नेपाल सनातनकाल देखी हिन्दू राष्ट्र रही आए पनि केही बिदेशीहरुको लहैलहैमा धर्मनिरपेक्ष राष्ट्र घोषणा गरिएपछि अधिकांश नेपालीहरुको भावना माथि ठेसलागेको छ । आफ्नो क्षुद्र राजनीतिक स्वार्थ पूरा गर्ने उद्देश्यले लागिपरेका नेताहरु नेपालमा आफ्नो शान, मान र बिदेशी मालिकको दान लिन उनीहरुले भने जस्तो गरेपछि नेपालीहरुको चित्त दुःखेको छ ।
तेश्रो जनआन्दोलनको म्याण्डेट “धर्म निरपेक्षता” थिएन । तर पनि हिन्दूहरुलाई होच्याउने र बौद्धमार्गीहरुलाई बिचलित पार्न खेलेको भूमिकाबाट जनता आन्दोलित हुनु स्वाभाविकनै छ । नेपाल र नेपाली रहुञ्जेल हिन्दू र बौद्ध दुबैलाई सम्मान हुने गरी क्रियाकलाप गर्ने प्रचलन बिरुद्ध धर्मनिरेपक्षताको शंख फुक्ने चैते नेताहरु बिरुद्ध राप्रपा नेपालले चुनौती दिएपछि कांग्रेस–एमाले भित्र पनि नेताहरु हिन्दू धर्मको पक्षमा जोडदार वकालत गर्न लागेको पाइन्छ ।
कमल थापा, खुम बहादुर खड्का, चित्रलेखा यादव, पूर्व सभामुख तारानाथ रानाभाट र झपट सिंह रावल लगायत थुप्रै नेता र हजारौं हजार कार्यकर्ताहरु अब हिन्दू राष्ट्र विरुद्ध गरिने षड्यन्त्रको पर्दाफास गर्न लागि परेका छन् । यी हिन्दूवादीहरुले नेपालमा धर्मको मामिलामा परिवर्तन गर्न खोजे “जनमतसंग्रह” गरेर विवाद टुंग्याउन आग्रह गरेका छन् । यसरी जनमतसंग्रह गर्दा जनताका कुरा प्रष्टसँग आउने र नेताहरुको मनोमानी पनि नचल्ने हुँदा यो बाटोनै सर्वोत्तम ठहर गरिएको छ ।
सरकार र दलहरुले गरेका गल्ती सच्याउन एक पटक सबै दलहरुले गम्भीर छलफल गरी त्रुटीमा सुधार गर्ने अवसर आएको छ । पछि यो अवसर पनि गुमेमा दल र नेताहरुले पश्चाताप गर्नु बाहेक अरु केही बाँकी रहने छैन ।








