भोलीबाट सवैका घरका भित्ताहरुमा क्यालेण्डर फेरिंदै छ । यस अनुसार यही सोमवारबाट वैशाख १ गते २०७१ साल प्रारम्भ हुँदैछ । नयाँ वर्षको शुभ आगमनको सन्दर्भमा सर्वप्रथम हामी हाम्रा पाठक, विज्ञापनदाता, सहयोगी शुभ चिन्तक र बिगत ७ बर्ष देखी यो पत्रिका नियमित प्रकाशनमा सघाउने सबै मित्रहरु लगायत सम्पूर्ण नेपाली जनतामा नव वर्षको हार्दिक मंगलमय शुभ–कामना ब्यक्त गर्न चाहन्छौं ।
गएको वर्ष संविधानसभाको निर्वाचन सम्पन्न भई न्यायालय प्रमुख नेतृत्वको सरकारले आफ्नो जिम्मेवारी पूरा गरी नयाँ सरकार गठन भएको छ । यो सरकार गठन भए यता जनताले राहत, सस्तोमा दैनिक उपभोग्य वस्तु र स्थिरताका लागि आवाज उठाए पनि सरकार गम्भीर बन्न सकेको छैन । जबसम्म सरकारले जनताप्रतिको उत्तरदायित्व बुझेर राहतका कार्यक्रम दिंदैनन् तबसम्म निराशा र उदासिनता कायमै रहने छ । संविधानसभाले कहिले पूर्णता पाउने आवाज उठिरहेकै बेला जनताले मतदान गरे अनुसार दल र सभासदहरु आफ्नो जिम्मेवारी बुझेर संविधान बनाउन अग्रसर हुनुपर्ने जोडदार माग भइरहेको छ । तर, सत्ताधारी र बिपक्षीहरु संविधान बनाउनेभन्दा भागबण्डाको खेलमा लागेर पन्छिन खोज्दा समस्या बढेको छ ।
देशमा हत्या, हिंसा उत्पीडन, दमन अन्याय, अत्याचार यति बढेको छ कि त्यसको लेखाजोखा गरेर साध्य नै छैन । २०७० सालमा ३५ लाख युवाहरु पलायन भएर अर्काको मुलुकमा कठिन परिश्रम गरेर बिदेशी मुद्रा नेपाल पठाएर आधा जति नेपालीलाई पालेर राखेका छन् । कष्टपूर्ण जीवनयापन मात्र हैन ५५ डिग्री सेल्सियसको गर्मीमा पसिना चुहाएर पनि नेपालमा रेमिट्यान्स भित्र्याउने मेहनती नेपाली बिदेशमा अनाहक ज्यान गुमाउन बाध्य छन् । दिनहुँ दुई चार जना बिदेशमा मर्ने र उनीहरुको लाश नेपालमा ल्याउँदा सरकार मौन धारण गरेर बस्ने मन्त्रीहरु आफ्नो पार्टीका कार्यकर्ता, नातेदार र अरू फाइदा लिनेलाई नै बढी लाभ दिन पछि पर्दैैनन् जुन नेपालीका निम्ति ठूलो दुर्भाग्य हो ।
जनता अमनचैन, शान्ति, स्थिरता र नयाँ संविधान चाहेका छन् । संविधान जारी भएपछि खाली रहेको स्थानीय निकायको निर्वाचन खोजेका छन् । महंगी र अनावश्यक कर भ्याटको खारेजी चाहेका जनतालाई २०७१ सालमा ठूलो आशा लगाएर बस्नु पर्ने स्थिति छ । यसै वर्ष संविधान जारी हुने सम्भावना हुँदा त्यसलाई पूरा गर्न संविधानसभा सफल होस् र नयाँ संविधान जारीपछि मुलुकको सबै विकृति अन्त्य भई सबै नेपालीको उत्तरोत्तर प्रगतिको कामना सहित यो वर्ष पनि धमाका दैनिक जनजिविकाको सवालमा सदा जनताको पक्षमा कलम चलाउने प्रतिवद्धता ब्यक्त गदै । नव वर्ष २०७१ शुभ होस्, हाम्रो यही छ कामना ।








