोटीमाथि दुई बिरालाको झगडामा दुवैलाई झुक्याएर सबै रोटी बाँदर आफैले खाएको पन्चतन्त्रको कथाझैं आफ्नै गठबन्धनका सहयात्रीलाई समेत आपसमा लडाएर फाइदा लिने उसको काइदा हेर्न लायक छ । परमादेशको चिठ्ठा परेको काँग्रेस प्रचण्ड, माधव नेपाल, उपेन्द्रलाई रिङ्ग्याएर र एमालेलाई पेलेर आगामी निर्वाचनमा केही बढी सीट जित्ने ध्याउन्नमा लागेको नेपाली काँग्रेस वर्तमान सरकारमा आफ्नो एकलौटी प्रभुत्व बनाइ राख्न चाहन्छ ।
गडबड गठबन्धनको घाँटीमा यही मौकामा एमसीसीको घाँडो झुण्डिएको छ । प्रमुख प्रतिपक्षी एमालले एमसीसीबारे आफ्नो प्रष्ट धारणा सार्वजनिक गरिसकेको सन्दर्भमा हप्तौंदेखि गठबन्धनलाई एमसीसीबारेको दृष्टिकोण कब्जियत भएको छ । एमसीसीका उच्च अधिकारी नेपाल आएर ‘कि खाऊ कि फर्काऊ’ भनेर दबाव दिएका छन् । वास्तवमा एमसीसी गठबन्धनको किलकिलेमा गएर बसेको छ । अमेरिकाको कोच्याउने काइदा र सत्ता गठबन्धनको लाचार रवैया दुवै निन्दनीय छन । उत्तरी छिमेकी चीनलाई चिड्याएर अमेरिका र भारतको भक्ति गर्ने नेपाली काँग्रेसको परम्परागत विदेश नीतिको छाताभित्र गठबन्धनमा सामेल ‘राष्ट्रवादी’, ‘क्रान्तिकारी’, ‘समाजवादी’ शक्तिको आशक्तिपूर्ण ओत लगाइ भने उदेक लाग्दो छ ।
अग्रगमनका पक्षधर नेपाली जनताको अभिमतबाट सत्तामा पुगेको नेकपा (एमाले) देशीविदेशी षडयन्त्रबाट प्रमुख प्रतिपक्षी भूमिकामा पुगेको छ । एमालेमा माओवादी मिसिएदेखि नै पार्टी संगठनमा देखिएको गतिहीनता र अन्यौल चिर्दै राष्ट्रव्यापी तन्दुरुस्तीको अभियानमा जुटेको छ । पार्टीको दशौं महाधिवेशनको मिति घोषणा गरिसकेको एमालेले विधान महाधिवेशनको तयारीमा जुटेको छ । यसको साथसाथै एमाले विभाजनको लागि सत्ता गठबन्धनका असंवैधानिक र गैरकानुनी हर्कतको विरुद्ध संसद्मा सशक्त प्रतिरोध गरिरहेको छ ।
अप्राकृतिक गठबन्धनले देशको सार्वभौमिकता, लोकतन्त्र र जनविरोधी क्रियाकलापको विरूद्ध एमाले सशक्त संसदीय र गैरसंसदीय संघर्षको तयारी गरिरहेको छ । जनतालाई संगठित र परिचालन गरेर हाल सत्तासीन जनविरोधी शक्तिलाई ठेगान लगाउन एमाले ले लोभलाग्दो तयारी शुरू गरेको छ । एमाले चाँडै आफ्नो लयमा फर्कनेवित्तिकै स्वभाविक रूपमा देश पनि सकारात्मक लयमा फर्किहाल्छ ।
जनताटाइम्सबाट साभार….

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार