कोरोनाको नयाँ ‘ओमिक्रोन भेरियन्ट’ कस्तो, नेपाल कति जोखिममा ?

दक्षिण अफ्रिकामा कोरोना भाइरसको अस्वाभाविक तीव्रता बढ्दै गएपछि ९ नोभेम्बरमा संकलन गरिएको नमूनाको जेनेटिक विश्लेषण गर्दा बी.१.१.५२९ भाइरस भएको पत्ता लाग्यो । सो भाइरसमा अत्यधिक जेनेटिक कोडमा परिवर्तन देखिएपछि २४ नोभेम्बरमा विश्व स्वास्थ्य संगठनलाई सो नयाँ भाइरसको बारेमा जानकारी दिइयो ।
२६ नोभेम्बरमा विश्व स्वास्थ संगठनले प्रेस विज्ञप्तिमार्फत् सो भाइरसलाई ’ओमिक्रोन भेरियन्ट’ नामकरण ग¥यो र यसलाई’ भेरियन्ट अफ कन्सर्न’ अन्तर्गत राखिएको छ । प्रारम्भिक नतिजाले अरू’ भेरियन्ट अफ कन्सर्न’ का भाइरस भन्दा’ ओमिक्रोन भेरियन्ट’ ले बढी रि–इन्फेक्सन (पुनः संक्रमण) गराउन सक्ने क्षमता देखाएको भनिएको छ ।
धेरै प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा कोरोना भाइरसको स्पाइक जीन देखाउन वा पत्ता लगाउन नसकेको भनिएको छ । यसबाट यो भाइरसको स्पाइक जीनमा ठूलो परिवर्तन भएको संकेत गर्दछ । अहिले स्पाइक जीनमा देखिएको ठूलो परिवर्तनले गर्दा नै वैज्ञानिकहरूमा चिन्ता बढेको छ । हाल उपलब्ध अधिकांश खोप कोरोनाको स्पाइक जीनलाई नै लक्षित गरेर विकास गरिएका छन् । तर खोप लगाएपछि बनेका एन्टिबडीले स्पाइक जीनमा अत्यधिक स्वरूप परिवर्तन भए त्यसको पहिचान गरी निष्क्रिय पार्न सक्ने सम्भावना कम हुनेछ । अर्थात्, खोपको हाल स्थापित प्रभावकारिताको स्तर खस्कन सक्ने सम्भावना रहन्छ । यसैलाई आधार मानेर एकथरीले खोप नै पूर्ण प्रभावहीन हुने आकलन गरिरहेका छन् ।
यस्तै, सम्भावना÷अनुमान ‘डेल्टा भेरियन्ट’ मा पनि गरिएको थियो । ‘डेल्टा भेरियन्ट’ विरूद्ध खोपको प्रभावकारिता क्लिनिकल ट्रायलमा देखिएकोभन्दा केही खस्किएको भएता पनि समग्रमा धेरैलाई जटिल वा मृत्यु हुनबाट जोगाएको थियो । यसको राम्रो उदाहरणमा नेपाललाई लिन सकिन्छ । किनभने दोस्रो लहरको कारक मानिएको डेल्टा भेरियन्टले खोप लगाएकाहरूमा जटिल अवस्था ल्याएर अस्पतालको सघन उपचार कक्षसम्म ल्याएको लगभग देखिएन । अर्थात् अधिकांश बिरामीहरू खोप नलगाएकाहरू नै थिए ।
दक्षिण अफ्रिकामा दुई मात्रा पूर्ण खोप लगाएकाहरू कम भएकाले पनि भाइरस तीव्र गतिमा फैलिएको वा संक्रमितमा जटिल अवस्था देखिँदै गरिरहेको हुन सक्छ । तर दुई मात्रा पूर्ण खोप लगाइसकेका देशहरूमा पनि ‘ओमिक्रोन भेरियन्ट’ ले जटिल अवस्था ल्याउन थाले भने चाहिँ अहिले विकास भएका खोपहरू प्रभावविहीन रहेछ भन्ने आधार हुनेछ । तसर्थ कुनै परीक्षण वा अनुसन्धानबिना खोपले पूर्ण रूपमा कामै गर्दैन भन्नु तर्क संगत देखिँदैन । त्यस्तै ‘ओमिक्रोन भेरियन्ट’ डेल्टाभन्दा पनि कडा छ वा हुनसक्छ भन्ने पर्याप्त आधार पनि देखिँदैन । धेरै जेनेटिक कोड परिवर्तन हुनेबित्तिकै भाइरसको अघिल्लो भेरियन्टभन्दा फरक हर्कत हुनसक्छ तर त्यो कडा वा नरम जे पनि हुनसक्छ र ‘ओमिक्रोन भेरियन्ट’ को घातकताबारे आजको मितिसम्म अध्ययनकै विषय बनेको छ । यसबारे तथ्यहरू बाहिर आइसकेका छैनन् । दक्षिण अफ्रिकामा देखिएको ’ओमिक्रोन भेरियन्ट’ ले विश्वमा जस्तै नेपालमा पनि पछिल्लो केही दिनयता त्रास बढाएको छ ।
नेपाल कति जोखिममा छ भन्ने चासो सबैमा बढ्दै गएको देखिन्छ ।
नेपालमा मुख्यतय दुई नाकाबाट ‘ओमिक्रोन भेरियन्ट’ प्रवेश गर्ने सम्भावना देखिन्छ । एक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भने अर्को नेपाल–भारत खुला सीमाना
विगतमा पनि यी दुई नाकाबाट कोरोना भाइरस नेपाल भित्रिएको अनुभव छ । भारतमा ‘ओमिक्रोन भेरियन्ट’ फैलिन सुरू भए नेपालमा आउनबाट पूर्णरूपमा रोक्न लगभग असम्भव छ भन्ने विगतको अनुभवले पनि देखाएको छ । तसर्थ, नेपालमा संकलन गरेका नमूनाको पिसिआरमा ‘एस जीन’ नेगेटिभ देखिए जीन सिक्वेन्सिङ गरी ‘ओमिक्रोन भेरियन्ट’ हो वा होइन भनेर पुष्टि गर्नुपर्छ । त्यस्तै, नेपालमा राजनीतिक जमघट बढ्दै जाँदा कोरोनाको जोखिम पनि बढ्दै गइरहेको छ । डेल्टा भेरियन्टले उचाइ लिनुभन्दा अगाडि पनि यस्तै ठूल्ठूला राजनीतिक जमघट÷सभा सम्मेलन भएका थिए ।
आजको मितिसम्म’ओमिक्रोन भेरियन्ट’ बारेमा तथ्य कम, अनुमान बढी हुँदै आइरहेका छन् ।
प्रारम्भिक नतिजाले यो भाइरस छिटो फैलिने तथा अरू भेरियन्ट भन्दा बढी पुनः संक्रमण गर्न सक्ने क्षमता बढिरहेको भनिएको छ । तर कति घातक र खोपको प्रभावकारितालाई कति र कसरी चुनौती दिनसक्छ भन्ने बारेमा पूर्ण जानकारी आउन भने बाँकी नै छ । तसर्थ, अनुसन्धान, अनुभवबिना ‘ओमिक्रोन भेरियन्ट’ डेल्टाभन्दा कडा र हाल उपलब्ध खोपहरूलाई पूर्ण प्रभावहीन बनाउँछ भन्नु हतारो हुन्छ । तर पनि ‘ओमिक्रोन भेरियन्ट’ मा विशेष गरेर स्पाइक जीनमा अत्यधिक म्युटेसन देखिएको हुँदा सबैको मनमा अन्योल, त्रास र आ–आफ्नै अनुमान छन् ।
साभार सेतोपाटीबाट

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार