कडा नियम र प्रभावकारी अनुगमन आवश्य
नेपालमा सडक दुर्घटनाका कारण वर्षमा हजारौं मानिसको अनाहकमै ज्यान जाने गरेको छ । दुर्घटना टार्न सकिन्न तर कम गर्न भने सकिन्छ । यान्त्रिक, प्राकृतिक कारणबाट हुने दुर्घटना टार्न नसकिने भए पनि मानवीय कारणले हुने दुर्घटनालाई कम गर्न सकिन्छ । यसका लागि आवश्यक संयन्त्रको परिचालन र त्यसको इमान्दार कार्यान्वयन आवश्यक पर्दछ ।
नेपालमा सडक दुर्घटनामा अधिकांश चालकको लापरवाही देखिएको छ । ट्राफिक प्रहरीको तथ्यांकले पनि त्यस्तै देखाउँछ । यसो भए सडकमा बसेका ट्राफिक प्रहरी के हेरेर बसिरहेका छन् त रु आजभोलि प्रहरीको मुख्य काम भनेको साँझपख चालकले मादक पदार्थ सेवन गरेको छ कि छैन भनेर जाँच गर्ने हो । यो काम ठूला शहरहरुमा बढी मात्रामा हुन्छ । राजमार्गहरुमा यस्तो काम कमै हुने गरेको छ।
सडक सुरक्षाको विषय अहिले संसददेखि घरघरको बहसको विषय बनेको छ । नेपालको सडकको अवस्था, चालकको लापरवाही, सवारी धनीको जसरी पनि पैसा धेरै कमाउने लोभ, यात्रुहरुमा चेतनाको अभाव, सुरक्षाका लागि बसेका प्रहरीमा रहेको केही पैसाको लोभ दुर्घटनाका कारण हुन् । त्यसो त सवारी नियम जान्दै नजान्नेहरु पनि दुर्घटनाको शिकार भैरहेका हुन्छन् ।
अहिले ट्राफिक प्रहरीले सवारी नियम पालना गराउन अनेक अभियान चलाइरहेको छ । शहरी क्षेत्रमा चल्ने यस्ता अभियानले सोही क्षेत्रमा हुने दुर्घटनालाई कम गराएकोमा कुनै शंका छैन । तर राजमार्गहरु निकै असुरक्षित देखिएका छन् । विहिवार मात्र जाजरकोट बाट सुर्खेत तर्फ आउदै गरेको बस दुर्घटनामा घेरै जनाको ज्यान गएको छ यो गम्भीर सवाल हो । यसो हुनुको कारण सबैलाई थाहा छ । नेपालको सवारी ऐन निकै पुरानो भएका कारण पनि दुर्घटना भैहालेमा चालक सार्वजनिक अपराधमा पर्ने र सवारी धनीले क्षतिपूर्ति दिनुनपर्ने अवस्था छ । तेस्रो पक्षीय बिमाका कारण केही सकारात्मक प्रभावसंगै नकारात्मक प्रभाव पनि बढेको छ । सवारीले कुनै जरिवाना तिर्नुनपर्ने । मृत्यु भएकालाई बिमाबाट क्षतिपूर्ति दिइने हुँदा दुर्घटनालाई सामान्य रुपमा लिने गरिएको छ ।
सवारी नियम कडा बनाएर दुर्घटना गराउन चालक र सवारी धनीको हात देखियो भने त्यतिबेला हदैसम्मको कारवाही गर्ने र बिमा दावी गर्न नपाउने नियम अहिलेको अनिवार्य शर्त हो । दुर्घटना न्यूनि करण गर्न राजमार्ग गस्ती प्रभावकारी बनाउनु पर्दछ ।








