विकास कस्तो हुँदोरहेछ भन्ने काठमाडौंको सहरमा प्रवेश गरेपछि गाउँले मैले थाहा पाउनु नौलो रहेन । विकसित भनिएका मुलुकहरूमा कस्ता विकास हुँदा रहेछन् ? देशविदेश घुमेर आउनेहरूबाट कथा सुन्न र किताबमा पढेर केही जानकारी लिनेबाहेक अर्को माध्यम थिएन। यद्यपि मेरो जीवनको कौतुहल नेपाल प्रहरीको सेवामा प्रवेश गरेपश्चात् विभिन्न तालिम एवं संयुक्त राष्ट्रसंघीय मिसनमा खटिँदा थाहा पाएँ। विकसित भनिएका युरोप र अफ्रिकी मुलुकहरू घुमेपछि विकासका अनेक स्वरूप देख्न पाएँ।
संयुक्त राष्ट्रसंघको आह्वानमा विश्वका विभिन्न राष्ट्रमा शान्ति स्थापना कार्यका लागि नेपालबाट नेपाली सेनाको सहभागिता रहँदै आएको छ । नेपाल प्रहरीबाट पनि सहभागिता सुरु नभएको भए सायद मेरा सपना अधुरै हुने थिए होलान्। सेवामा रहँदा विभिन्न व्यावसायिक तालिमलगायत तोकिएका जिम्मेवारी सम्पादनका सिलसिलामा आम नेपाली दाजुभाइ, दिदीबहिनीले वैदेशिक रोजगारका लागि विभिन्न देशलाई गन्तव्य बनाए। जसमध्ये मलेसिया, कतार, दुबईलगायत हाम्रा राजनेताहरूले यो बनाउँछु र त्यो बनाउँछु भनी भाषणहरूमा बोल्ने गरेका सिंगापुर र स्विट्जरल्यान्डसमेत घुम्ने र हेर्ने सौभाग्य मिल्यो। ती देशहरूमा भएगरेका विकासलाई हेर्न, देख्न र अनुभूति गर्ने अवसर मिल्यो ।
विकास र सुशासन अन्तरसम्बन्धित भएकाले सुशासनबिना अपेक्षित विकासको कल्पना गर्न सकिँदैन। त्यसैले सुशासनलाई विकासको आधारभूत तत्तवका रूपमा लिन सकिन्छ । समुद्रका बीचमा होटल ठडिएका छन्। मरुभूभि बालुवाको थुप्रोमा हरियाली छाएको छ। जताततै चौडा सडकहरू, गगनचुम्बी महलहरू, व्यवस्थित कृषि क्षेत्र, सरसफाइ उस्तै। झलमल बिजुली बलिरहेका छन्, लोडसेडिङ टर्च बालेर खोज्नुपर्छ ती देशमा। बाटोघाटो र बिजुलीले होला, के गाउँ, के सहर छुट्ट्याउन सहज छैन। छुट्टिएको छ त व्यापारिक क्षेत्र, आवासीय क्षेत्र, औद्योगिक क्षेत्र र कृषि क्षेत्रजस्ता विषयगत क्षेत्रका रूपमा छुट्ट्याइएका छन्। एक व्यक्तिलाई अर्को व्यक्तिसँग गफ गरेर बसिरहने फुर्सद छैन, सबै व्यस्त छन्। परिवारका सदस्यहरूको समेत साप्ताहिक बिदामा मात्र भेट हुन्छ । जीवनलाई घडीको सुईसँगै कुदाइरहेको पाएँ । तथापि ती विकसित भनिएका मुलुकहरूमा पनि आफूलाई सहज महसुस गर्न सकिनँ। मेरो आवश्यकता रोजाइ र रुचिका धेरै वस्तु तथा सेवाहरूमा अभाव महसुस गरें। कताकता सोच्न थालें, के यही हो त विकास ? यस्तो विकसित मुलुकमा पनि किन रोजे जस्तो र खोजे जस्तो सेवा पाइरहेको छैन ?
आफ्नै स्वादका प्राकृतिक सौन्दर्य, सांस्कृतिक वातावरणसहितका भौतिक संरचनाहरू र आध्यात्मिक तथा मानसिक सन्तुष्टि खोज्न थालें। जताततै झिलिमिली छ, सवारी साधनहरू चिल्ला सडकमा कुदिरहेका छन्। गगनचुम्बी महलहरूमा ठूलाठूला विकासका कार्ययोजनाहरू बनिरहेका छन् । आफूले काम गर्न नभ्याएर हो या तल्लो स्तरका काममा आफूलाई राख्न नचाहेर हो, अन्य मुलुकबाट कामदार ल्याएर काम गराएकै छन्। बेफुर्सदी रूपमा सबै व्यस्त देखिन्छन्। आर्थिक सबलतामा गाँसिएको विलासी कंक्रिट सहरहरूमा सबै रमाएका छन्। तर म किन रमाउन सकिनँ ! सायद म हुर्किएको माटो अनि मेरो रोजाइ र रुचि फरक भएर पो हो कि ! माटोको मिठास मिसिएको प्राकृतिक सौन्दर्यलाई विकासका नाममा अतिक्रमण भएको समेत पाएँ। हुन सक्छ, त्यहाँको भौगलिक बनावट र परिवेशको माग थियो होला । त्यसैले त त्यहाँका नागरिक सुखी र सन्तुष्ट नै देखिएका छन्। म त बाहिरबाट रमाइलो हेर्न गएको पर्यटक। आफूले जे देखेर हुर्किएँ, जे चाखेर जीवनका वसन्त पार गर्दै आएँ, त्यही खोज्नु मेरा लागि अनौठो थिएन । सबै मानिसहरूको समृद्धि र सन्तुष्टि एउटै विषयसँग जोडिएको हुँदैन। विकसित भनिएका मुलुकहरूका जनतामा पनि गरिबी नदेखिएको होइन, तर गरिबीभित्र समृद्धि र सन्तुष्टि खोजिरहेको देखिन्थ्यो। फरकफरक सामाजिक रहनसहन, फरकफरक वातावरण, फरकफरक भौगोलिक परिवेशमा जिउँदै आएका मानिसका रुचि र रोजाइ फरकफरक हुनु अस्वाभाविक पनि होइन। म रमाउन नसक्नु नितान्त व्यक्तिगत कुरा होला। तर, जुन गतिमा विकासका पूर्वाधारहरूले उडान भरिरहेका थिए वास्तवमा मनन्योग्य थिए। जनताका चाहना र आवश्यकता अनुरूप कोरिएका योजनाहरू सार्थक देखिन्थे। विकासभित्र गरिबी पनि थियो तर शिक्षाले ढाकेर चेतनाले माझिएर होला, जनतामा पोखिएको सन्तुष्टि स्पष्ट देखिन्थ्यो।
आर्थिक विकासको नजरले हेर्दा उच्च, मध्यम र निम्न वर्गका व्यक्तिहरू त्यहाँ पनि नभएका होइनन्। शिक्षा, स्वास्थ्य र रोजगारमा सरकारले दिएका योजनाहरूमा नागरिकको सहभागिता र सकारात्मक सोचले मुलुकको कुल गार्हस्थ्य उत्पादन र प्रतिव्यक्ति आयलाई बढाएको थियो। राज्यले ल्याएका विकासका योजनाहरूमा मितव्ययिता, पारदर्शिता, जवाफदेहिता, विधिको शासन, प्रभावकारिता, उत्तरदायित्वसँगै नागरिकको जन सहभागिताले गर्दा विकासले समृद्धिलाई साकार रूप दिएको थियो। विकास भनेको के हो ? विकासको सर्वमान्य परिभाषा त छैन। परिवर्तनशील समाज र मानिसका आवश्यकता र परिस्थितिअनुसार विकासको मान्यतामा पनि फेरबदल आइरहन्छ। समाजमा आइरहने फेरबदलमा मानिसले चाहना, इच्छा र रुचिअनुसारका सेवा र वस्तुहरूलाई छनोट गर्न पाउने अवसरले सामाजिक जीवनमा देखिने सकारात्मक परिवर्तन नै विकास हो भनेर बुझ्न सकिन्छ। यो सापेक्षित अवस्था हो र निरन्तर चलिरहने प्रक्रिया पनि हो ।
सामान्यतया विकासलाई मानिसले भौतिक संरचना निर्माणसँग मात्र दाँज्ने गरेको पाइन्छ। सबै प्रकारका विभेदको अन्त्य गरी मानिसको सहज जीवनयापन, न्यूनतम गुणस्तरीय जीवनको सुनिश्चितता सहितको भौतिक तथा आध्यात्मिक एवं मानसिक सम्पन्नता दिलाउने प्रक्रियाको रूपमा विकासलाई लिन सकिन्छ । सरकारले बाटो, पुल, बिजुली, विद्यालय, विश्वविद्यालयलगायतका संरचना बनाउँदैमा मात्र पनि पुग्दैन। सकारात्मक परिवर्तनको औचित्य पुष्टि पनि हुन सक्नुपर्छ। वस्तु र सेवाहरूको रोजाइ व्यक्तिको आर्थिक तथा सामाजिक हैसियतमा भर पर्छ। विकासलाई एउटै क्षेत्रमा मात्र केन्द्रित गरेर हेर्दा गलत हुन्छ। समावेशी क्षेत्रमा बहुआयामिक तवरले विस्तार गर्न सक्नुपर्छ। सामाजिक आवश्यकतालाई पहिचान गरी शिक्षालगायतका सीप विकाससँग सम्बन्धित कार्यक्रमबाट समाजलाई रूपान्तरण गर्न सकिन्छ। विकास भनेको प्राकृतिक स्रोतलाई सांस्कृतिक स्रोतमा बदल्ने प्रक्रिया पनि हो। मानिसले विकासलाई साधारणतया आर्थिक वृद्धिको पक्षसँग हेर्ने, दाँज्ने र समाहित गर्ने गरेको पाइन्छ। यो एउटा परम्परागत रूपमा चल्दै आएको सोच तथा अवधारणा पनि हो।
कुनै एउटा कोणबाट मात्र विकासलाई हेरिनु हुँदैन। अर्थशास्त्रीय अवधारणाले विकास भन्नाले कुल गार्हस्थ्य उत्पादन र प्रतिव्यक्ति आयमा वृद्धिलाई विकास भन्ने गरेको पाइन्छ। समाजशास्त्रीय अवधारणाले आर्थिक वृद्धिसँगै सामाजिक विकास हुनुपर्ने अपरिहार्य आवश्यकतालाई जोड दिएको पाइन्छ। अर्थशास्त्रका पिता एडम स्मिथको खुला अर्थतन्त्रीय अवधारणाले पनि आर्थिक समुन्नतिलाई नै विकासको मूल आधार बनाएको पाइन्छ। समयको मागअनुसार विकासका रूपरेखाहरू परिवर्तन हुँदै जान्छन्। एउटा परिस्थितिबाट अर्को विशेषतामा रूपान्तरण हुने प्रक्रिया हो विकास। यसमा आर्थिक, सामाजिक, सांस्कृतिक, भाषिक, बौद्धिक, मनोवैज्ञानिक, भौतिक पूर्वाधारजस्ता विविध पक्ष अन्तरनिहित भएको हुन्छ। अक्टोबर क्रान्तिपछिको सोभियत संघबाट सन् १९२८ मा थालनी भएको ‘सोभियत मोडेल’ होस् या दोस्रो विश्वयुद्धपछि तहसनहस भएको युरोपेली मुलुकहरूले ‘मार्सल प्लान’ को उपमा दिएर सन् १९४८ देखि सुरु गरेको विकास, सबै विकासकै क्रान्तिहरू हुन् ।
वास्तवमा यी सबै विकासका लागि नै थिए। कुनै पनि मुलुकको विकासका क्रान्तिहरूमा त्यस मुलुकको राजनीतिक र प्रशासनिक शासकीय व्यवस्थाले महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ। सुशासनबिना विकास अधुरो हुन्छ भन्दा अत्युक्ति नहोला। असल शासनका आधारभूत मान्यताहरूलाई आत्मसात गरी, जनताले पाउने सेवा सुविधा छिटो, छरितो र कम खर्चिलो ढंगबाट प्रत्येक नागरिकले पाउने अवस्थाको सिर्जना हुन्छ । नागरिक अधिकारलाई व्यवहारमा रूपान्तरण गर्ने शासकीय विधिलाई सुशासन भनेर बुझ्न सकिन्छ । विकास र सुशासन एकापसमा अन्तरसम्बन्धित भएकाले सुशासनबिना अपेक्षित विकासको कल्पना गर्न सकिँदैन। त्यसैले सुशासनलाई विकासको आधारभूत तत्त्वका रूपमा लिन सकिन्छ ।
नेपालमा पनि मुलुकको समष्टिगत विकासको प्रक्रियामा समाजका सबै क्षेत्र, वर्ग एवं समुदायको सक्रिय सहभागिता र पहुँच पु¥याई समतामूलक समाज निर्माण गर्न नेपाल सरकार योजनामा लाग्यो। आर्थिक र सामाजिक विकासका क्रियाकलापलाई योजनाबद्ध रूपबाट अगाडि बढाउने कार्य हेतुले २०१३ सालमा राष्ट्रिय योजना आयोगको गठन गरी कार्य सुरु भयो। पञ्चवर्षीय योजना सुरुआत भएको पनि ६५ वसन्त पार भइसकेको छ। चरणबद्ध रूपमा योजनाहरू नबनेका पनि होइनन्। प्रभावकारी बनाउन शक्ति पृथकीकरण एवं विकेन्द्रीकरण समेतका अवधारणाहरू अवलम्बन नगरिएको पनि होइन। लोकतान्त्रिक पद्धतिसँगै फेरिएका पात्रहरूबाट फरकफरक ढंगबाट धेरै अभ्यास भएका पनि छन्। योजनाहरू बनेकै छन्। नक्साहरू कोरिएकै छन्। शिलान्यासहरू भएकै छन्। योजनाहरूका नाममा राज्यको ढुकुटी रित्तिएकै छ। यद्यपि अपेक्षाकृत रूपमा विकास प्रक्रिया सञ्चालन हुन सकेको छैन। सकारात्मक सोचको अभावमा सुशासन स्थापित हुन सक्दैन। सुशासनको अभावमा विकासको कल्पना गरिनु सपनाहरू मात्र हुन् भन्दा अत्युक्ति नहोला । डा. महाथिर बिन मोहम्मदको नेतृत्वमा मलेसियाले पश्चिमी संसार र विश्व बैंकले अघि सारेको ‘संरचनागत समायोजन कार्यक्रम’मा सहभागी भएन। बरु आफ्नै किसिमको स्वतन्त्र मोडल तय गरेर राष्ट्रिय विकासको रणनीति अगाडि बढाएको थियो। सिंगापुर र मलेसियाले एसियाली मूल्यमान्यतासहितको पुँजीवादी विकासका पक्षमा वकालत गरे। आफ्नो आवश्यकता र परिवेशलाई अध्ययन गरेर योजना कार्यान्वयनमा पाइला पनि चाले। जसले मलेसिया र सिंगापुरलाई एउटा लक्ष्यमा पुग्न सहज बनाइदियो। अन्धाधुन्ध रूपमा अनुसरण गर्दै अनुमानका भरमा हामफालेका एसिया र अफ्रिकाका धेरै मुलुकको अवस्था छर्लंग छ। कुनै पनि मुलुकको विकास रणनीति आफ्नो परिवेश वा भूराजनीतिका साथै आफ्नो ऐतिहासिक, भौगोलिक, प्राकृतिक तथा मानवस्रोतको अवस्था पहिल्याएर मौलिक ढंगले तयार पारिनुपर्छ। अमेरिकामा राम्रो फलेको असल धानको बीउ अर्को मुलुकको माटोलाई सुहाउँदो नहुन पनि सक्छ ।
साभार अन्नपुर्ण बाट









